अमेरिका र चीनले पनि दिए नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिका र चीनले नेपालमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।
जेन जी समूहको आन्दोलन पछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रवार नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए।
‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनुभएको छ। गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपूर्ण समाधानको हामी स्वागत गर्दछौँ।’ आइतबार काठमाठौै स्थित अमेरिकी दूतावासको विज्ञप्तिमा भनिएको छ।
‘हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौँ, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौँ।’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ।’
अमेरिकाले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेको छ।
चीनले दियो नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।
शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् । उनले चीन–नेपालबिच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताएका छन् ।
उनले भने‘ कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ । चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ । चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्धन गर्न तयार छ । विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ ।’
यस अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिइसकेका छन्।












