अमेरिकामा रहेका १४ जना नेपाली कांग्रेस समर्थकको महामन्त्री द्वयलाई खुला पत्र

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ रगतले लतपतिएको जुत्ताको फोटो राख्दै अमेरिकामा रहेका नेपाली कांग्रेस समर्थकहरूले महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मालाई खुला पत्र लेखेका छन्।
सोमबार काठमाडौँमा भएको जेन जी समूहको प्रदर्शनमा भएको सकारी दमन पछि उनीहरुले कांग्रेस महामन्त्रीलाई खुल्ला पत्र लेखेका हुन्।
नेपाली जनसम्पर्क समिति निकट तथा अमेरिकामा विभिन्न पेशा व्यवसायमा रहेका उनीहरुले महामन्त्रीद्वयलाई सत्ताको राजनीति भन्दा जनता केन्द्रित राजनीति गरेको पुष्टि गर्न पनि आग्रह गरेका छन्।
१४ जनाको सामूहिक खुल्ला पत्र जस्ताको त्यस्तै
महामन्त्री द्वय गगन थापा,विश्व प्रकाश शर्मा ज्यु,
नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनबाट यहाँहरू निर्वाचित हुँदा अब नेपाली कांग्रेसले नयाँ दिशा लिन्छ भन्ने विश्वास जगाएको थियो । पार्टी भित्रको अल्पमत,बहुमतको द्वन्द्व यहाँहरूका कतिपय आवाज हरू सुनिएन होला भन्ने कुरा हामीले बुझेका हौँ । यहाँहरू भुईँबाट आउनु भएको नेता हो, सडकले बनाएको नेता हो ।
आज सडक रगतले लत्पतिएको छ । गोली लागेर ढलेका विद्यार्थीका लास र गिदी यत्र तत्र छरिएको कारुणिक,अकल्पनीय दृश्यहरू सामाजिक सञ्जालमा देख्दा मुटु भक्कानिएको छ । राज्यले एकै दिन यत्रो संख्यामा निःशस्त्र प्रदर्शनकारिताई हत्या गरेको यो संभवत पहिलो घटना हो । यो स्पष्ट रुपमा फासिस्ट तान शाहको चरित्रको प्रतीक हो । हिजो प्रजातन्त्र,गणतन्त्रका लागी लड्दै गर्दा हामीले जुन बेथितिका विरुद्ध सँगै लडेका थियौँ त्यो कतै तुवाँलोमा हराएको जस्तो अनुभव हुँदैछ ।
प्रतिपक्षमा बेन्चमा देखिने जुनसुकै पार्टी पनि सत्तामा साझेदारी पाएको दिन मन्त्री बन्न जाने चरित्रले नेपाली संसद् प्रतिपक्ष विहीन बन्न पुगेको छ । सत्ताका लागी संसद् प्रतिपक्ष विहीन बनाइएको छ । प्रतिपक्ष नभएपछि जनताले आफ्नो आवाज पुर्याउन सडकमा आउनुपर्ने अवस्था बन्न पुगेको छ । परिणाम हामी सबैको अगाडी छ ।
नेपाली कांग्रेसको शुभेच्छुकको नाताले यहाँहरूले नेपाली कांग्रेसलाई यो निरंकुशताको मतियार हुनबाट रोक्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र तत्काल सरकारबाट अलग हुने निर्णय गरेर कांग्रेस र प्रजातन्त्रको गरिमा राख्न अनुरोध गर्दछौँ । पार्टीको सिपाही भएकाले बहुमतको निर्णय मान्नु पर्ने बाध्यात्मक परिस्थितिले सधैँ बाँधिँदा यहाँहरूको नेतृत्व,पार्टीको छवी धूमिल हुँदै गएको तितो यथार्थ यहाँहरूसँग साझा गर्नु उपयुक्त होला ।
फेरी पनि सडकले पत्याएर सदनसम्मको राजनीतिका यात्रा गर्दै गरेको नेताले सडक रगतले डुब्दा, आमाका आँसुहरूले भिज्दा जनता र सडकको आवाज सुन्नुपर्छ र सरकारबाट निस्कने निर्णय गराउन नसक्ने हो भने सांसद पदबाट तत्काल राजीनामा दिएर जनताको प्रतिनिधि भएको प्रमाणित गराउनु पर्छ
अन्त्यमा मृत आत्माको शान्तिको कामना गर्दै महामन्त्रीद्वयले सत्ताको राजनीति भन्दा जनता केन्द्रित राजनीति गरेको पुष्टि गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौँ ।
शुभेक्छुकहरु,
प्रियरंजन दाहाल
प्रतीक पाण्डे
विनोद भट्ट
कृष्ण जीवी पन्थ
ओम भट्टराई
उज्ज्वल खत्री
नारायण खनाल
रोशन ढुङ्गाना
प्रकाश सापकोटा
शम्भु दवाडी
अनुप खनाल
महेन्द्र बस्नेत
अनन्त सुवेदी
मदन पाठक