ओएचआरसी नयाँ कार्यसमितिले लियो शपथ ग्रहण

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) को नवनिर्वाचित कार्यसमितिका अध्यक्ष प्रेम खनाल सहित १६ जना पदाधिकारीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
सेप्टेम्बर २७ तारिखमा भएको निर्वाचनले प्रेम खनाललाई लगातार दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको थियो। कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ।
ह्यारिसबर्ग स्थित श्रीलक्ष्मी नारायण मन्दिर हरिहर धाममा आयोजित कार्यक्रममा ओएचआरसीका कार्यकारी निर्देशक डा. तुलाराम न्यौपानेले अध्यक्ष खनाललाई शपथ गराएका थिए।
त्यस पछि अध्यक्ष खनालले अन्य पदाधिकारीलाई शपथ गराएका थिए। ओएचआरसीको नयाँ कार्यसमिति उपाध्यक्षमा हरि विनोद अधिकारी र ठाकुर घिमिरे निर्वाचित भएका छन्।
यस्तै सचिव अभि न्यौपाने र कोषाध्यक्षमा सरस्वती घिमिरे निर्वाचित भएका थिए।

आर्थिक सल्लाहकार र कोष सङ्कलन प्रमुखमा यदु आचार्य, एचआरमा रोहित दाहाल, संस्कृति तथा कार्यक्रम व्यवस्थापनमा टिका बस्नेत, मिडिया संयोजकमा सिएम निरौला, टेक्नोलोजीमा माधव पोखरेल निर्वाचित भएका थिए।
उस्तै शिक्षा संयोजकमा नमिता चिमरिया, युवा संयोजकमा यानु दङ्गगाल र उप युवा संयोजकमा प्रकृति पोखरेल निर्वाचित भएका थिए।
शिक्षामा चुडा दाहाल, सांस्कृतिक र कार्यक्रम सहायकमा नारद आचार्य र सदस्यहरूमा सावित्रा खनाल, बिरसा रिमाल रहेका छन्।
मन्दिरको व्यवस्थापनमा टिका बस्नेतमा रहेका छन्। यस्तै नेपाली भाषा शिक्षाको प्रधानाध्यापक (निर्देशक) महेन्द्र अधिकारी रहेका छन्। पाठशालामा पछिल्लो दश वर्ष यता कक्षा १ देखि ५ सम्म नेपाली भाषा पढाइ हुँदै आएको छ।
ओएचआरसी सन् २०१३ सालमा स्थापना भएको हो । ओएचआरसीका मिडिया संयोजक सिएम निरौलाका अनुसार सपथ ग्रहण सँगै सोही कार्यक्रममा पेन्सिल्भनिया राज्यका गभर्नर जस सापिरोद्वारा घोषित हिन्दु हेरिटेज मन्थको प्रोक्लमेसन हस्तान्तरण गरिएको थियो।
नवनियुक्त बोर्ड मेम्बरहरूको सपथ ग्रहण पछि समाजमा भइरहेका समस्याहरूको बारेमा ४५ मिनेट समूह समूहमा छलफल गरी निचोड निकालिएको थियो।
‘हाम्रो आठ वटा समूहमा छलफल भएको थियो, त्यसका निचोड पनि आएका छन्।‘ मिडिया संयोजक निरौलाले भने।
‘एउटा चाहिँ कल्चरल डिफेन्सको कुरो गरेका थियौँ । त्यसमा अर्काको संस्कार संस्कृति पनि हामीले सिक्नु पर्छ र हाम्रो संस्कार संस्कृति पनि हामीले सिकाउनु पर्छ भन्ने कुरा आएको थियो।‘ उनले भने, ‘अर्को हाम्रो भाषाको समस्याको कुरा आएको थियो।‘
निरौलाका अनुसार अब भाषाको समस्यामा हाम्रा आमाबाबाहरूलाई पनि हामीले यहाँको भाषा सिकाउनु पर्छ र हाम्रो भाषा हाम्रा बालबालिकाहरूलाई पनि सिकाउनु पर्छ भन्ने निचोड निकालिएको छ।
‘बच्चाहरूले अहिले नेपाली खासै बोल्दैन, हामीले हाम्रो भाषा हाम्रो छोराछोरीलाई पनि सिकाउनु पर्छ। भाषा सिक्ने बित्तिकै उसले संस्कार, संस्कृति, हाम्रो सभ्यता सबै कुराहरू सिक्छ भन्ने कुरा गरेको थियो।‘ उनले भने।
यस्तै आत्महत्या रोकथामको बारेमा पनि छलफल भएको निरौलाले बताए।
‘कुनै पनि ठाउँमा जस्तै तपाई चर्च जानुहोस्, गुम्बा जानुहोस्, मन्दिर जानुहोस्, जहाँसुकै गए पनि तपाईँले त्यहाँ जानुहुन्छ, नाच्नुहुन्छ, गाउनुहुन्छ, मान्छेसँग भेट हुन्छ, तपाईँको मनमा भएको पिडाहरू पनि जाति हुँदै जान्छ।‘ समाज टाइम्स सँग मिडिया संयोजक निरौलाले भने, ‘हामी त यो संस्कारबाट आएको हो नि त यो सभ्यता बाट आँको हो नि त। यी यावत कुराहरू पनि हामी बीचमा छलफल भएका थिए।‘
‘मुख्य रुपमा हामीमा समस्या छ र हामीले नै सिकाउन पर्छ भन्नेमा पुग्यौ।‘ उनले थपे, ‘आत्महत्या अहिले जल्दो बल्दो छ। मेन्टल हेल्थको प्रब्लम जल्दो बल्दो छ। हामीले मेडिकल ट्रिटमेन्ट पनि लिनु पर्छ। यस्तै हाम्रो सांस्कृतिक कार्यक्रमहरु यस्तै हाम्रा चाहिँ भेलाहरूमा पनि चाहिँ जानु पर्छ। यसले चाहिँ रोकथाममा सहयोग पुर्याउँछ। हो यस्ता खालका कुराहरू भए।‘
निरौलाले यी सबै निचोड दस्ताबेजको रुपमा केही दिनमा नै सार्वजनिक गरिने बताए।
ओएचआरसीको युवा शाखाले कार्यक्रमको आयोजना गरेको थियो। आयुस्मा रिजालले स्वागत मन्तव्य दिएको कार्यक्रम प्रकृति पोखरेल र लुना न्यौपानेले सञ्चालन गरेका थिए।
तस्बिरहरु : सिएम निरौलाबाट