सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ

Getting your Trinity Audio player ready...
|
काठमाडौँ / महेश श्रेष्ठ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति चिन्ता व्यक्त गरेको छ ।
संघले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा समर्थन जनाउँदै सामाजिक सञ्जालहरू माथि प्रतिबन्ध लगाउनु भन्दा वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ।
एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमद्वारा जारी विज्ञप्तिमा एकाएक सामाजिक सञ्जाल बन्द हुँदा संसारभरि रहेका लाखौँ प्रवासी नेपालीहरूलाई प्रत्यक्ष असर परेको जनाइएको छ।
विज्ञप्तिमा चाडपर्वको समयमा विदेशमा रहेका नेपालीहरूका लागि परिवारसँग सम्पर्क गर्ने सामाजिक सञ्जाल नै एक मात्र भरपर्दो माध्यम भएको उल्लेख गरिएको छ। यसले गर्दा अहिले लाखौँ परिवारमा चिन्ता बढेको संघले जनाएको छ ।
साथै, प्रतिबन्धका कारण सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार–व्यवसाय गर्ने र आफ्नो वृत्ति विकास गर्ने लाखौँ नेपाली विद्यार्थी तथा युवाहरू पनि प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सञ्जाललाई व्यवस्थित गर्न वैकल्पिक उपाय अपनाउँदै तत्काल यसको पहुँच सहज बनाउन संघले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, विदेशमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूसँग पहुँच स्थापित गर्न सहयोग गर्न तयार रहेको पनि प्रवक्ता गौतमले विज्ञप्तिमा जनाएका छन् ।