काठमाडौँमा युवा प्रदर्शनमा सरकारको दमन, अमेरिकाका विभिन्न शहरमा विरोध सभा, ओली विरुद्ध लाग्यो नारा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ काठमाडौँमा जेन जीको प्रदर्शनमा भएको नेपाल सरकारको दमन विरुद्ध सोमबार साँझ अमेरिकाको विभिन्न शहरमा शोक सभा तथा विरोध प्रदर्शन भएका छन्।
न्यु योर्क शहरको क्विन्स स्थित ज्याक्सन हाइटमा रहेको डाइभर्सिटी प्लाजामा साँझ ७ बजे देखि नौ बजे सम्म शोक सभा आयोजना गरिएको थियो।
सभामा सहभागीहरूले मैनबत्ती बालेर काठमाडौँमा भएको जेन जी प्रदर्शनमा दिवङ्गत भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। जीपी फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीका अनुसार सहभागीहरू नेपालको राष्ट्रिय झन्डा सहित उपस्थित भएका थिए।
कतिपयले दिवङ्गतका तस्बिर समेत बोकेका थिए। सहभागीले नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा नारा लगाएका थिए।
ज्याक्सन हाइटको व्यस्त स्थानमा एक हजार भन्दा धेरै नेपाली सहभागी भएका थिए।
यस्तै मेरिल्याण्ड राज्यको बाल्टिमोरमा पनि शोक सभा तथा विरोधका कार्यक्रम गरिएको छ। मेरिल्याण्डमा रहेका नेपाली विद्यार्थीहरूको तर्फबाट हिन्दु बौद्ध मन्दिर परिसर त्यस क्षेत्रमा रहेका नेपालीले शोक सभा गरेका छन्।
उनीहरुले पनि मैन बत्ती बालेर दिवङ्गत प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने सरकारबाट भएको दमनको विरोध गरेका थिए।
यस्तै टेक्सस लगायत अन्य शहरहरुमा पनि नेपाल सरकारले युवाहरूको प्रदर्शनमा गरेको दमनको विरोध गरेका छन्।
टेक्ससको युलेसमा रहेको नेपाली मन्दिरमा भेला भएका सर्वसाधारणले मैन बत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
शोक सभामा उपस्थित पत्रकार लेखनाथ गौतमका अनुसार उपस्थित सर्वसाधारणले प्रधानमन्त्री ओली सहित विभिन्न दलका शीर्ष नेता विरुद्धमा नाराबाजी गर्दै सरकारी दमनको विरोध गरेका थिए।

पेन्सिल्भेनियाको इयोला क्षेत्रमा रहेका नेपालीले पनि घटनाको विरुद गर्नुका साथै दिवङ्गत प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
यसै बीच मंगलवार साँझ पेन्सिल्भेनियाको राजधानीमा ह्यारिसबर्गमा पनि मैनबत्ती प्रज्वलन गर्ने कार्यक्रम राखिएको जनाइएको छ।
नेपाल सरकारले गरेको सामाजिक सञ्जाल बन्दको विरोध, भ्रष्टाचार नियन्त्रण लगायतका माग गर्दै युवा पुस्ताले गरेको प्रदर्शनमा सरकारले व्यापक दमन गर्दा डेढ दर्जन बढीको ज्यान गएको थियो।












