नेपाललाई हराउँदै अमेरिका आइसिसी लिग-२ को शीर्ष स्थानमा
ल्यानक्यास्टर, पेन्सिल्भेनयया/ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।
आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाललाई अमेरिकाले १०६ रनले पराजित गरेको छ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमै अलआउट भयो।
लगातार विकेट गुमाएको नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ३७ रन जोडे। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्न सके। अर्का ओपनर कुशल भुर्तेल भने डकआउट भए। उनी नेपालको इनिङग्सको दोस्रो बलमै क्याच भएका थिए।
अन्तिमसम्म टिकेका दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे। दशौं विकेटको रुपमा आउट भएका दीपेन्द्रले ६० बल खेल्दा ३ चौका प्रहार गर्न सके।
भीम सार्कीले २९ रनको योगदान दिए। भीमले ५० बलमा २ चौका र १ छक्का प्रहार गरे। भीम १५औं ओभरमा आउट भएपछिको अर्को ओभरमा आसिफ पेभिलियन फर्केका थिए। भीम र आसिफबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भयो।
त्यसपछि रोहित पौडेल २ रन, आरिफ शेख २० र गुल्सन झा ३ रनमा आउट हुन पुगे। सोमपाल कामी ३६औं ओभरमा ११ रनमा आउट भएको दुई ओभरपछि करण केसी र सन्दीप लामिछाने लगातार आउट हुँदा कुनै रन जोड्न सकेनन्।
नेपालको ब्याटरलाई सस्तैमा पेभेलियन फर्काउने क्रममा बलिङमा अमेरिकाका हर्मित सिंहले ६ विकेट लिए। उनले ८.१ ओभरमा २७ रन मात्र दिए।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो।
अमेरिकाका लागि ओपनिङ ब्याटर स्मित पटेलले ७५ रन बनाए। ३३औं ओभरमा गुल्सन झाको थ्रोमा सोमपाल कामीबाट रनआउट हुनुअघि उनले १०० बल खेलेर ९ चौका प्रहार गरे।
अर्का ओपनर आन्द्रेस गौसलाई आठौं ओभरमा करण केसीले भीम सार्कीबाट ११ रनमा क्याच गराए।
कप्तान मोनाक पटेललाई आरिफ शेखले १० रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा परेका थिए। सन्दीप लामिछानेले मुकामालालाई ४२ रनमा बोल्ड गरेका थिए।
यस्तै शायन जाहानगिरलाई दीपेन्द्रसिंह ऐरीलाई ११ रनमा आउट गरे। यस्तै सन्दीप लामिछानले शुभम रन्जनीलाई १९ रनमा गुल्झन झाबाट क्याच गराए। नटआउट रहेका मिलिन्ड कुमारले ७० रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। हर्मित सिंहले ६ बलमा २ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए।
बलिङमा सन्दीपले २ विकेट लिए। उनले १० ओभरमा ५६ रन खर्चिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिन सफल भए। करण केसीले सुरूवाती नौ ओभरको आफ्नो स्पेलमा २ मेडनसहित ३७ रन खर्चिए पनि अन्तिम ओभरमा २ छक्का र १ चौकासहित १९ रन खर्चिएका थिए।
खेलमा नेपालले आठ बलर प्रयोग गर्यो। कप्तान रोहित पौडेल, विकेटकिपर आसिफ शेख र भीम सार्कीबाहेक बाँकी खेलाडीले बलिङ गरेका थिए।
युएईमा नेपालले दुवै देशसँग २/२ खेल खेल्नेछ। नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ। त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।
लिग-२ मा नेपालले आजको हारसँगै १७ खेल्दा १२ अंक जोडेको छ। आज जित निकालेको अमेरिका भने शीर्ष स्थानमा उक्लिएको छ। अमेरिकाले स्टकल्यान्डसँग समान अंक जोडेको हो। आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै दोस्रो स्थानमा छ। शीर्ष स्थानको अमेरिकाको २१ खेलबाट ३० अंक छ। अमेरिका बढी जित निकालेका कारण शीर्ष स्थानमा पुगेको हो।
नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ। १२ अंक जोडेको सातौं स्थानमा रहँदा युएई ६ अंकसहित आठौं स्थानमा छ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत २०२४ देखि २०२६ सम्म अस्थायी एकदिवसीय मान्यता प्राप्त आठ एसोसिएट टिमबीच २४ वटा त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछन्। यी सिरिजको प्रतियोगितालाई आइसिसीले आइसिसी विश्वकप लिग-२ को नाम दिएको छ। लिग-२ आइसिसी एकदिवसीय विश्वकप २०२७ को छनोटको आधार समेत हो।
