नवीन खड्का जसले नचाए ल्यानक्यास्टरमा एकै मञ्चमा तीन पुस्ता
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा पछिल्ला डेढ दशक देखि बस्दै आएकी ८० वर्षीय झुमा उप्रेती गत आइतबार साँझ लिटिजरक हलमा प्रफुल्ल भेटिइन्।
उनी आफ्ना छोरा बुहारी र दुई नातिनी सँगै ड्रिम सपोर्ट फाउन्डेशनद्वारा आयोजित ‘दशै-तिहार महोत्सवमा’ सहभागी हुन त्यहाँ पुगेकी थिइन्।
फाउन्डेशनले पछिल्लो पाँच वर्ष तथा हरेक वर्ष दशैँ र तिहारको बीचमा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ।
कार्यक्रममा शुरुमा स्थानीय बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए। उद्घोषक विशाल ढुङ्गानाले पनि कार्यक्रमलाई पट्यार लाग्नबाट जोगाएका थिए। उनले दर्शकलाई आफू तर्फ नै आकर्षित गरिनै रहे।
भीम गजमेर र उनका दुई छोरीहरू सुहाना र सुहागिन सहितको प्रस्तुतिले सहभागीलाई मन्त्रमुग्ध बनाएको थियो। उनीहरुले तबला र भ्वाइलिन बजाएका थिए।
यस्तै शह गुरुङले पनि गीत गाएका थिए। त्यस पछि पूर्वेली लोक भाकामा जमेका गायक नवीन खड्का जब स्टेजमा आए त्यहाँको माहौल नै फेरियो।
गायक खड्काले ८० वर्षीया झुमा उप्रेती मात्र होइन, उनका ४० वर्षीया छोरा मनिष उप्रेती, १३ वर्षकी नातिनी वर्षा र १० वर्षकी प्रियलाई एउटै थलोमा नाच्ने वातावरण बनाए।
उप्रेती परिवार मात्र होइन, हलमा भएका प्रायशः स्टेजको अगाडि नाच्न पुगेका थिए।
धोइदेउन् द्योविना राजै के को रङ्ग लाग्यो मलाई ….. लोक भाकाबाट आफ्नो प्रस्तुति शुरु गरेका खड्काले ‘पल्लो घरको साइली माइली …..’, ‘गोठाला दाइले नि हो ज्यान घाँसै काट्यो…’ भाका गाउँदै गर्दा दर्शक झन् रोमाञ्चित भएका थिए।
त्यस पछि उनी स्टेजबाट फ्लोरमा आए। जहाँ देउसी भैलो भट्ट्याउने कार्यक्रम राखिएको थियो।
आयोजकले नाङ्गलोमा बत्ती बालेर दक्षिणा ल्याए। खड्काले देउसी भट्ट्याए, दर्शकले साथ दिए।
फेरि खड्काले ‘हाँसेर बोलिदेऊ माया यसरी भेट कहिले हुन्छ र ….’ गाए । त्यस पछि पारी तुवाँलो पारी तुवाँलो …. भाका हाल्दा झुमाले म ८० वर्षकी हुँ भन्ने नै बिर्सिइन र छोरा नातिनीहरू सँग सँगै झम झम नाच्न पुगिन्।
‘हामी यहाँ धेरै जना पूर्वबाट आएका छौ।‘ यस्ता भाका बजे पछि मनै थामिँदैन।‘ मनिष भन्दै थिए।
झुमाले पनि रमाइलो भएको प्रतिक्रिया दिइन्। ‘आनन्द भयो’ उनले छोटो प्रतिक्रिया दिइन।
यी सबै दृश्य दर्शक दीर्घाबाट निहाली रहेका विराटनगर निवासी ८३ वर्षीया त्रिलोक न्यौपानेले पनि कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए।
छोरी ज्वाइँ भेट्न अमेरिका आएका न्यौपाने भने ‘देउसी भैलो कार्यक्रम साह्रै राम्रो लाग्यो।’
‘गीत गाउन आए पछि यति न गाउनै पर्यो’ लगभग दुई घण्टा दर्शक नचाए पछि गायक खड्काले आफ्नो प्रस्तुतिको बिट मार्दै आयोजक ड्रिम फाउन्डेशनलाई धन्यवाद दिए।
‘नेपाली कला र संस्कृतिले तपाईँहरूलाई सम्झी रहने छ।‘ खड्काले भने।
आयोजक ड्रिम सपोर्ट फाउन्डेशनका संस्थापक प्रेम बरालले आफूहरूको लक्ष्य अनुसार नै कार्यक्रम सफल भएको बताए।
‘हो हाम्रो मुख्य उद्देश्य नै कार्यक्रममा तीन पुस्ता जोड्नु हो।‘ बरालले भने, ’ल्यानक्यास्टरमा रहेका नेपाली भाषी सबैले एकै थलोमा रमाइलो गरौँ भनेर नै हामीले पछिल्लो पाँच वर्ष देखि लगातार कार्यक्रम गरिरहेका छौ।‘
नवीन खड्का पछि नेपालबाट आएका महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिएका थिए।
बराल अब अर्को वर्ष देखि देखि मेला नै आयोजना बनाए। ‘यो पाँच वर्षको अनुभवले अब हामीलाई ल्यानक्यास्टरमा मेला नै गर्नु पर्छ भन्ने भएको छ, हामी ठाउँ खोज्दै छौ ।‘
बरालले ‘समुदायलाई विशुद्ध मनोरञ्जन नै दिनु नै आफूहरूको उद्देश्य रहेको बताए।
‘हामी जेष्ठ नागरिक सहित बालबालिका सबैलाई विचार गरेर कार्यक्रम गर्छौ। हामीले नाफा कमाउनका लागि कार्यक्रम गरेकै होइनौ ।‘ उनले भने।
फाउन्डेशनले शुरु देखि नै दर्शकका लागि निःशुल्क कार्यक्रम गर्दै आएको छ।
‘पाँच वर्ष भयो हामीले राष्ट्रिय स्तरमा चर्चित अनुहारलाई ल्यानक्यास्टर ल्याएका छौ । समुदायको ओठमा देखिने मुस्कान नै हाम्रो कमाइ हो।‘ बरालले भने।












