केपी ओली निकट एनआरएनए बद्री समूहले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भेट्यो

Getting your Trinity Audio player ready...
|
काठमाडौं/ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) डा. बद्री केसी समूहले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेको छ।
एनआरएनएमा तत्कालिन प्रधानमन्त्री ओलीको समर्थनमा डा. केसी समूह र परराष्ट्र मन्त्री डा. आरजु राणाको समर्थनमा महेश श्रेष्ठ गरी दुई समूहले आधिकारिता दाबी गर्दै आएका छन्। एनआरएनएको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण इजलासमा मुद्दा विचाराधीन छ।
यसै बीचमा डा बद्री केसीले प्रधानमन्त्री सुशीला कार्की सँग आइतबार भेट गरेका हुन्।
‘गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको छ ।’ केसी समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
भेटका अवसरमा विश्वभरिका गैर आवासीय नेपालीहरू नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमको सहयोगका लागि प्रतिबद्ध रहेको जानकारी डा. केसीले गराएको जनाइएको छ।
सो क्रममा डा केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपूरणीय क्षतिप्रति दुख व्यक्त गर्दै पुनः निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताएका थिए।
‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरूले मातृभूमिलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । उनीहरूको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढङ्गले प्रयोग गर्न सकिने व्यवस्था मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ ।’ डा. केसीले भने।
जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि विदेशमा रहेका गैर आवासीय नेपालीहरूलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘पुनर्निर्माणको लागि नेपाली र गैर आवासीय नेपालीहरूसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उहाँले स्पष्ट पार्नुभयो ।’ विज्ञप्तिमा भनिएको छ,’उहाँले मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आग्रह गर्नुभयो ।’
भेटमा डा केसीले ‘एक पटकको नेपाली सदैव नेपाली’ भन्ने मूल उद्देश्य अनुरूप संविधान संशोधनमार्फत गैर आवासीय नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरता सहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गरेको जनाइएको छ।
यस्तै अब हुने ऐतिहासिक निर्वाचनमा विदेशमा रहेका नेपालीहरूका लागि मताधिकार सुनिश्चित गर्न समेत केसीले अनुरोध गरेको जनाइएको छ। सो भेटमा केसीले गैर आवासीय नेपाली संघको १२ औँ महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारी समेत गराएको जनाइएको छ।
प्रधानमन्त्री कार्कीले संघले मताधिकार लगायत अन्य मागलाई सकारात्मक रुपमा लिएको तथा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई विदेशबाट नै मतदान गर्ने व्यवस्था मिलाइने जानकारी दिएको जनाइएको छ।