पेन्सिल्भेनियाको ल्यानक्यास्टर सिटीले पानीको दर बढाउने प्रस्ताव
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको ल्यानक्यास्टर सिटीले पिउने पानीको मूल्य बढाउने प्रस्ताव गरेको छ।
सिटी पेन्सिल्भेनिया पब्लिक युटिलिटी कमिसन (पीयुसी) मा आगामी २९ नोभेम्बर २०२५ देखि लागू हुने गरी पानीको दर बढाउने प्रस्ताव दर्ता गरेको छ।
सिटीले पेश गरेको प्रस्ताव अनुसार वार्षिक रूपमा झन्डै सात मिलियन डलर अतिरिक्त आम्दानी हुने गरी पानीको दर बढाउन माग गरिएको हो।
यदि प्रस्ताव स्वीकृत भएमा—
- घरायसी ग्राहक: ४,५०० ग्यालन महिनामा पानी प्रयोग गर्ने सानो मिटर (५/८-इन्च मिटर) भएका घरधनीको मासिक बिल हालको २९.८२ डलरबाट बाट बढेर ३८.७२ पुग्नेछ, जसले करिब २९.८% वृद्धि देखाउँछ।
- वाणिज्यिक ग्राहक: २-इन्च मिटर प्रयोग गर्ने र मासिक ७३,१०० ग्यालन पानी खपत गर्ने व्यावसायिक ग्राहकको बिल ४,८०४.१२ बाट बढेर ६,१०४.१९ पुग्नेछ (२७.१% वृद्धि)।
- औद्योगिक ग्राहक: २-इन्च मिटर प्रयोग गरी ४१९,६०० ग्यालन पानी प्रयोग गर्ने ग्राहकको मासिक बिल २५,७००.०५ बाट बढेर ३२,४७८.६१ पुग्नेछ (२६.३% वृद्धि)।
दर वृद्धि विरुद्ध उपभोक्ताले गर्न सक्ने कदम
पीयुसीले दर वृद्धिको प्रस्तावलाई स्वीकृति वा अस्वीकृति गर्ने अधिकार राख्दछ। यसबारे असहमति भए उपभोक्ताले विभिन्न माध्यमबाट आवाज उठाउन सक्नेछन्।
१. औपचारिक उजुरी दर्ता गर्ने: दर वृद्धिको विरोधमा उजुरी दर्ता गरेपछि सार्वजनिक सुनुवाइमा भाग लिन सकिनेछ।
२. पत्र पठाउने: सिटीको सेवामा समस्या वा व्यवस्थापन सम्बन्धी मुद्दा देखिएमा उपभोक्ताले आपत्ति जनाउने पत्र पठाउन सक्नेछन्।
३. सार्वजनिक सुनुवाइमा सहभागी हुने: ठूलो संख्यामा ग्राहकहरूले चासो देखाएमा पीयुसीले सार्वजनिक सुनुवाइ गर्नेछ, जसमा ग्राहकले प्रत्यक्ष आफ्नो धारणा प्रस्तुत गर्न पाउनेछन्।
सुनुवाइमा पेश गरिएका सबै अभिमत तथा प्रमाणहरू आधिकारिक अभिलेखको हिस्सा हुनेछन्।
‘तपाईँ औपचारिक गुनासो दर्ता गर्न सक्नुहुन्छ। यदि तपाईँ न्यायाधीश समक्ष सुनुवाइ चाहनुहुन्छ भने, तपाईँले औपचारिक गुनासो दर्ता गर्नुपर्छ।
औपचारिक गुनासो दर्ता गरेर, तपाईँले दर वृद्धि अनुरोधको बारेमा सुनुवाइमा भाग लिने अवसर सुनिश्चित गर्नुहुन्छ। सबै गुनासोहरू नोभेम्बर २९, २०२५ अघि पीयूसीमा दायर गरिनुपर्छ। यदि कुनै औपचारिक गुनासो दायर गरिएको छैन भने, पीयूसीले न्यायाधीश समक्ष सुनुवाइ नगरी सबै, केही वा कुनै पनि अनुरोधलाई अनुमति दिन सक्छ।‘ सिटिले ग्राहकको घरमा पठाएको पत्रमा भनिएको छ।
सिटीका अनुसार औपचारिक उजुरी फारमको लागि आफ्नो पत्र वा अनुरोध पीयुसी, हुलाक कार्यालय बक्स ३२६५, ह्यारिसबर्ग, पिए १७१०५-३२६५ मा पठाउन सकिने छ।












