एनआरएन टोलीद्वारा बग्गीखानाको अनुगमन, पुन निर्माणमा सघाउने

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) अध्यक्ष महेशकुमार श्रेष्ठले सुरक्षा निकायसँग समन्वय गरेर पुनर्निर्माण सघाउने बताएका छन् ।
गत भदौ २३–२४ को जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको काठमाडौँ उपत्यकाको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण कार्यको अनुगमन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
बग्गीखानास्थित ट्राफिक प्रमुख एसपी नवराज अधिकारीसँगको भेटमा अध्यक्ष श्रेष्ठले जनजीवन सामान्य बनाउन र समाजलाई लयमा फर्काउन सडक सुरक्षा अत्यन्तै महत्त्वपूर्ण भएकाले आफूहरूले पुनर्निर्माणमा सघाउन लागेको बताए ।
सो अवसरमा एसपी अधिकारीले एनआरएनएले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । अहिले कार्यालयको सेवा टेन्टबाट भइरहेको र ट्राफिक कन्ट्रोल रुम सञ्चालनमा आएपछि धेरै सहज हुने उनले बताए ।
एनआरएनए उपाध्यक्ष एवं डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक मनोज श्रेष्ठ ‘गोर्खाली’ ले अहिले फाउन्डेसनको काम भइरहेको बताउँदै उपकरणहरू चाँडै जडान हुने बताए । यसै गरी सहसंयोजक एवं महिला उपाध्यक्ष रश्मि थापाले कामदारको सङ्ख्या बढाएर भए पनि दसैँको टिका अगाडि काम सक्ने तयारी रहेको जानकारी दिइन् ।
प्रदर्शनका क्रममा ट्राफिक कन्ट्रोल रुमको सबै संरचना जलेर ध्वस्त भएको छ । उक्त संरचना तयार पार्नका लागि कम्तीमा रु ८० लाख लाग्ने अनुमान गरिएको छ । एनआरएनएले कम्प्युटर, टिभी, फर्निचर, रेडियो सेट लगायतका उपकरण प्रदान गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यस्तै, एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले नेपाल सरकारले प्रवासमा बस्ने नेपालीहरूसँग सहकार्य गरेर पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए ।
यसै गरी, मङ्गलवार नै अध्यक्ष श्रेष्ठले रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआइजी दानबहादुर कार्कीसँग पनि छलफल गरेका छन् । एआइजी कार्कीले पनि प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू सहयोग गर्न लागेकोमा धन्यवाद दिए । सो अवसरमा एनआरएनए अभियन्ता जानकी गुरुङ, युवा संयोजक भीमसेन थापा, सदस्य सचिव धर्मराज गिरी, सदस्यहरू प्रदीप खनाल, नीराजन खत्री लगायतको सहभागिता रहेको थियो