कोलम्बस भेट्रान्स एफसी कालु सिंह स्मृति फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ कोलम्बस भेट्रान्स एफसी कालु सिंह स्मृति फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गको स्काइलाइन स्पोर्टस कम्प्लेक्स शनिवार भएका समूहका दुई खेलमा जित्दै अन्तिम खेल खेल्नु अगाडि नै कोलम्बस भेट्रान्सले समूह बी बाट अन्तिम चारमा स्थान बनाएको हो।
भुटानी राष्ट्रिय टिमका खेलाडी स्वर्गीय कालुसिंह तामाङको स्मृतिमा आयोजित प्रतियोगिताको शनिवारको पहिलो खेलमा कोलम्बस भेट्रान्स एफसीले पिट्सबर्ग भेट्रान्स एफसीलाई २ – १ गोलले हरायो।
कोलम्बसका लागि श्यामु सुवेदी र लक्ष्मी संग्रौलाले एक एक गोल गरेका थिए। पिट्सबर्ग भेट्रान्स एफसीका रोनी पौडेलले एक गोल फर्काए पनि टिमलाई जिताउन सकेनन्।
अर्को खेलमा कोलम्बस भेट्रान्सले सिनसीनाटीलाई पनि २-१ गोल अन्तरमा हरायो। कोलम्बस भेट्रान्सका लागि दुवै गोल मनिष संग्रौलाले गरे। सिनसिनाटीका लागि करन पौडेलले एक गोल गरेका थिए।
लिगको अन्तिम खेलमा अब कोलम्बसले आइतबार युनाइटेड भेट्रान्स एफ सी सँग खेल्ने छ। युनाइटेड भेट्रान्सले शनिवारको दुवै खेलमा हार बेहोरेको छ। युनाइटेडलाई शनिवार पीट्सबर्ग र सिनसिनाटीले हराएका हुन्।
आइतबार हुने पीट्सबर्ग भेट्रान्स एफसी र सिनसिनाटी राइनो बीचको खेलले समूह बीबाट सेमिफाइनलमा पुग्ने दोस्रो टिमको टुङ्गो लाग्ने छ। यी दुवै टिमको समान तीन तीन अंक छ।
सिनसिनाटी राइनोले युनाइटेड भेट्रान्स एफसीलाई ३-१ गोलले हराउँदै तीन अंक बनाएको छ। सिनसिनाटीका लागि रियो चुह्वान, डिल्ली आचार्य र करन पौडेलले एक एक गोल गरेका थिए। युनाइटेट भेट्रान्सका लागि एक गोल चंकु गुरुङले गरेका थिए।
यस्तै पिट्सबर्ग भेट्रान्सले युनाइडेट भेट्रान्स ५-१ गोल अन्तरले हरायो। पिट्सबर्गका लागि कमल सुब्बाले ह्याट्रिक गरेका थिए। यस्तै विकास राई र शान्त सुब्बा एक एक गोल गरे। युनाइटेडका लागि सिमोन राईले एक गोल फर्काएका थिए।
समूह ए मा भने सेमिफाइनल समीकरण रोचक बनेको छ। साबिकको विजेता युबीएससी र ह्यारिसबर्ग एफसीले आपसमा गोल रहित बराबरी खेले पनि अन्य एक एक खेल जित्दै समान चार चार अंक बनाएका छन्।
एफसी रिभाइबलले पनि तीन अंक जोडेर सम्भावना जीवितै राखेको छ।
ह्यारिसबर्ग एफसीले आइतबार मिडलाइफ किकर्स सँग खेल्ने छ। यस्तै उपाधिको रक्षा गर्ने यात्रा कायममै राख्न युबीएससीले एफसी रिभाइबलको चुनौती पन्छाउनु पर्ने छ।
च्याम्पियनसिपको उद्घाटन खेलमा ह्यारिसबर्ग एफसीले एफसी रिभाइबललाई १-० ले हरायो। ह्यारिसबर्गको जितका लागि सोनु सुवेदीले निर्णायक गोल गरेका थिए।
यस्तै साबिक विजेता युबीएससीले मिडलाइफ किकर्सलाई ८-० गोल अन्तरले हरायो। उपाधि रक्षा गर्ने लक्ष्य सहित पेन्सिल्भेनिया आएको युबीइससीको जितमा दुई खेलाडीले ह्याट्रिक गरे। सोनाम लामाले चार तथा कप्तान किरण थापाले तीन गोल गरेका थिए। यस्तै चरण भट्टराइले पनि एक गोल गरेका थिए।
यस अगाडि पेन्सिल्भेनिया राज्य सिनेटर प्याटी किमले च्याम्पियनसिपको उद्घाटन गरेकी थिइन।
उद्घाटन समारोहमा पेन्सिल्भेनिया राज्य प्रतिनिधि सभा सदस्य डेभिड म्याडसन र नेट डेभिटशन उपस्थित रहेका थिए। यस्तै स्वातारा टाउनसिपका आयुक्त टोम कनली, सस्क्वाहाना टाउनसिपका आयुक्त फ्रेड फेलोना, स्वाताराटाउनसिप प्रहरी विभाग प्रमुख थमस स्टाफर, सामाजिक अभियन्ता डा. खेम अधिकारी र भुट्नीज कम्युनी इन ह्यारिसबर्ग (बीसीएच) की उपाध्यक्ष विनिता पुरी राई लगायत उपस्थित थिए।
एसियन रिफ्युजी युनाइटेड (एआरयु) अन्तर्गत प्रतियोगिता आयोजक समितिद्वारा आयोजित च्याम्पियनसिपको विजेताले पाँच हजार अमेरिकी डलर नगद, ट्रफी र पदक पाउने छन्। यस्तै उप विजेताले तीन हजार अमेरिकी डलर नगद ट्रफी र पदक पाउने छन्।
रनिङ ट्रफी भने लगातार तीन पटकको विजेताले पाउने छ।
शनिवारको खेल पछि अंक तालिका
समुह ए
| टिम | खेल | जीत | बराबर | हार | गोल गरेको | गोल खाएको | अंक |
|---|---|---|---|---|---|---|---|
| युबीएससी | २ | १ | १ | – | ८ | ० | ४ |
| ह्यारिसबर्ग एफसी | २ | १ | १ | – | १ | – | ४ |
| एफसी रिभाइबल | २ | १ | – | १ | ४ | १ | ३ |
| मिड्लाइफ किकर्स | २ | – | – | २ | ० | १२ | ० |
सुमह बी
| टिम | खेल | जीत | बराबर | हार | गोल गरेको | गोल खाएको | अंक |
|---|---|---|---|---|---|---|---|
| कोलम्बस भेट्रान्स एफसी | २ | २ | – | – | ४ | २ | ६ |
| पीट्सबर्ग भेट्रान्स एफसी | २ | १ | – | १ | ६ | ३ | ३ |
| सिनसिनाटी राइनो | २ | १ | – | १ | ४ | ३ | ३ |
| युनाइटेड भेट्रान्स | २ | – | – | २ | २ | ८ | ० |
















