पत्रकारिता र प्रविधिको गहन विश्लेषण: `डिजिटल परिदृश्य´

Getting your Trinity Audio player ready...
|
सुरेश सुवेदी
पत्रकारिता र सञ्चार क्षेत्रमा निरन्तरको परिवर्तनले नयाँ बहसहरू सिर्जना गरिरहन्छ । यसै क्रममा, उप प्राध्यापक एवम् पत्रकार ऋषिकेश दाहालको पुस्तक डिजिटल परिदृश्य´ एउटा महत्त्वपूर्ण र समयसापेक्ष कृति बनेर आएको छ ।
दाहाल आफैँमा पी.एच.डी. उपाधि प्राप्त अनुसन्धानकर्ता हुन् । उनको यो कार्यलाई मिडिया अनुसन्धानको क्षेत्रमा सक्रिय सेन्टर फर मिडिया रिसर्चले पुस्तकका रूपमा प्रकाशित गरेको हो। पुस्तकले तीव्र गतिमा विस्तार भएको सूचना प्रविधिको विकास र यसका प्रभावलाई बहसमा ल्याएको छ।
सूचना प्रविधिको द्रुत विकासले समग्र समाजमा ल्याएका बदलावहरूको गहन विश्लेषण यस पुस्तकमा देखिन्छ । लेखकले सटिक र सरल भाषामा प्रस्तुत गरेका छन् । सूचना प्रविधि कारण समाजका विभिन्न प्रस्तुत गरेको सामग्रीको आधारमा यो पुस्तक डिजिटल युगको विकार, विस्तार र प्रभावको मूल्याङ्कन गर्ने एउटा प्रामाणिक दस्तावेज हो भन्न सकिन्छ।
पुस्तकको सार र संरचना
पुस्तक नौ अध्यायमा विभाजित छ, जसले डिजिटल सञ्चारका विभिन्न आयामलाई सिलसिलेवार ढंगले केलाएको छ। पहिलो अध्याय `आरम्भ : डिजिटल यात्रा´ मा पत्रकारितामा आएको प्रतिमान परिवर्तन र विश्व सन्दर्भमा कोभिड-१९ जस्ता महामारीले डिजिटल विस्तारलाई कसरी उत्प्रेरित गर्यो भन्ने कुरा उल्लेख छ। यसले पाठकलाई पुस्तकको मुख्य विषयवस्तुमा प्रवेश गर्न सहज बनाउँछ।
दोस्रो अध्याय `गुटनबर्ग, गोरखापत्र र गुगल´ ले ऐतिहासिक परिप्रेक्ष्यलाई वर्तमानसँग जोड्ने प्रयास गरेको छ। छापाखानाको आविष्कारक गुटनबर्ग, नेपालको पहिलो पत्रिका गोरखापत्र र आधुनिक सूचनाको स्रोत गुगललाई एकै ठाउँमा राखेर गरिएका तुलनात्मक अध्ययनले पत्रकारिताको विकासक्रमलाई बुझ्न मद्दत पुर्याउँछ। यहाँ विशेषगरी कृत्रिम बौद्धिकता (AI) ले फैलाइरहेको सूचनाको आयतन र त्यसका चुनौतीबारे गरिएको चर्चा सामयिक देखिन्छ।
पुस्तकको तेस्रो र चौथो अध्यायले सोसल मिडियाको उदय र एजेन्डा निर्माण´ तथा बदलिँदो माध्यम र मिथ्या सामग्री´ लाई प्रमुखताका साथ उठाएको छ । सामाजिक सञ्जालले परम्परागत आमसञ्चारको परिभाषामाथि नै कसरी चुनौती दिएको छ, एजेन्डा सेटिङमा यसको बढ्दो प्रभाव र मिथ्या सूचनाको महामारी कसरी फैलिरहेको छ भन्ने विषयमा यसले गहन विश्लेषण गरेको पाइन्छ। मिथ्या सूचनाका प्रवर्तक को हुन् र यसबाट कसरी पार पाउने भन्ने प्रश्नहरूमाथि पनि पुस्तक केन्द्रित छ।
