एसियन कप छनोट : लगातार चौथो हार सँगै नेपाल बाहिरियो

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ २०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले लगातार चौथो खेलमा पराजित भएको छ। पराजयसँगै नेपाल छनोटबाट समेत बाहिरिएको छ।
भियतनाममा मंगलवार भएको खेलमा नेपाललाई घरेलु टोलीले १-० गोलले पराजित गरेको हो। कर्नर बलमा विपक्षी खेलाडीको हेडर रोक्ने क्रममा सुमन श्रेष्ठले आफ्नो पोस्टमा बल छिराउन पुगेका थिए। त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन।
यद्यपि अधिकांश समय भियतनामले नेपाललाई दबाब दिएको थियो। यस्तै नेपालका गोलकिपर किरणकुमार लिम्बूले भियतनामका दुई प्रहारलाई विफल पारेका थिए।
खेलमा डिफेन्डर रोहित चन्दले देशका लागि सयौँ अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा पार गरे। रोहितले आफ्नो सयौँ खेलमा पूरा अवधि खेलेका थिए।

समूह ‘एफ’ अन्तर्गतको यो खेल नेपालको घरेलु मैदानमा हुने तय थियो। तर दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले आफ्नो होम म्याच पनि भियतनाममै खेल्न बाध्य भएको हो।
नेपालले छनोटअन्तर्गत गत साता भियतनाममा आफ्नो तेस्रो खेल खेल्दा पराजय भोगेको थियो। गत बिहीबार घरेलु टोली भियतनामले नेपाललाई ३-१ गोलले पराजित गरेको थियो।
यसअघि नेपाललाई मलेसिया र लाओसले पराजित गरेका थिए।
समूहमा नेपाल मात्र अंकबिहीन छ। समूह विजेता एसियन कपमा पुग्ने प्रावधानअनुसार नेपाल अन्तिम दुई खेलअघि नै बाहिरिएको हो।
नेपालले आफ्नो पाँचौँ खेलमा नोभेम्बरमा मलेसियामा खेल्ने तय छ। यो पनि होम म्याच भए पनि मैदान अभावका कारण खेल मलेसियामै हुनेछ।
अन्तिम खेल भने नेपालले लाओससँग २०२६ को मार्चमा खेल्दै छ। लाओससँगको खेल पनि होम म्याच हो। यो खेलअघि नेपालले अन्तर्राष्ट्रिय मान्यताप्राप्त मैदान तयार गर्नु पर्छ। त्यसो गर्न नसके लाओससँगको खेल पनि दोस्रो देशमा खेल्नु पर्नेछ।
फोटो : एन्फा