एनआरएनए मेरिल्याण्ड च्याप्टरद्वारा सल्लाहकारहरूको स्वागत तथा देउसी–भैलो कार्यक्रम तय

Getting your Trinity Audio player ready...
|
मेरिल्याण्ड/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत मेरिल्याण्ड च्याप्टरले सल्लाहकारहरूको औपचारिक स्वागत गर्दै तिहारमा देउसी भैलो कार्यक्रम तय गरेको छ।
प्रवासी नेपाली समुदायबिच एकता, सहकार्य र नयाँ ऊर्जा भर्ने वातावरण सिर्जना गर्न यस्तो कार्यक्रम गरिएको च्याप्टरले जनाएको छ।
च्याप्टरले सुरज थापा, मोहनजंग शाही, मनहरी सापकोटा, पुष्प शर्मा, गङ्गा क्षेत्री गोविन्द सापकोटा,दुर्गा बिक अन्जिता श्रेष्ठ सम्राट् खड्का दुर्गा विश्वकर्मा र हिरा गुरुङलाई सल्लाहकार मनोनीत गरेको थियो।
सल्लाहाकारहरुले आगामी योजना र समुदाय विकासबारे प्रेरणादायी विचार प्रस्तुत गर्दै मेरिल्याण्डका सबै संघ–संस्थाहरूबिच एकता र सहकार्यको सन्देश दिने गरी आउनु पर्ने सुझाएका थिए।
उनीहरुले नेपाली कला, संस्कृति र परम्परालाई संरक्षण गर्दै आगामी दिनहरूमा समुदायलाई अझ सकारात्मक दिशामा अघि बढाउन सल्लाह र सुझाव पनि दिए।
कार्यक्रममा अध्यक्ष भट्टराईले एनआरएनए प्रवासी नेपालीहरूको आवाज र अधिकारको रक्षक भएको र सबै मिलेर पारदर्शिता, सहकार्य र सेवा भावका साथ अघि बढ्नु पर्ने बताए।
सोही अवसरमा यस वर्षको भव्य “देउसी–भैलो २०२५” कार्यक्रमको पनि औपचारिक घोषणा गरिएको थियो।
यो कार्यक्रमले मेरिल्याण्ड तथा आसपासका नेपालीहरूलाई एकै ठाउँमा ल्याउँदै हाम्रो संस्कृति, परम्परा र नेपालीपनको भावनालाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
‘मेरिल्याण्ड च्याप्टरमा नयाँ ऊर्जा, एकता र उद्देश्यको सुरुवात गरेको छ । जसले प्रवासी नेपाली समुदायबिच आशा, माया र सहकार्यको सन्देश फैलाएको छ।’ बैठक पछि सचिव हरिचन्द्र रावतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष बाबुराम भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा सचिव हरिचन्द्र रावत सञ्चालन गरेका थिए।
अर्का अध्यक्ष किरण पण्डित भने कार्यक्रममा अनुपस्थित रहे। गत अगस्त भएको निर्वाचनमा दुई उम्मेदवारले बराबरी मत ल्याए पछि कार्यकाल आलोपालो गरिएको थियो।
कार्यक्रममा उपाध्यक्ष राजेन्द्र रेग्मी र महिला उपाध्यक्ष सङ्गी गौतमले स्वागत मन्तव्य दिएका थिए। उनीहरुले नवनियुक्त सल्लाहकारहरूलाई शुभकामना पनि दिए।
कार्यक्रममा सहभागी समुदायका सदस्यहरूले पारदर्शिता, सहकार्य, युवा सहभागिता र सकारात्मक सोचलाई अझ सुदृढ बनाउने सुझावहरू पनि प्रस्तुत गरे।
कार्यक्रममा कोषाध्यक्ष कमल खत्री, युवा संयोजक श्रेया श्रेष्ठ, तिला खत्री, बिनु गेवाली, धनबहादुर खत्री लगायत पदाधिकारीहरूको उपस्थिति थियो।