एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने
न्यु योर्क, अमेरिका/ एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने भएको छ। आइएमए निहोन कराते डो युएसएले गत वर्ष देखि यो च्याम्पियनसिप आयोजना गर्न शुरु गरेको हो।
‘हामी आज यो घोषणा गर्न पाउँदा हर्षित छौ। ‘एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप २०२५’ नोभेम्बर २३ तारिख आइतबार दिन आयोजना हुने छ।’ आइएमए निहोन कराते डो युएसएका संस्थापक,प्रमुख प्रशिक्षक तथा च्याम्पियनसिप निर्देशक सिहान शान्त थोकरद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
‘अमेरिकाको न्यु योर्क राज्यको क्वीन्समा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एकताबद्ध गर्न यो हाम्रो दोस्रो प्रयास हो।’ विज्ञप्तिमा थोकरले भनेका छन् ‘यो प्रिमियर मार्शल आर्ट कार्यक्रमले संयुक्त राज्य अमेरिका र विदेशबाट सबै उमेर र स्तरका कराते खेलाडीहरूलाई एकै ठाउँमा ल्याउनेछ।’
च्याम्पियनसिप क्विन्सको कोरोना स्थित नर्दर्न ब्यु वर्डमा रहेको एल्मकोर सेन्टरमा हुने छ। च्याम्पियनसिपको अघिल्लो दिन नोभेम्बर २२ तारिख शनिवार रेफ्री सेमिनार हुने जनाइएको छ।
सेमिनारमा विश्व कराते महासंघ डब्लुकेएफका रेफ्री सेड्रिक बार्क्सडेलले प्रशिक्षण दिने छन्।
‘सेमिनारले रेफ्रीको स्तर बढाउनेछ र प्रतिस्पर्धामा निष्पक्षता र व्यावसायिकता सुनिश्चित गर्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’ थोकरले भने,’च्याम्पियनसिपले उच्च स्तरको करातेको एक रोमाञ्चक दिनको प्रतिज्ञा गर्दछ।’
च्याम्पियनसिपमा कुल ६६ क्याटगोरीमा प्रतिस्पर्धा हुने छ। १०-११ वर्ष देखि १८ वर्ष माथि पुरुष महिला दुबैमा एड्भान्स काता र कुमिते डिभिजनका लागि दुई हजार अमेरिकी डलर नगद पुरस्कार राखिएको छ।
यस्तै ५ वर्ष देखि ४५+ वर्ष उमेरका लागि काता र कुमितेमा प्रतिस्पर्धा गराइने छ।
च्याम्पियनसिपमा कुल पाँच सय २८ पदक प्रदान गरिनेछ । जसमा स्वर्ण र रजत एक सय ३२ हुने छन्। यस्तै दुई सय ६४ कास्य पदक पनि प्रदान गरिने छ।
प्रतियोगिताको पूर्ण विवरण र दर्ताको लागि, यो लिङ्कबाट गर्नु पर्ने छ। https://www.tournamentinabox.com/
‘हामी न्यु योर्क शहरमा यस्तो प्रतिष्ठित कार्यक्रम आयोजना गर्न पाउँदा गर्भित छौँ, जसले अनुशासन, सम्मान र अन्तर्राष्ट्रिय मित्रता मनाउन कराते खेलाडीहरू, रेफरीहरू र परिवारहरूलाई एकसाथ ल्याउँछ।’ प्रतियोगिता निर्देशक समेत रहेका थोकरले भने ।
थोकरले अमेरिकी कराते समुदायको सहयोगमा, च्याम्पियनसिपले ओलम्पिक करातेको भावनालाई प्रतिबिम्बित गर्ने विश्वास लिएको बताएका छन्। ‘क्वीन्स र बाहिरका मार्शल आर्ट समुदायको शक्तिलाई हाइलाइट गर्दछ। दर्शकहरूलाई विश्व स्तरीय प्रतिस्पर्धा, सांस्कृतिक आदानप्रदान, र मार्शल आर्ट उत्कृष्टताको दिनमा उपस्थित हुन र हेर्न आमन्त्रित गरिएको छ।’
‘आइएमए निहोन कराते डो युएसएले समुदायका सदस्यहरू, व्यावसायिक व्यक्ति, खेलाडी, मिडिया प्रतिनिधि र व्यक्तिहरूलाई पनि आफ्नो मूल्यवान प्रायोजन र समर्थन जारी राख्न आह्वान गर्दछ, जसले गर्दा यो कार्यक्रमलाई फेरि एक पटक भव्य रूपमा सफल बनाउन मद्दत गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।
‘आइएमए निहोन कराते डो युएसए करातेको प्रवर्द्धन गर्न समर्पित एक अग्रणी मार्शल आर्ट संस्था हो। युवाहरूलाई सशक्त बनाउने र सामुदायिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यका साथ, आइएमएले अमेरिकाभरि प्रतियोगिता, सेमिनार र प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्दछ।’ विज्ञप्तिमा भनिएको छ, ‘गर्वका साथ, यो डोजो संयुक्त राज्य अमेरिकाको पहिलो नेपाली कराते स्कुल हो।’
च्याम्पियनसिपको बारेमा थप जानकारी लिन निर्देशक शान्त थोकरलाई फोन: (९१७) २१५-३६८५ | इमेल: [info@nikadojo.com] वेबसाइट: [www.nikadojo.com] मार्फत सम्पर्क गर्न अपिल गरिएको छ।
















