दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिप : सिपिङ्गबर्ग टिम च्याम्पियन
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियामा शनिवार सम्पन्न दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो सिपिङ्गबर्ग टिम च्याम्पियन भएको छ।
ह्यारिसबर्ग नजिक पालमरामा भएको एक दिने च्याम्पियनसिपमा हिमालयन तेक्वान्दोले ३१ पदक सहित टिम च्याम्पियन बनेको हो।
च्याम्पियनसिप आयोजक हिमालयन तेक्वान्दो ह्यारिसबर्गका संचालक तथा मुख्य प्रशिक्षक नकुल शर्माले खेलाडीको सहभागिता र जितेको कुल पदकको आधारमा टिम च्याम्पियन घोषणा गरिएको जानकारी दिए।
‘पदकका हिसाबले हामी आयोजक स्कुल नै अगाडि छौ तर आयोजक बाहेक मध्येबाट टिम च्याम्पियनसिप घोषणा गर्ने परम्परा रहेकाले सिपिङ्गबर्ग छनौटमा परेको हो।’ समाज टाइम्स सँग शर्माले भने।
हिमालयन तेक्वान्दो सिपिङ्गबर्गले ११ स्वर्ण १४ रजत र ६ कास्य गरी २१ पदक जितेको थियो।
विभिन्न राज्यका १६ स्कुलका तीन सय पचास भन्दा बढी खेलाडीले भाग लिएको च्याम्पियनसिपमा आयोजक हिमालयन तेक्वान्दो ह्यारिसबर्गले एक सय २७ पदक घरमै राख्यो। उसले ५१ स्वर्ण, ४३ रजत र ३३ कास्य जितेको थियो।
यस्तै भर्जिनियाको अमेरिकन तेक्वान्दो डो मार्शल आर्ट एकेडेमीले २९ पदक जितेको थियो। अमेरिकन तेक्वान्दोले २० स्वर्ण, ६ रजत र ३ कास्य पदक जितेको थियो।
यस्तै कि स्टोन तेक्वान्दो इयोलाले सात स्वर्ण, चार रजत र तीन कास्य सहित १४ पदक जित्यो।
















