पाउका क्रिकेट लिग लगानले जित्यो, ह्यारिसबर्ग गोर्खा दोस्रो

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पेन्सिलभेनिया युनाइटेड क्रिकेट एसोसिएसन द्वारा आयोजित पाउका लिग क्रिकेटको उपाधि लगान टिमले जितेको छ।
शनिवार ह्यारिसबर्गमा सम्पन्न फाइनल खेलमा ह्यारिसबर्ग गोर्खालाई ५० रनले हराउँदै लगानले उपाधि जितेको हो।
पहिलो ब्याटिङ गरेको लगानले निर्धारित २० ओभरमा ६ विकेट खर्चँदै एक सय ५४ रन जोडेको थियो। लगानको सम्मानजनक स्कोरका लागि कप्तान नारान प्रजापतिले अर्ध सतको पारी खेलेका थिए। ३५ बलको सामान गरेका नारानले तीन चौका र तीन छक्का प्रहार गर्दै ५२ रन जोडेका थिए।
त्यस्तै देव पटेल र भीसेस पटेलले समान ३३ – ३३ रनको योगदान दिए। प्रितेश पटेलले पनि लगानका लागि १८ रन जोडेका थिए।
ह्यारिसबर्ग गोर्खाका सुबोध वाग्लेले दुई तथा बासु ढुङ्गाना, तारा अधिकारी, भगवत् भण्डारी र दिपेन्द्र दंगालले एक एक विकेट लिएका थिए।
अघिल्लो साता भर्जिनियामा एभरेष्ट एण्ड साथी कप क्रिकेटको उपाधिमा ह्याट्रिक गरेको ह्यारिसबर्ग गोर्खा शनिवार भने लगानका सामुन्ने फिक्का बन्यो।
एक सय ५५ रनको लक्ष्य सहित जवाफी व्याटिङ्गमा आएको हिमालयन गोर्खा पुरा ओभर खेल्दा नौ विकेट खर्चेर मात्र एक सय चार रहनमा सीमित भयो।
हिमालयन गोर्खाका चार जना बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन्।
विकेट किपर ब्याटस्म्यान खगेन धिमालले सर्वाधिक २० रन जोडे। त्यस्तै सन्जोग बस्नेत १९, अनिल न्यौपाने १५ र दीपेन्द्र दंगालले १० रन मात्र जोड्न सके।
लगानका देव ए पटेल एक्लैले चार विकेट दिएका थिए। त्यस्तै निहाल पटेलले तीन तथा सानी मगिया र भीसेस पटेलले एक एक विकेट लिए।गत मे महिना देखि शुरु भएको लिगमा १२ टिमले भाग लिएका थिए। प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाडीको थियो।