पाँचौँ र छैटौँ अध्यायमा अनलाइन समाचारको मूल्य र ´डिजिटल मिडिया र लोकतन्त्र´ जस्ता आर्थिक र राजनीतिक पक्षमाथि प्रकाश पारिएको छ। यहाँ डिजिटल पे-वाल, क्राउडफन्डिङ जस्ता नयाँ आर्थिक मोडेलको सम्भावनाबारे चर्चा गर्नुका साथै नेपालको सन्दर्भमा तिनको उपादेयतामाथि पनि प्रश्न उठाइएको छ। डिजिटल मिडियाको माध्यमबाट लोकतन्त्रमा देखिएका नयाँ चुनौती र सोसल मिडियाको उत्तरदायित्वबारे गरिएको बहस पनि महत्त्वपूर्ण छ।
पुस्तकको पछिल्ला अध्यायहरूमा युट्युबमा सम्पादकहरूको यात्रा´ र डिजिटल उत्पादन, नैतिक नियन्त्रण´ जस्ता विषय समेटिएका छन्। यसले युट्युबजस्ता नयाँ प्लेटफर्ममा पत्रकारिताको अभ्यास कसरी भइरहेको छ र यसले ल्याएका नैतिक चुनौतीहरूलाई उजागर गरेको छ। अन्तिम अध्याय `डिजिटल अपराध र कानुनी कद´ मा डेटा सुरक्षा, गोपनीयता, प्रतिलिपि अधिकार र कानुनको अभाव जस्ता समस्याबारे चर्चा गरिएको छ, जसमा नेपालको सूचना प्रविधि विधेयकको विवादित पक्ष पनि समेटिएको छ।
लेखकले प्रस्तुत गरेको सामग्रीको आधारमा यो पुस्तक डिजिटल युगको विकार, विस्तार र प्रभावको मूल्याङ्कन गर्ने एउटा प्रामाणिक दस्तावेज हो भन्न सकिन्छ।
पुस्तकको भाषाशैली सरल र पठनीय छ। डिजिटल युगमा, यो पुस्तक पत्रकारिताका विद्यार्थीहरू वा डिजिटल प्रविधि र समाज बुझ्न चाहने जो कोहीका लागि पनि उपयोगी छ। यसमा प्रविधिको मात्रै होइन, यसबाट समाजमा आउन सक्ने चुनौती र जोखिमका बारेमा पनि चर्चा गरिएको छ।
पुस्तकमा समावेश गरिएका आधिकारिक सन्दर्भ सामग्रीले यसलाई गहकिलो बनाएको छ। लेखकले भद्दा व्याख्या नगरी सन्दर्भलाई मिठासपूर्ण ढंगले प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जालले मूलधारका सञ्चारमाध्यमले नसमेटेका विषयवस्तलाई समेटेको उदाहरण दिइएको छ। ‘अकुपाई बालुवाटार’ जस्ता अभियानमा सामाजिक सञ्जालको प्रयोगले कसरी जनसहभागिता जुटायो र राजनीतिक हैसियत प्राप्त गर्यो भन्ने कुरा केस स्टडीको रूपमा प्रस्तुत गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको चुनावमा उम्मेदवार बालेन्द्र शाहको समर्थनमा समाचार बनाएका अनलाइन मिडियाविरुद्ध चलेको ‘लाइक अनफलो’ अभियानले सामाजिक सञ्जालको प्रभावलाई देखाएको छ। यसले मूलधारका मिडियालाई चुनौती दिन सक्ने सामर्थ्य पनि प्रस्ट्याउँछ। यसैगरी, चुनावी अभियानमा सक्रिय ‘मिम नेपाल’ जस्ता सामाजिक सञ्जालका माध्यमले चुनावको दिशा परिवर्तन गर्न सक्ने क्षमता देखाएका छन ।
लेखकले नेताहरूको सामाजिक सञ्जालमा हुने सक्रियता र अमेरिकी राष्ट्रपतिको चुनावी अभियानमा सामाजिक सञ्जालको भूमिकालाई पनि उल्लेख गरेका छन् । चुनावका लागि सामाजिक सञ्जाके प्रयेग बढी हुन्छ । अन्ततः लेखकले सामाजिक सञ्जालमा मास मिडियामाथि पनि निगरानी गर्न सक्ने सामर्थ्य रहेको तर्क गरेका छन् ।
लेखक: ऋषिकेश दाहाल
प्रकाशक: सेन्टर फर मिडिया रिसर्च
मूल्यः ४५०
पृष्ठः १७६
समीक्षक: सुरेश सुवेदी आम सञ्चार तथा पत्रकारिताका उप-प्राध्यापक तथा सुकल्प सञ्चारका अध्यक्ष हुन्।