मेरो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखायो : ओली

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीप्रति कडा आलोचना गरेका छन् ।
बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानन्यायाधीस भइसकेको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने भएता पनि प्रधानमन्त्री बन्नकै लागि जेनजी आन्दोलनमा सहभागी हुन पुगेको आरोप लगाए ।
अहिले आफूलाई पक्राउ गर्नको लागि प्रधानमन्त्री कार्कीले रात भरी मिटिङ गरिरहेको उनको आरोप छ ।
उनले भने,‘उहाँलाई राम्रोसँग थाहा छ । नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे हो । के के व्याख्या गर्नुभयो त्यो छाडौँ । नेपालको संविधानले भन्छ,पूर्वप्रधानन्यायाधिस भइसकेको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन तर उहाँ सुरिनु भयो । त्यो सुरिन २३ गते र २४ गते जेनजी भनेर सडकमा उत्रिनु भयो । यो निर्वाचन गराउने त राष्ट्रपतिले तोक्नुभएको हो । उहाँहरू अहिले राति राति ३ बजेसम्म मिटिङ गरेर कसरी ओलीलाई गिरफ्तार गर्न सकिन्छ, कसरी कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ भनेर ।’
त्यस्तै अध्यक्ष ओलीले आफ्नो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखाएको टिप्पणी गरे । वर्तमान सरकार नेपालीहरूको प्रतिनिधित्वमा नबनेको बताउँदै बाह्य प्रतिनिधित्व रहेको अंशका व्यक्त गरे ।
‘उहाँहरूले सबैभन्दा पहिला सडकमा तमासा देखाउनुभयो । त्यो तमासा केपी ओलीलगायत केही मानिसहरूको पासपोर्ट रोक्का गरेर यो हाहा–हुहुबाट बनेको सरकार भनेर संक्षेपमा मात्र भनेको छु । त्यसका व्याख्या अलि गरेको छैन, समयमा गरौँला । यो कसैको प्रतिनिधिको सरकार होइन, नेपालीको चाहिँ होइन । अन्त कतैको भए थाहा छैन । कसैले छानेको सरकार होइन हो । खास उद्देश्यले काम गर्नुभएको छ पासपोर्ट रोक्का गर्ने,’उनले भने ।