भर्जिनियामा डिटी फेस्ट, दर्शकको उपस्थितिमा रेकर्ड ब्रेक, महेश-अस्मिता र नितेश जङ्गको जमेर प्रस्तुति

Getting your Trinity Audio player ready...
|
भर्जिनिया/ भर्जिनियाको वान लाउडनमा शनिवार सम्पन्न दशैँ तिहार महोत्सव (डिटी फेस्ट) मा दर्शकको उपस्थितिले कीर्तिमान बनाएको छ।
ओनेष्ट रियल स्टेजको मुख्य प्रायोजनमा थ्री ई ले महोत्सवको व्यवस्थापन गरेको हो।
शनिवार दिउँसो १२ बजे देखि शुरु भएको महोत्सव राति साँढे दश बजे सम्म जारी रहेको थियो।
बालिकाहरूले अमेरिका र नेपालको राष्ट्रिय गान गाए पछि महोत्सव शुरु भएको थियो। त्यस पछि दिनभर स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए।
बालबालिकाहरूले नेपाली मौलिक पहिरनमा दिइएको प्रस्तुति रोचक बनेको थियो।

ठूलो चौरमा भएको महोत्सवमा नेपाली तथा अन्य विभिन्न परिकारका स्टलहरू राखिएका थिए। यस्तै विभिन्न व्यापारिक संस्थाहरूले पनि महोत्सवमा स्टल राखेका थिए। ममका स्टलहरू राति अबेर सम्म व्यस्त देखिन्थे।
महोत्सवमा नेपाली बियर ‘बाह्रसिङ्गे’ राखिएको स्टल पनि व्यस्त देखिएको थियो।
बालबालिकाहरूका लागि मिनी फुटबल खेलको आयोजना गरिएको थियो। यस्तै कुमारीको तस्बिर अगाडि फोटो खिचाउनेहरू पनि प्रशस्त भेटिएका थिए।
दिउँसो जति जति घाम डुब्दै जान्छ त्यति नै दर्शकको संख्या बढ्दै गएको थियो। साँझ तीर दर्शक ओइरिएका थिए।
‘तपाईँहरू आइदिएर हामीलाई सपोर्ट गर्न आइदिनु भएको छ। त्यसको लागि हृदयबाट नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। ‘टाइटल गायक नितेश जङ्ग कुँवर सहित उनको ब्यान्ड सदस्यहरूको प्रस्तुति अगाडि महोत्सव आयोजक थ्री ईका प्रमुख अञ्जना बुढाथोकीले भनिन्, ‘अनि अर्को एउटा अनाउन्समेन्ट भन्न चाहन्छु के एभ्री इयर हामीले २०२२ बाट गरेको कहिले पानीले धोका दिने, कहिले घामले धोका दिने। यो पाली चाहिँ हामीलाई एकदमै राम्रो वेदरले पनि साथ दियो। कम्युनिटीले पनि साथ दियो।‘
बुढाथोकीका अनुसार यस पटकको महोत्सवमा कुल आठ हजार पाँच सय उपस्थित भएका थिए। यो अघिल्लो वर्ष भन्दा २५ सयले बढी हो।
महोत्सवको मुख्य प्रायोजक ओनेष्ट रियल्ट स्टेटका प्रमुख सुरेश सापकोटाका अनुसार अघिल्लो वर्षको महोत्सव ६ हजारले अवलोकन गरेका थिए।
दर्शकले खचाखच चौरको अगाडि बनाइएको भव्य मञ्चबाट महेश काफ्ले र अस्मिता अधिकारीले प्रस्तुति दिएका थिए।
संयुक्त गायनबाट प्रस्तुति शुरु गरेका उनीहरुले बीचमा एक्लै एक्लै पनि गाएका थिए।
यसै गरी नितेश जङ्ग कुँवर र उनको ब्यान्डको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन दिएको थियो।
महोत्सवको अन्तमा ह्यारिसबर्ग निवासी इथोस ब्यान्डका गायक सचित केसी र सञ्जय चौधरीले प्रस्तुति दिएका थिए। उनीहरू झन्डै दश वर्ष पछि सार्वजनिक कार्यक्रममा गायनमा फर्किएका हुन्।