सिंहदरबारको गृह मन्त्रालय पूर्ण रूपमा ध्वस्त : संरचना, सम्पत्ति र अभिलेख खरानी
|
Getting your Trinity Audio player ready...
|
आकांक्षा धामी /
काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अहिले खरानी र भग्नावशेषले भरिएको छ । भदौ २३ गते जेनजी आन्दोलन चर्किएसँगै प्रदर्शनकारीले सिंहदरबारभित्र प्रवेश गरी गृह मन्त्रालयलगायतका कार्यालयमा आगजनी गरेपछि परिस्थिति पूर्ण रूपमा बदलिएको छ ।
आइतबार गरिएको स्थलगत रिर्पोटिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालय पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेका छन् ।
भित्रको दृश्य : खरानी, चिसिएको धुवाँ र मौनता
नेपाल न्यूज बैंकको टोली बिहानै सिंहदरबार प्रवेश गर्दा सबैभन्दा पहिले देखिएको दृश्य थियो—धुवाँले कालो परेको पर्खाल, भत्किएको छत, जलेका फाइल र कुर्सीहरूको अवशेष । कुनैबेला कागजात र निर्णयहरूले भरिने फाइल मन्त्रिपरिषद्को कार्यालय अब रित्तो छन्, कुनै जलिसकेका, कतै अलपत्र अवस्थामा ।
गृह मन्त्रालयको मूल प्रवेशद्वार पूर्ण रूपमा भत्किएको छ । भित्र छिर्दा प्राङ्गणभरि जलेका कम्प्युटरका भागहरू, जलिसकेका कुर्सी, र फाइलहरू देखिन्थे ।
सबै संरचना ध्वस्त छन्, पुनःस्थापना लामो प्रक्रिया हो
स्थलगत रिर्पोटिङकै क्रममा नेपाल न्यूज बैंकसँग कुरा गर्दै गृह मन्त्रालयका उपसचिव शेखर पौडेलले घटनाले मन्त्रालयको कामकाजलाई गम्भीर असर पारेको जानकारी दिए । उनका अनुसार हाल गृह मन्त्रालय सञ्चालनयोग्य अवस्थामा छैन र पूर्ण पुनःस्थापनाका लागि लामो समय लाग्ने देखिएको छ ।
उपसचिव पौडेलले भने, ‘गृह मन्त्रालय चल्ने भन्दा पनि पहिलो कुरा त सम्पूर्ण संरचनाहरू आगजनी र तोडफोडबाट ध्वस्त भएको अवस्था छ ।’ उनका अनुसार मन्त्रालयमा रहेका फाइल, अभिलेख, सवारीसाधन, कम्प्युटर, ल्यापटपलगायतका सबै भौतिक सम्पत्ति नष्ट भएका छन् ।
‘कतिपय अभिलेखहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने कयौँ हराएका छन्,’ उनले थपे, ‘यस्तो अवस्थामा मन्त्रालयले कार्यसम्पादन अघि बढाउनु निकै चुनौतीपूर्ण छ । तर पनि यो शोक र विपत्तिको घडीमा एकीकृत प्रयासमार्फत पुनः निर्माण र सेवा पुनः सञ्चालनको दिशा तय गर्न हामी प्रतिबद्ध छौँ ।’
हाल गृह मन्त्रालयका अधिकारी र कर्मचारीहरू नयाँ कार्यस्थलको खोजीमा रहेका छन् । सिंहदरबारभित्रै अस्थायी स्थानमा मन्त्रालय सञ्चालन गर्न पहल भइरहेको पौडेलले जानकारी दिए । उनले भने, ‘हामी तत्काल उपयुक्त स्थान खोजेर सेवा सुरु गर्ने प्रयासमा छौँ । तर साबिकको अवस्थामा फर्कन भने नीति निर्माणदेखि योजना निर्माणसम्मका विस्तृत काम आवश्यक हुन्छ ।’
हाल नागरिक सेवामध्ये धेरैजसो सेवा स्थानीय तह र जिल्ला कार्यालयहरूमार्फत प्रदान हुँदै आएका कारण प्रत्यक्ष प्रभाव न्यून हुने उपसचिव पौडेलको भनाइ छ । यद्यपि, दीर्घकालीन महत्वका नीति, कानुन र अभिलेखमा भएको क्षति गम्भीर रहेको उनको भनाइ छ ।
‘अब हामीले डिजिटल अभिलेखहरू पुनरावलोकन गर्ने, जलेका अभिलेखहरूको पुनर्निर्माण गर्ने र नयाँ संरचना बनाउने कार्यलाई प्राथमिकतामा राख्नेछौँ,’ पौडेलले भने।
सरकारको पुनः निर्माणसँग सम्बन्धित नीति र योजनाअनुसार मात्र स्थायी समाधान सम्भव हुने भएकाले गृह मन्त्रालयको पूर्ण पुनःस्थापना दीर्घकालीन प्रक्रिया हुने देखिएको छ ।
उनका अनुसार मन्त्रालयको भौतिक संरचना मात्र नभई—महत्त्वपूर्ण अभिलेख, सवारीसाधन, कम्प्युटर, ल्यापटप सबै जलेर नष्ट भएका छन् । कतिपय अभिलेखहरू हराएका छन् भने कति पूर्ण रूपमा जलिसकेका छन् ।
‘हामी तत्कालका लागि बाँकी अभिलेखहरू एकत्रित गर्दैछौं । कर्मचारीको सुरक्षित बसोबास मिलाउने र सेवा क्रमिक रूपमा पुनः सञ्चालन गर्ने प्रयासमा छौँ,’ पौडेलले भने ।
स्वास्थ्य मन्त्रालयमा पनि शतप्रतिशत क्षति
गृह मन्त्रालयसँगै सिंहदरबारबाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि शतप्रतिशत क्षति भएको पुष्टि गरिएको छ । कार्यालयका संरचना पूर्ण रूपमा जलेका छन् ।
कुन मन्त्रालय कत्तिको प्रभावित ?
घटनामा सबै मन्त्रालय समान रूपमा प्रभावित छैनन् । सञ्चार तथा सूचना प्रविधि, कानुन, भौतिक पूर्वाधार, खानेपानी, परराष्ट्र, अर्थ, सहरी विकास, खेलकुद जस्ता मन्त्रालयहरूमा खासै क्षति देखिएन । सामान्य प्रशासन, कृषि, शिक्षा मन्त्रालयहरूमा आंशिक क्षति भएको छ ।
सिंहदरबारको यो दृश्य केवल भौतिक क्षतिको प्रतीक होइन, यो नेपालको सरकारी प्रशासनिक संयन्त्रको सङ्कटको प्रत्यक्ष चित्र हो । आगजनीको पीडाबाट गुज्रिरहेका कर्मचारीहरू पुनः निर्माणको बाटोमा उभिएका छन् । जहाँ समय, नीतिगत निर्णय र दृढ सङ्कल्पले मात्र अगाडि बढ्न सकिन्छ ।
नेपाल न्यूज बैंक












