अमेरिकामा जगदीश समालको अन्तिम साङ्गीतिक साँझ हुँदै

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली आधुनिक सङ्गीतका प्रसिद्ध गायक जगदीश समालको अमेरिकामा अन्तिम साङ्गीतिक साँझ हुने भएको छ।
समालको ३० वर्षे सङ्गीतमय यात्रालाई समर्पित विशेष एकल गायन अर्केस्ट्रा कन्सर्ट हुने भएको हो । यो कार्यक्रम अक्टोबर ११ तारिख अमेरिकाको न्यु योर्क राज्यको रोचेस्टरमा रहेको कला भवन ‘द हक्सटाइन स्कुल अफ म्युजिक एण्ड डान्स हल’ मा आयोजना हुँदैछ ।
कार्यक्रम आयोजक मध्येका एक राम गुरुङका अनुसार कोकोम्हेन्दो आन्सम्बल र द भुटनिज नेपाली आर्टिस्टद्वारा आयोजित कार्यक्रम ‘बुलबुल क्लोज टु माई हार्ट– अ ट्रीब्युट टु जगदीश समाल्स थर्टी एअर्स अफ मेलोडी’ मा ५० जना सङ्गीतकर्मी बाद्यवादकहरुको लाइभ अर्केस्ट्रा प्रस्तुति रहने छ I
उक्त कन्सर्टमा न्यु योर्क सहित अन्य शहरका प्रतिष्ठित संगीतज्ञहरु अनि प्राविधिकहरूले समाललाई साथ दिने छन् ।
गायक समालको अमेरिकामा १५ वर्ष लामो बसाइपछिको यो अन्तिम कन्सर्ट हुनेछ, किनभने उनी अव चाँडै नेपाल फर्किँदै छन्।
‘यो कन्सर्ट उहाँका लागि सङ्गीतमय बिदाइको उत्सव समेत हुने छ। गायक समालको ५०औँ जन्मदिन पनि यही दिन परेकोले कार्यक्रम थप विशेष बन्ने छ ।’ गुरुङले समाज टाइम्स सँग भने।
कन्सर्टमा भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेरले पनि गायक समाललाई साथ दिने छन्। त्यस्तै लोकप्रिय गायक तथा सङ्गीतकार किशोर शिवाकोटी, अर्जुन रसाइली, मनोज ढकाल, उषा गुरुङले पनि गीत गाएर समाललाई सम्मान गर्ने कार्यक्रम छ । मुख्य आयोजक कोकोम्हेन्दो आन्सम्बललाई समर्थन र सहकार्य मेनुका मेमोरियल फाउन्डेशन, भुटनिज अमेरिकन म्युजिक एसोसिएसन(बामा), सुन्ने घर, अनि समाजका व्यवसायी, समाजसेवी, भुटनिज नेपाली आर्टिस्टहरुले गरेका छन् । उक्त कन्सर्ट अढाई घण्टासम्म हुने छ।