जेन जीहरू भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौँ, ‘झोले’हरू घुसेर आगो लगाए
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । जेन जीहरूको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकार विहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ ।
जेन जी प्रतिनिधि अनिल बानियाँले जेन जीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायालय लगायतका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ ।
उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरूले लुटेका छन् । यिनीहरूले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ । देशमा बुढाखाडाबाट वाक्क दिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगिसकेको छ । हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौँ । केही झोले कार्यकर्ताहरू आएर देशको संरचनामाथि आगो लगाएका छन् ।’
यसै गरी जेन जी प्रतिनिधि दिवाकर ढुङ्गानाले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाभिमानसहित सम्पूर्ण नेपालको हक हितको रक्षा, आर्थिक उन्नति र समृद्धिका लागि सबै नेपाली एकजुट भएर यस विषय परिस्थितिको सामना गर्नुपर्ने बताए ।
त्यसै गरी, जुनाल गदालले अब यति बेला जेनजी संयमित हुन जरुरी रहेको बताए । ‘जसरी हिजो हामीले तोडफोड गर्यौँ । आक्रोशमा थियौँ । अब हामी संयमित हुन जरुरी छ । आज देशमा जेन–जी युवाहरू एक भएनौँ भने पुराना दलहरूलाई फाइदा हुने स्थिति छ,’ उनले भने ।
ओजस्वी राज थापाले जेन–जीले अहिले लिडरसिप लिन नसक्ने र लिन पनि नहुने बताए । जेन–जी अभियन्ता पुरुषोत्तम यादवले आफूहरूको मुख्य मुद्दा संसद् विघटन र पूर्ण समर्थन पूर्व प्रधानन्यायाधीश कार्कीमाथि रहेको बताए ।
हामी नेपालका अध्यक्षसमेत रहेको सुदन गुरुङले जेनजीको एक–एक थोपा रगतको बदला लिने बताए । उनले कसैलाई नछाड्ने चेतावनी दिए ।
उनले जेनजी आन्दोलनलाई समर्थन गर्न सबैलाई आग्रह गरे । आफूले अहिलेसम्म नेपालको झन्डा बोकेर हिँडेको र कुनै पार्टीलाई पनि अहिलेसम्म समर्थन नरहेको बताए ।












