इन्सपायर टु एक्सप्लोरले मनायो तेस्रो वार्षिक उत्सव : समुदायका अगुवाको सम्मान
मेकानिसबर्ग, पेन्सिलभेनिया/ इन्सपायर टु एक्सप्लोरले आफ्नो स्थापनाको तेस्रो वार्षिक उत्सव शुक्रवार विविध कार्यक्रम गरि मनाएको छ।
इन्सपायर टु एक्सप्लोर समुदायलाई प्रकृतितर्फ फर्काउने अभियान नै सञ्चालन गर्दै आएको गैर नाफामुलक संस्था हो।
कार्यक्रममा स्थानीय समुदायका स्वयंसेवक, व्यवसायी, विद्यार्थी, सामाजिक अभियन्ता र विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पेन्सिल्भेनियाको मेकानिसबर्गमा शुक्रवार आयोजित वार्षिक उत्सव कार्यक्रममा डा. राचेल नट्सले ‘नेतृत्व, सञ्चार र टिम गतिशीलता’ विषयमा प्रशिक्षण दिएकी थिइन्।
यस्तै डा. निर्मल जोशी र डा. रेणु जोशीले ‘ब्राउन हार्ट: स्वास्थ्य र कल्याण’ बारेमा प्रभाव रिपोर्ट प्रस्तुत गरेका थिए।
त्यस पछि सामुदायिक भावना, सिर्जनशीलता र सेवाको सम्मान स्वरूप इन्सपायर टु एक्सप्लोरले विभिन्न संघ संस्था तथा समुदायका अगुवा व्यक्तित्वहरूलाई सम्मान गरेको थियो।
सम्मानित हुनेमा नेपाली भाषी र गैर–नेपाली भाषीले संचालन गरेको संस्था र व्यक्तित्वहरू थिए। इन्सपायर टु एक्सप्लोरका संस्थापक अध्यक्ष नील भण्डारीले समाजसेवा, नेतृत्व र सामुदायिक योगदानका आधारमा सम्मान गरिएको जानकारी दिए।
‘समाजमा सकारात्मक सोच, सहकार्य र प्रेरणा फैलाउने व्यक्तिहरूको योगदानको कदर गर्दै ‘कम्युनिटी इम्प्याक्ट अवार्ड’ मार्फत सम्मान गरिएको हो।‘ भण्डारीले भने।

गिनिज बुक अफ वल्ड रेकर्डधारी कीर्तिमानी सगरमाथा आरोही आङ दावा शेर्पा र उनकी पत्नी पासाङ फुटी शेर्पालाई सम्मान गरिएको थियो ।
त्यस्तै अमेरिकामा सक्रिय पत्रकारिता गरिरहेका समाज टाइम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरे र पत्रकार गोबिन्द गुरुङ पनि सम्मानित भए।
यस्तै एशियन रेफ्युजी युनाइटेट (एआरयु), भुटनीज कम्युनीटी इन ह्यारिसबर्ग (बीसीएच), जोशी स्वास्थ्य फाउन्डेसन, पिजन फेदर स्टुडियोलाई पनि समुदायलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
यस्तै कुमार अधिकारी, मारिमुथु सथाशिवम्, एट्रेया सिन्डेरी, घिमिरे होम्स, संजय ठाकुर, एसटी ग्लोबल र अपटाउन डिस्काउन्ट ड्रग्सलाई पनि सम्मान गरिएको थियो।
कल्पेश र नेमिशा पटेल, पवन घिमिरे, मोनिष चामलिङ, अन्पी पौड्याल, ड्र्यागन बीमा, प्राइम रियल्टी सेवा, अन्नपूर्ण बीमा, अल्फा स्टेट रियल्टी, चेम्बरलिन, रेनहाइमर, टोपाइटम्स डिजाइन र प्रिन्ट, डा. राचेल नट्स, ट्रॉय बेनेटलाई पनि सम्मान गरिएको थियो।
इन्सपायर टु एक्सप्लोर संयुक्त राज्य अमेरिकामा स्थापित गैर–नाफामूलक संस्था हो, जसले पछिल्ला केही वर्षयता नेपाली भाषी समुदायलाई प्रकृतिमा फर्काउने अभियान नै शुरु गरेको छ।
जस अन्तर्गत विभिन्न स्थानमा हाइकिङ, दौड, ट्रेकिङ र प्रकृति–आधारित गतिविधिहरूको आयोजना गर्दै आइरहेको छ ।
संस्थाका संस्थापक अध्यक्ष निल भण्डारीले समाजलाई स्वस्थ र स्वच्छ बनाउनु आफूहरूको गन्तव्य भएको बताए। ‘इन्सपायर टु एक्सप्लोर केवल हिँड्ने वा पर्वतारोहण गर्ने अभियान होइन ।’ भण्डारीले भने, ‘यो मानिसहरूलाई प्रकृति र समुदायसँग पुनः जोड्ने माध्यम हो । हामीले जहाँ पुगे पनि हाम्रो उद्देश्य आत्मबल, स्वास्थ्य र सहकार्यलाई सँगसँगै अघि बढाउनु हो।’
कार्यक्रममा सम्मानित व्यक्तिहरूले पनि आफ्नो अनुभव साझा गर्दै समुदायलाई सेवा गर्नुका साथै सकारात्मक योगदान दिन प्रेरित गर्ने उद्देश्य स्पष्ट पारेका थिए ।
विश्व कीर्तिमानी हिमाल आरोही आङ दावा शेर्पाले जीवनमा कठिनाइ र चुनौतीहरूको सामना गर्दै आफूले प्राप्त गरेका सफलताको अनुभव र सिकाइहरू साटेका थिए।
यस्तै भुट्नीज कम्युनीटी इन ह्यारिसबर्गका पूर्व अध्यक्ष विनय लुइटेल र वर्तमान अध्यक्ष तिलक निरौलाले इन्सपायर टु एक्सप्लोरले समुदायमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
इन्सपायर टु एक्सप्लोरले शनिबार विश्व किर्तीमानधारी दम्पती शेर्पासँगै हाइकिङको कार्यक्रम आयोजना गर्दैछ । यस कार्यक्रम मार्फत समुदायमा स्वास्थ्य, उत्साह, सहकार्य र सकारात्मक जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।
संस्थाले नियमित रूपमा हाइकिङ, ट्रेकिङ, दौड र प्रकृति–आधारित गतिविधिहरूको आयोजना गर्दै व्यक्तिहरूलाई सहभागी गराउने काम गर्दै आइरहेको छ ।
यसले समुदायभित्र सहकार्य र मित्रता बढाउने मात्र नभई प्रकृतिसँग नजिक हुन मद्दत गरेको छ । इन्सपायर टु एक्सप्लोरको यो पहलले स्थानीय नेपाली भाषी र अमेरिकी समुदायबिच पुल निर्माण गर्न मात्र नभई स्वास्थ्य, नेतृत्व र सामाजिक जिम्मेवारीको महत्त्व बुझाउने काम गरेको छ ।
आगामी हाइकिङ कार्यक्रम र अन्य गतिविधिहरूले पनि यही उद्देश्यलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।












