युबीएससीद्वारा कालुसिंह स्मृति च्याम्पियनसिपको उपाधि रक्षा

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ युनाइटेड ब्रदर्श स्पोटिङ्ग क्लब (युबीएससी) ले कालुसिंह स्मृति च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आइतबार साँझ भएको फाइनलमा ह्यारिसबर्ग एफसीलाई १-० गोलले हराउँदै युबीएससीले लगातार दोस्रो पटक उपाधि जितेको हो।
युबीएससीले गत वर्ष आठौँ संस्करणको उपाधि पनि जितेको थियो। त्यो बेला युबीएससीले पिट्सबर्ग भेट्रान्सलाई हराएर उपाधि यात्रा शुरु गरेको हो।
भुटानी राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी कालु सिंह तामाङको स्मृतिमा सन् २०१७ मा नर्थ क्यारोलिनाबाट यो च्याम्पियनसिप आयोजना शुरु भएको हो । दोस्रो संस्करण सन् २०१८ मा ओहायोको एक्रोनमा भएकोमा त्यस पछिका सात संस्करण भने ह्यारिसबर्गले आयोजना गर्दै आएको छ।
शुरुमा कालु सिंहका परिवार र साथीभाइले व्यक्तिगत रुपमा च्याम्पियनसिप आयोजना गर्दै आइएकोमा गत वर्ष देखि एशियन रिफ्युजी युनाइटेड (एआरयु) अन्तर्गत रत्न गुरुङको अध्यक्षतामा आयोजक कमिटी गठन गरी च्याम्पियनसिपलाई संस्थागत गरिएको हो।
भेट्रान्स खेलाडीले खेल्ने च्याम्पियनसिपबाट संकलिन रकम एआरयुको महत्त्वाकाङ्क्षी परियोजना ‘सकर फर सक्सेस’ का लागि खर्च गरिने जनाइएको छ।
सकर फर सक्सेस बालबालिकाहरूलाई फुटबल प्रशिक्षण दिने परियोजना हो। भविष्यका राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित बालबालिकाहरूलाई प्रशिक्षण दिइँदै आइएको छ।
आयोजक समितिले लगातार तीन पटक च्याम्पियनसिप जित्ने टिमलाई भीमकाय रनिङ्ग ट्रफी घर लैजान पाउने व्यवस्था गरेको छ।
युबीएससीलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउने क्रममा फाइनलमा सुरज गुरुङको गोल निर्णायक बन्यो । ह्यारिसबर्ग डाउन टाउन स्थित क्यापिटल हिलको ठिक अगाडि सस्क्वाह्ना नदीको आइल्याण्डमा अवस्थित स्काईलाइन स्पोर्ट्स कम्प्लेक्सको मैदानमा भएको च्याम्पियनसिपको फाइनलमा पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएको थियो। त्यसो त समूह चरणको खेलमा पनि यी दुई टिमले गोल रहित बराबरी खेलेका थिए।
फाइनलमा दोस्रो हाफको शुरुमा नै सोनाम लामाले गोल गरे। जुन गोल नै न्यु योर्क र मिनिसोटाका खेलाडी सम्मिलित युबीएससीलाई उपाधि दिलाउन निर्णायक बन्यो।
त्यस अगाडि आइतबार दिउसो भएको सेमिफाइनलमा युबीएससीले गत वर्षको उप विजेता कोलम्बस भेट्रान्सलाई १-० गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो। सो खेलमा सुरज गुरुङले गोल गरेका थिए।
यस्तै ह्यारिसबर्ग एफसीले सिनसी राइनोलाई एक शून्य गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको थियो।
दुई दिने च्याम्पियनसिपमा आठ टिमले भाग लिएका थिए। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइएको थियो।
हरेक टिममा ४० वर्ष भन्दा माथि उमेरका खेलाडीले मात्र भाग लिन पाउने व्यवस्था गरिएको थियो। फाइनल खेल्ने टिमले दुई दिनमा पाँच खेल खेलेका थिए। हरेक खेल २५-२५ मिनेट खेलाइएको थियो।
समूह चरणमा युबीएससीले मिडलाइफ किकर्सलाई ८-० गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा ह्यारिसबर्ग एफसी सँग गोल रहित र तेस्रो खेलमा एफसी रिभाइबल सँग एक एक गोलको बराबरी खेलेको थियो।
ह्यारिसबर्ग एफसीले समूह चरणमा एफसी रिभाइबललाई १-०, र मिडलाइफ किकर्सलाई ९-१ गोल अन्तरले हराएको थियो।
प्रतिगोयताको विजेता युवीएससीले पाँच हजार अमेरिकी डलर नगद र ट्रफि तथा हरेक खेलाडीले मेडल पाए।
यस्तै उप विजेता भएको ह्यारिसबर्ग एफसीले तीन हजार डलर नगद, ट्रफि तथा हरेक खेलाडीले मेडल पाए ।
फाइनल खेलको म्यान अफ दी म्याच युबीएससीका स्ट्राइकर सोनाम तामाङ घोषित भए। सोनामले सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते। सोनामले पाँच खेलमा पाँच गोल गरेका थिए। उनले मिडलाइफ किकर्स विरुद्ध चार गोल गरेका थिए।
एफसी रिभाइबलका डिफेन्डर सुभाष गुरुङले वेस्ट डिफेन्डरको उपाधि पाए। वेस्ट गोलकिपरको उपाधि कोलम्बस भेट्रान्सका ओम गौतमले पाए।
च्याम्पियनसिपमा मस्टभ्यालुएवल अवार्ड पिट्सबर्ग भेट्रान्सका कमल सुब्बाले पाए। यस्तै म्यानेजर अफ टुर्नामेन्ट अवार्ड मिडलाइफ किकर्सका लालमान गुरुङले पाए।
विजेता तथा उप विजेता खेलाडीलाई सामाजिक अभियन्ता एवं चिकित्सक डा. खेम अधिकारी. साहित्यकार डा. नारद पोखरेल, नारणयण पोखरेल, भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) की उपाध्यक्ष विनिता पुरी राई लगायतले पुरस्कार वितरण गरेका थिए।
ट्रफि ग्रहण पछि युबीएससीका कप्तान दिनेश पकुवालले अब अर्को वर्ष पनि उपाधि जित्ने गरी आफूहरूले तयारी गर्ने बताए।
समापन समारोहको अन्त गर्दै आयोजक समितिका अध्यक्ष रत्न गुरुङले च्याम्पियनसिप सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
आयोजक समितिका सदस्य सचिव विनय लुइँटेलले समापन समारोह सञ्चालन गरेका थिए।
र यो पनि…
कोलम्बस भेट्रान्स एफसी कालु सिंह स्मृति फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा