कांग्रेस केन्द्रीय कार्यालय आगजनीबाट १० करोड बराबरको क्षति

Getting your Trinity Audio player ready...
|
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड हुँदा करिब १० करोड बराबरको क्षति भएको छ ।
नेपाली कांग्रेसका सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले क्षतिको प्रारम्भिक विवरणको जानकारी दिँदै केन्द्रीय कार्यालयमा आगजनी र तोडफोडले संरचनाहरू ध्वस्त अवस्थामा रहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आतङ्ककारीहरूले जलाएर ध्वस्त पारिएको छ । कुनै पनि सामान बचेको छैन । करिब रु १० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।’
उनले प्रस्तुत गरेको क्षति विवरण अनुसार सभापति शेर बहादुर देउवा र केन्द्रिय सदस्य डा.आरजु राणा देउवाको निवास बुढानीलकण्ठमा रहेको घरमा आगजनी, तोडफोड, लुटपाट गरी घरमा रहेका सभापति देउवा र आरजु राणाप्रति अमानवीय बर्बरतापूर्ण साङ्घातिक भौतिक आक्रमण भएको थियो । आरजु राणा देउवाको नाममा रहेको कैलाली जिल्ला धनगढी उपमहानगरपालिकास्थित घरमा समेत आगजनी तोडफोड गरी भवन रहेको स्थानको जमिन बाहेक केही पनि बाँकी नरहेको अवस्था छ ।
नेपाली कांग्रेसका केन्द्रिय पदाधिकारी सदस्यहरूको व्यक्तिगत घर तथा सम्पत्तिको क्षति विवरण अनुसार उपसभापति पूर्ण बहादुर खड्काको काठमाडौँमा रहेको घर तोडफोड गरी सामाग्री बाहिर निकाली आगजनी, लुटपाट गरी सिसा तथा फर्निचरहरू जलाएर ध्वस्त पारिएको छ । सुर्खेतस्थित खड्का निवासमा आगजनी र तोडफोड गरी ध्वस्त गरिएको छ ।
पार्टीका महामन्त्री गगन कुमार थापाको काठमाडौँको रातोपूलमा रहेको घर आगजनी, तोडफोड, लुटपाट गरी पूर्णरुपमा ध्वस्त रहेको, एउटा गाडी र तीन वटा मोटरसाइकल पूर्णरुपमा आगजनी गरी ध्वस्त रहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
विश्वप्रकाश शर्माको ललितपुरमा रहेको भाडाको घरमा तोडफोड गरी फर्निचर लगायत सबै सामाग्रीहरू बाहिर निकालेर जलाएको, घरमा सिसाहरू तोडफोड गरिएको छ । झापास्थित मेचीनगर नगरपालिकामा परिवार रहेको घरमा आगजनी, तोडफोड र लुटपाट गरी सम्पूर्ण सामाग्री पूर्णरुपमा ध्वस्त पारिएको विश्वकर्माले बताए ।