वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा शनिवार ऐतिहासिक जित हात पारेको छ। युएईको शारजाहमा नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक जित निकालेको हो।
नेपालले टेष्ट खेल्ने राष्ट्रलाई हराएको यो पहिलो अवसर हो। वेष्ट इन्डिज दुई पटकको विश्व च्याम्पियन पनि हो।
वेस्ट इन्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपाल १९ रनले विजयी भयो। नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा एक २९ रनमा रोकियो
वेस्ट इन्डिजका लागि ओपनिङ ब्याटर आमिर जन्गुले १९ रन जोडे भने अर्का ओपनर काइल मेयर्सलाई ५ रनमा कुशल भुर्तेलले रन आउट गरेका थिए। त्यसपछि ज्वेल एन्ड्रयू ५ रन र अकेम अगस्टे १५ रनमा आउट भए। नवीन बिदैसीले २२ रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिलो व्याटिङ्गको निम्तो पाएको नेपालले ८ विकेटको क्षतिमा एक ४८ रन बनाएको थियो।
नेपालका ओपनर द्वय कुशल भुर्तेल ६ रन र आसिफ शेख ३ रनमै आउट भए। त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे।
कुशलले २१ बल खेलेर समान २ चौका र २ छक्काको मद्दतमा ३० रन बनाए। रोहितले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए।
गुल्सन झा १६ बल खेलेर २ छक्का प्रहार गर्दै २२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रन जोड्न सके।
बलिङमा वेस्ट इन्डिजका होल्डरले १९औँ ओभरमा ३ विकेटसहित कुल ४ विकेट हात पारे। उनले चार ओभरमा २० रन मात्र दिए। डेब्यू खेलाडी नवीन बिदैसीले ३ विकेट लिए।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ।
सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।
ओमानमा तीन समूह नौ टोलीबिच प्रतिस्पर्धा हुनेछ। अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।
तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।
फोटो: नेपाल क्रिकेट संघ क्यान
















