पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा बनाइयो दशैँ घर, राखियो जमरा, शनिवार विषेश पूजा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ घटस्थापनाको दिन सोमबार पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा दशैँघर स्थापना गरी जमरा राखिएको छ।
वैदिक सनातन कीर्तन समाज ल्यानक्यास्टरले फ्रुटफिल पाइकमा दशैँ घर बनाइ जमरा राखिएको हो।
गुरु पण्डितहरू आचार्य हेम धिताल, डेगनाथ तिमिल्सिना, डिल्ली तिमिल्सिना नन्दलाल नेपाल लगायतले विधिपूर्वक दशैँघर स्थापना गरी जमरा राखेका थिए।
समाजले सेप्टम्वर २७ शनिवार बिहान नौ बजे देखि दिनभर सामूहिक रुपमा दुर्गा पूजा गर्ने जनाएको छ।
यस्तै सेप्टेम्बर ३० तारिख मंगलवार जमरा वितरण गरिने जनाइएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि हिन्दुहरूको महान् पर्व बडादशैँ शुरु हुन्छ।
बडा दशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । घटस्थापना बडादशैँको पहिलो दिन हो।

बडा दशैँको पहिलो दिन मठमन्दिर तथा घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ ।

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
















