संगालो: कथा मार्फत आत्मबल, मानसिक स्वास्थ्य र सामुदायिक एकता निर्माण

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिलभेनिया / गत शनिबार सम्पन्न क्रियमाण फाउन्डेशनको संगालो: रीडिङ फर रेसिलियन्स कार्यक्रमले समुदायभित्र कथा सुनाउने र साझा गर्ने माध्यमबाट सकारात्मक प्रभाव पार्न सफल रह्यो।
सार्वजनिक स्वास्थ्य कार्यक्रमका निर्देशक लिला के. चम्लागाईंले प्रतियोगिता सुरु हुनु अघि दिएको भाषणमा, उनले यस कार्यक्रमको पृष्ठभूमि र यसको महत्त्वलाई वैज्ञानिक प्रमाणहरूसँग जोडेर व्याख्या गरेका थिए।
उनले उल्लेख गरे कि मानसिक र भावनात्मक सशक्तीकरणको लागि कथा, संवाद र साझा अनुभवहरू अत्यन्त प्रभावकारी माध्यम हुन्। उनले दुई महत्त्वपूर्ण अध्ययनहरूलाई उद्धृत गरे:
•२००८ मा गरेको अध्ययनले देखाएको छ कि संरचित कथावाचनले जोखिममा परेका युवाहरूबिच साथी तथा परिवारसँगको सम्बन्ध बलियो बनाउने, आत्मविश्वास र शैक्षिक सफलतालाई वृद्धि गर्ने काम गर्छ।
•२०२२ मा रवाण्डामा गरिएको अनुसन्धानले कथा–आधारित उपचार (narrative therapy) द्वारा बालबालिकामा आत्मबल, दृढता र चुनौतीहरूको सामना गर्ने क्षमता उल्लेखनीय रूपमा बढेको पुष्टि गरेको छ।
चम्लागाईंले भने, यी प्रमाणहरूले प्रमाणित गर्छन् कि कथा सुनाउनु केवल सांस्कृतिक अभ्यास नभई मानसिक स्वास्थ्यमा सुधार र सामुदायिक सम्बन्ध सुदृढ पार्ने प्रभावकारी उपाय हो।
कार्यक्रमको सफल समापन र आगामी योजनाहरू
कार्यक्रमका सहभागीहरूले कथा सुनाउने, पढ्ने र साझेदारी गर्ने क्रममा गहिरो अनुभव पाएका थिए। आयोजकहरूले सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छन्।
अब संगालोले समुदायका हरेक कुनाबाट कथा सङ्कलन गर्ने महत्त्वपूर्ण कदम चाल्ने छ। यो पहल केवल लेखक वा साहित्यकारको पहुँचमा नभई समुदायका सबै सदस्यलाई आफ्ना कथा वा अरूका कथाहरू साझा गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
अन्ततः, आगामी वर्षहरूमा निर्णायक प्यानलमा बहुविविध पृष्ठभूमिबाट आएका व्यक्तिहरूलाई समावेश गरिने योजना बनाइएको छ। पछिल्ला दुई वर्षमा तीन महिला निर्णायकहरू — द्रौपदी प्रधान (नेपाली भाषा शिक्षक एवं योग प्रशिक्षक), लीला निशा (लेखक, शिक्षक र महिला सशक्तीकरण अभियन्ता), र विनीता पुरी राई (सामुदायिक नेतृ एवं तायक्वान्डो प्रशिक्षक) — को साथमा काम गर्ने अवसर प्राप्त भएको छ। आगामी दिनहरूमा सार्वजनिक स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूलाई पनि प्यानलमा ल्याउने लक्ष्य राखिएको छ।
संगालो कार्यक्रमको दीर्घकालीन लक्ष्य
यस कार्यक्रमको दीर्घकालीन उद्देश्य कथा वाचन र साझा अनुभवलाई मानसिक स्वास्थ्य सुधार, आत्मबल वृद्धि र सामुदायिक एकता सुदृढ पार्ने प्रभावकारी माध्यमका रूपमा अघि बढाउनु हो। यसले समुदायको आवाजलाई उनीहरूकै शक्ति बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका सहभागी, आयोजक, निर्णायक र सहयोगीहरूलाई धन्यवाद दिइएको छ भने संगालो अभियानले भविष्यमा पनि समुदायमा कथा सुनाउने र साझा गर्ने प्रक्रिया निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
संगालो कार्यक्रमले सबैलाई आगामी योजनामा सहभागी भई आफ्नो कथा साझा गर्न हार्दिक निमन्त्रणा गरेको छ।
र यो पनि…
अमेरिकामा १८ जनालाई पछि पार्दै पाँच वर्षीय बालकले जिते नेपाली भाषामा कथा वाचन प्रतियोगिता
‘बाल प्रतिभा र साझा इतिहास, ह्यारिसबर्गमा सम्पन्न : संगालो, रिडिङ फर रेजिलिएन्स’