गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा साङ्गीतिक प्रस्तुति दिने

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न सहरमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । त्यसका लागि मंगलबार उनी अमेरिका उडेका हुन्।
अमेरिकाका विभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ । थापा पहिलो पटक अमेरिका आउँदै छन्। थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार अस्टिन टेक्ससबाट सुरु भएर नोभेम्बर २२ मा डल्लास टेक्ससमा पुगेर सकिनेछ ।
उनले पेन्सिल्भेनियाको ह्यारिसबर्गमा अक्टोबर २६ तारिखमा तथा न्यु योर्क बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।
दुर्गेश टुर आरएनआर ग्रुप्स एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट अशिष भडेलले आयोजना गरेका हुन् । साथै पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ ।
अग्रिम टिकटका लागि पनि आयोजकले आग्रह गरेको छ । आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखेको छ ।
आयोजक मध्येका एक रोशन पुरीका अनुसार पहिलो पटक अमेरिकामा रहेका नेपालीहरू माझ दुर्गेशलाई ल्याउन पाउँदा खुसी लागेको र फरक फरक ठाउँका नेपालीलाई एकै स्थानमा भेला गराउन पाउने बताए ।
कार्यक्रम मध्ये नोभेम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुति रहने आयोजकले बताइएको छ । मेलिनाले भिडिओ सन्देश दिँदै नोभेम्बर १ मा भेटौँ पनि भनेकी छिन् ।