एनआरएनएको टोलीको प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग भेट, पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

Getting your Trinity Audio player ready...
|
काठमाडौँ / गैर आवासीय नेपाली संघ (एनआरएनए) को टोलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात तथा मन्त्रीसन्त्री कुलमान घिसिङसँग संयुक्तरुपमा भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा एनआरएनएको टोलीले अन्तरिम सरकारलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै विभिन्न विषय समेटिएको ज्ञापन पत्र पनि बुझाएको हो ।
छलफलमा सर्वोच्च अदालतको परमादेश अनुसार आयोजित एकता महाधिवेशनबाट निर्वाचित एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले अहिले संघले हालै प्रदर्शनका क्रममा क्षतिग्रस्त ट्राफिक प्रहरीको कन्ट्रोल रुम पुनर्निर्माणमा काम गरिरहेको र थप अरू के गर्ने भन्ने विषयमा छलफल भई रहेको जानकारी दिएका थिए ।
उक्त भेटमा प्रधानमन्त्री कार्कीले देश विकासमा एनआरएनहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अहिलेको कठिन परिस्थितिमा नेपालको पुनर्निर्माण मा सघाउन संसार भरिका नेपालीहरू लाई आग्रह गरिन्। उनले नेपाल सरकार सङ्घसँग सहकार्य गर्न तत्पर रहेको पनि बताइन्।
यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत भदौ २३–२४ मा जेन जीद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनाहरू ध्वस्त भएको बताउँदै अहिले तत्काल सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने मेसिन आवश्यक रहेको र त्यसका लागि सहयोग गर्न एनआरएनलाई आग्रह गरेका थिए । अध्यक्ष श्रेष्ठले यस विषयमा कार्यसमितिको आगामी बैठकबाट निर्णय गर्ने बताएका थिए ।
छलफलमा एनआरएनका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले सरकारलाई आवश्यक पर्ने कुनै प्रोजेक्ट भए आफू नेतृत्वको एमआईटी फाउन्डेसन सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
एनआरएनका पूर्व अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आग्रह गर्दै सामाजिक सुरक्षा कोषको रकम देश विकासमा परिचालन गर्न आग्रह गरे। उनले संसार भरिका एनआरएनहरू नेपालमा हालै भएको धनजनको क्षतिबाट दुखी भएको जनाउँदै पुनर्निर्माणमा हातेमालो गर्न तत्पर रहेको बताएका थिए।
त्यसै गरी, एनआरएन कै पूर्व अध्यक्ष आरके शर्माले गैर आवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा कोष र रेमिटेन्सलाई बचतमा रूपान्तरण गर्ने सामूहिक लगानीका विषयहरू उठाएका थिए । उनले श्रमिक नेपालीहरूको समस्या सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह पनि गरे ।
उक्त भेटघाटमा एनआरएन अगुवाहरूले नेपालमा निजी क्षेत्र लगायत एनआरएनहरूको निजी सम्पत्ति तथा लगानीको सुरक्षा प्रत्याभूति गर्न पनि आग्रह गरेका थिए।
भेटघाटमा एनआरएनए उच्चस्तरीय समितिका सदस्य सचिव द्वय रबिना थापा तथा जानकी गुरुङ, श्रीमती जमुना घले, युएनडीओका अध्यक्ष सोनाम लामा लगायत सहभागी थिए ।