‘हाम्रो भजन समूह’ द्वारा उत्तरी भर्जिनियामा देउसी–भैलो कार्यक्रम सम्पन्न
स्यान्टिली, भर्जिनिया / नेपालीहरूको महान् चाड तिहार पर्व उल्लासका साथ मनाउन यहाँ स्थित विभिन्न संघ संस्थाहरूले सक्रियताका देखाएका छन्।
यसरी सक्रियताका साथ कार्यक्रम आयोजना गर्नेहरूमा नेपालीज अमेरिकन कम्युनिटी सेन्टर, अमेरिकन नेपाली सहायता समाज र हाम्रो भजन समूह रहेका छन्। यसैबिच लक्ष्मी पूजाको पूर्व सन्ध्याको अवसर पारेर नेप्लीज अमेरिकन कम्युनिटी सेन्टरले देउसी भैलो आयोजना गरेको छ। साथै बृहत् सहभागिताका लागि निमन्त्रणा समेत गरेको छ।
यस्तै धनतेरसको अवसर पारेर भर्जिनियामा रहेका नेपाली समुदाय बिच अत्यन्त लोकप्रिय भजन पारखीको ‘हाम्रो भजन समूह’ले स्थानिय दुई फरक फरक स्थान व्रिस्टो र स्यानटिलीमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।
हिन्दु धर्मअन्तर्गत पश्चिम गण्डकी क्षेत्रका भजनहरूको प्रस्तुति गर्ने यो समूहले, यस वर्ष पनि आफ्नो मौलिक सांस्कृतिक धरोहरलाई प्रवासमा उजागर गर्दै नेपाली संस्कृति, परम्परा र नीतिको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको हो।

‘रङ्गीचङ्गी प्रकाश, झिलिमिली वातावरण र सङ्गीतको धुनमा, समूहका सदस्यहरूले मनोरञ्जनात्मक रूपमा देउसी–भैलो प्रस्तुत गरिएको कार्यक्रममा देउसीको स्वागत र आतिथ्य प्रदान गर्दै सोमराज घिमिरेले भने- ‘ स्थानिय सम्पूर्ण नेपाली समुदायलाई एकसाथ ल्याउने र आपसी भाइचाराको भावना झन् प्रगाढ बनाउने अवसर प्रदान गर्यो’ । स-साना बालबालिकाहरूको समेत देउसी प्रस्तुति रहेको दुवै स्थानमा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भजन तथा देउसी–भैलोका माध्यमबाट नेपाली परम्परा र धार्मिक संस्कारलाई अमेरिकास्थित नयाँ पुस्तामा हस्तान्तरण गर्ने समूहको लक्ष्यलाई सहभागीहरूले उच्च प्रशंसा गरेका छन्। उपस्थित दर्शकहरूले कार्यक्रमलाई अत्यन्त सफल, रमाइलो र भावनात्मक बताउँदै आगामी वर्षहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रम निरन्तर आयोजना गर्न आग्रह गरेका छन्।
“हाम्रो भजन समूह” ले नेपाली मौलिकता, कला, र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने धेयका रूपमा आफ्नो गतिविधिलाई अगाडी बढाउँदै आएको समूहका अध्यक्ष भरत सुवेदीले बताएका छन् ।












