इन्स्पायर टु रन : दौडको प्रत्येक पाइला, आत्मविश्वासको कथा
|
Getting your Trinity Audio player ready...
|
गोबिन्द गुरुङ
पेन्सिलभेनिया,अमेरिका/ बिहानीको चिसो हावा चलिरहेको थियो । हरियालीले ढाकिएको एडभेन्चर पार्कको वातावरण शान्त, तर उत्साहले भरिएको थियो ।
धावकहरू रङ्गीचङ्गी दौड लुगा, जोशिलो मुस्कान र आत्मविश्वासको साथ दौडको तयारीमा थिए । यो कुनै साधारण बिहान थिएन । यो बिहान थियो “इन्स्पायर टु रन” ५ किलोमिटर दौड प्रतियोगिताको, जुन केवल खेलकुदको कार्यक्रम मात्र होइन, एक प्रेरणादायी सामाजिक उत्सव पनि थियो ।
पेन्सिलभेनियाको मेक्यानिक्सबर्गस्थित एडभेन्चर पार्कमा आयोजित यो प्रतियोगिता बिहान ९ बजे औपचारिक रूपमा सुरु भयो । सहभागीहरू दौड प्रारम्भ हुनुअघि नै पार्कमा उपस्थित भइसकेका थिए । आयोजकहरूद्वारा तातो कफी, पानी र हल्का नास्ताको व्यवस्था गरिएको थियो, जसले धावकहरुलाई चिसो मौसममा ऊर्जा र स्फूर्ति प्रदान गरेको थियो । हल्का गफगाफ, शुभकामना आदान–प्रदान, र जोशिलो संगीतको बीचमा वातावरण थप सजीव देखिन्थ्यो ।
यो दौड ७० भन्दा बढी धावकहरुको सहभागीता सहित सम्पन्न भएको हो । सहभागीहरू विभिन्न उमेर, पेशा, भाषा र पृष्ठभूमिका थिए — कोही विद्यार्थी, कोही अभिभावक, कोही स्वास्थ्यप्रेमी, त कोही प्रतिस्पर्धी एथ्लिट । यो विविधता नै प्रतियोगिताको सबैभन्दा बलियो पक्ष बन्यो । दौडलाई उमेर अनुसार विभिन्न समूहमा विभाजन गरिएको थियो, जसले सबै उमेरका सहभागीलाई उचित प्रतिस्पर्धा र सम्मानको अवसर प्रदान गरेको थियो ।
पुरुष समुहमा ज्याक्सी गिब्सनले उत्कृष्ट प्रदर्शन गर्दै दौड २१ मिनेट २४ सेकेन्डमा सम्पन्न गर्दै प्रथम स्थान प्राप्त गरे। महिला समुहमा मकेल्या राइकलले २५ मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै शीर्ष स्थानमा स्थान बनाइन्। अन्य विजेताहरूले पनि आफ्नो उमेर समूहअनुसार शानदार प्रदर्शन गर्दै ट्रफी, मेडल र सम्मान प्राप्त गरे। नेपाली भाषी सौगात अधिकारी, निरज नेपाल, भुमिका पौडेल, डुनह्याम, सुजन अधिकारी, इभान्का गुरुङजस्ता धावकहरूको प्रदर्शन विशेष चर्चा योग्य रहेको थियो । पुरुषतर्फ पहिलो भएका ज्याकी र महिलातर्फ विजेता बनेकी मकेल्याले उपाधी जित्दा खुशी लागेको प्रतिक्रिया दिएका थिए ।
त्यस्तै, सम्रग प्रतियोगितामा पुरुषतर्फ दोस्रो भएका नेपालीभाषि सौगात अधिकारीले सहभागितामा खुशी व्यक्त गरे । उनले यस्तो प्रतियोगिताले युवालाई उत्साहित गर्ने र प्रतिभा विकासमा मद्दत गर्ने विश्वास पनि व्यक्त गरे ।
आयोजक इन्स्पायर टु एक्सपायरका संस्थापक अध्यक्ष निलहरि भण्डारीका अनुसार, दौडजस्ता क्रियाकलापले व्यक्तिमा आत्मविश्वास बढाउने, मानसिक तनाव कम गर्ने र समुदायबीचको आपसी सम्बन्ध अझ बलियो बनाउने बताए ।
दौड पश्चात् पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो । विजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै सहभागीहरूलाई स्मरणीय अनुभव बनाउने उद्देश्यले फोटो सेसन, सामूहिक अन्तक्र्रिया र धन्यवाद ज्ञापनसमेत गरिएको थियो । धेरै सहभागीहरूका लागि यो दौड व्यक्तिगत लक्ष्य प्राप्तिको अवसर थियो ।
कसैले आफ्नो समय सुधार गरे, कसैले पहिलोपटक ५ किलोमिटर दौड पुरा गरे, त कसैले आफैंलाई जिते । यस प्रतियोगिताले केवल दौडमार्फत फिजिकल फिटनेसमा जोड दिएको छैन, यसले मानसिक दृढता, समुदायिक एकता र आत्म–प्रेरणालाई पनि जोड दिएको छ । स्थानीय समुदाय, धावक क्लब, स्वयंसेवक र आयोजकहरूको योगदानले यस्तो कार्यक्रम सफल र अर्थपूर्ण बनाएको हो ।
इन्स्पायर टु रन वास्तवमै एउटा यस्तो यात्रा हो जहाँ हरेक कदमले अनुशासन, समर्पण र सकारात्मक सोचको छाप छोड्छ। यसले सन्देश दिन्छ “जीवन पनि एक दौड हो, र हरेक प्रयासले हामीलाई अगाडि लैजान्छ ।
र यो पनि …