आइसिसी-२ फर्म्याट
आइसिसी एकदिवसीय छनोट प्रतियोगिताको आधारको रुपमा रहेको लिग-२ मा तीन वर्षमा आठ टिमले नौं-नौ वटा सिरिज खेल्नेछन्। प्रत्येक सिरिजमा एक टिमले ४ खेल खेल्नेछ। लिग-२ मा प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन्।
आइसिसीको तालिका अनुसार एक टिमले एक वर्षमा तीन सिरिज खेल्नेछ। प्रत्येक टिमका लागि एक वर्षमा एक सिरिज होम हुनेछ भने दुई सिरिज अवे हुनेछन्।
तीन वर्षमा नौ सिरिज मध्ये तीन सिरिज घरेलु मैदानम खेल्दा छ सिरिजका लागि दोस्रो देशको भ्रमण गर्नु पर्नेछ।
आठ टिम मध्ये नेपाल नामिबियामा जानेछैन। यस्तै लिग-२ का लागि क्यानडाको टिम नेपाल भ्रमणमा आउनेछैन ।
आठ टिमले कुल १४४ एकदिवसीय खेल खेलेपछि शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन् ।
बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफबाट शीर्ष चारमा पर्ने टोलीले पनि एकदिवसीय मान्यत पाउनेछन्।
लिग-२ र डिभिजन लिगको इतिहास
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एकदिवसीय विश्वकपको छनोटका लागि तीन वटा लिग सञ्चालन गर्दै आएको छ। सन् २०१९ देखि आइसिसीले चरणका लिग सञ्चालन गर्दै आएको हो।
आइसिसीका स्थायी मान्यता प्राप्त १२ टोलीले आइसिसी विश्वकप सुपर लिग (ओडिआई याङकिङ) खेल्ने गर्छन् ।
यस्तै अस्थायी एकदिवसीय मान्यता प्राप्त ८ टोलीले आइसिसी विश्वकप लिग २ मा प्रतिस्पर्धा गर्छन्। नेपालले पनि अस्थायी एकदिवसीय मान्यता प्राप्त टोली भएकाले नेपालले सन् २०१९ देखि लिग-२ खेल्दै आएको छ।
एकदिवसीय टिम बाहेका लागि भने आइसिसीले आइसिसी विश्वकप च्यालेन्ज लिग गर्दै आएको छ। च्यालेन्ज लिगमा खेल्न पनि आइसिसीले विभिन्न राष्ट्रबीच छनोट खेलाउने गरेको छ।
यसरी ३ तहको लिगबाट आइसिसीले विश्वकपका लागि टोली छनोट गर्छ। उदाहरणका लागि सन् २०२७ मा हुने एकदिवसीय विश्वकपबाट सुपर लिगबाट ८ टोली छनोट हुनेछन्। दुई टोली आयोजकको रुपमा छनोट हुनेछन्।
दक्षिण अफ्रिका र जिम्बावेमा हुने विश्वकपका लागि चार टोलीले भने विश्वकप छनोट खेलेर स्थान पक्का गर्नेछन्। चार स्थानका लागि विश्वकप छनोट प्रतियोगिता हुन्छ।
विश्वकप छनोटमा १० टोली भिड्नेछन्। सुपर लिगबाट २ टोली र लिग-२ बाट चार टोली पुग्नेछन्। बाँकी चार टोली च्यालेन्ज लिगका दुई र लिग-२ का टोलीबीच हुने प्लेअफबाट छानिनेछन् ।
आइसिसी लिग-२ खेल्नुअघि नेपालले २०१५ देखि २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो। तर नेपाल आठ टोली मध्ये सातौं स्थनमा रहदा आइसिसी विश्वकप डिभिजन-२ मा झरेको थियो।
२०१५ सम्म भने नेपालले आइसिसीले सञ्चालन गर्ने विभिन्न डिभिजन खेलेको थियो। डिभिजन फस्याटको लिग अहिले आइसिसीले सञ्चालन गर्दैन।
त्यसअघि नेपालले २०१५ को डिभिजन-२ मा चौथो भएको थियो। त्यसअघि नेपालले सन् २०१३ मा बर्मुडामा भएको आइसिसी विश्वकप क्रिकेट डिभिजन-३ जितेको थियो। जसका कारण नेपालले सन् २०१५ को विश्वकप छनोट खेल्न पाएको थियो।
त्यसअघि नेपालले २०१२ मा डिभिजन-४ जितेर डिभिजन-३ मा बढुवा भएको थियो। त्यसअघि कीर्तिपुस्थित त्रिवि मैदानमा भएको डिभिजन-५ जितेको नेपालले पहिलो पटक आइसिसीको प्रतियोगिता जितेको थियो। सो प्रतियोगिताको सेमिफाइनलमा नेपालले हार्न लागेपछि नेपाली दर्शकले मैदानमा ढुंगा प्रहार गर्दै हुलदंगा गरेका थिए। जसका कारण नेपाल रनरेटमा अघि रहदै फाइनलमा पुगेको थियो। फाइनल जितेर डिभिजन-४ मा पुगे पनि नेपालले सोहि वर्ष डिभिजन-४ मा राम्रो खेल्न सकेन र बढुवा भएन।
सन् २००८ मा पनि नेपालले डिभिजन-५ खेलेको थियो। तर निर्णायक खेलमा पराजय भोग्दा नेपाल डिभिजन-५ मा रहन परेको थियो ।












