आज गाई तिहार : मेरिल्याण्डको बाल्टिमोरमा गरियो गाई पूजा
बाल्टिमोर, मेरिल्याण्ड/ आज गाई तिहार । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बुधवार गाई पूजा गरिएको छ। हिन्दु बुद्ध मन्दिरमा बुधवार गाई पूजा गरिएको हो। पर्वत समाज अमेरिका र मन्दिरले गाई पूजाको व्यवस्था गरेका हुन्।

दुई वटा गाईलाई मन्दिर परिषरमा ल्याएर अस्थायी गोठ बनाइ दिनभर पुजाको व्यवस्था गरिएको थियो। मन्दिरमा गाई पुजाको व्यवस्था पछिल्लो तीन वर्ष देखि गरिँदै आएको छ।
मन्दिर परिषदमा बिहान आठ बजे देखि साँझ पाँच बजे सम्म पूजाको व्यवस्था मिलाइएको थियो। पण्डित कृष्णहरि घिमिरेले विधिवत् रुपमा गोवर्धन र गाई पूजा गराएका थिए।

नेपाली अमेरिकी सांस्कृतिक केन्द्र (एनएसीसी) सचिव तरुण पौडेलले यस पटकको गाई पूजामा पनि उत्साहजनक सहभागिता रहेको बताए।
‘आज बिदाको दिन होइन तर पनि चार सय भन्दा बढीले गाई पूजा गरे।’ समाज टाइम्स सँग पौडेलले भने। पौडेलका अनुसार दिउसो तीन बजे पछि भिड् लागेको थियो।
‘बिहान देखि नै आउने जाने भइनै रह्यो तर तीन बजे देखि चार बजेको बिचमा उपस्थिति बाक्लो थियो।’ उनले भने।
पौडेलले यस पटकको गाई पूजाका लागि भारतीयहरू पनि आएको बताए। ‘मेरिल्याण्डमा हामीले शुरु गरेका हौ गाई पूजा, यो यहाँ नौलो कुरा पनि भयो, यो पटक भारतीयहरू पनि आए त्यो पनि राम्रो कुरा हो।’

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारमा गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइन्छ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौ माता भनी सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाई दान गर्ने विधि छ । .
गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।















