जनसम्पर्क समिति विस्तार हुँदैछ, विश्वभर फैलिन्छ : किरण पौडेल

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय विभागको प्रमुख किरण पौडेलले हाल पार्टीको १५ औँ महाधिवेशन केन्द्रित गतिविधिहरू भइरहेकाले समयसीमा भित्रै महाधिवेशन हुने बताएका छन् ।
विदेशमा पार्टीको संजाल विस्तार गर्ने क्रम जारी रहेको बताएका उनले महाधिवेशनलाई नै केन्द्रित गर्दै विदेशस्थित जन सम्पर्क समितिहरूको अधिवेशनको तयारी भइरहेको पनि बताए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा जनसम्पर्क समितिलाई आश्विन मसान्तसम्म सबै देशले नवीकरण गरेर नयाँ सदस्य बनाएर केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन भइसकेकाले सम्पर्क समितिहरूले समयमै अधिवेशन सम्पन्न गर्ने दाबी पनि गरे ।
‘हामी महाधिवेशनको तयारीकै चरणमा छौँ । काङ्ग्रेससँग आबद्ध विदेशस्थित जति जनसम्पर्क समितिहरू छन्, ती समितिहरू कांग्रेसको १४ औँ महाधिवेशनभन्दा अगाडि सबैको अधिवेशन भएकाले १५ औँ अघि पनि कुनै देशको रोकिदैन् । पार्टीको विधानअनुसार लगभग तीन वर्ष जनसम्पर्क समितिको पदावधि हुने र त्यो समय समाप्त भइसकेकाले अधिवेशन समयमै सकिन्छ,’ उनले भने ।
देशहरूको अधिवेशनको लागि पार्टी केन्द्रीय समितिको हालैको बैठकले निर्देशन गरिसकेकाले साउन महिनाभित्र सबै प्रक्रिया सुरु गरेर आश्विन मसान्तसम्म त्यसको सदस्यता नवीकरण गरिसक्ने र पुस मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने केन्द्रले निर्देशन भएकाले सोही अनुसार तयारीमा लाग्न पनि उनले आग्रह गरेका छन् ।
सदस्यता वितरण पुरानै विधि र प्रक्रियाबाट भइरहेको उल्लेख गरेका उनले कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको फारामहरू सबै देशमा पठाइएकाले सोही अनुसार क्रियाशीलता वितरण गर्न पनि अनुरोध गरेका छन् ।
उनले भने,‘ क्रियाशीलता सम्बन्धित देशको जनसम्पर्क समितिले नै सदस्यता वितरण गर्छ । अनलाइन पठाउने हो भने गुगलको सहायतामा फर्म डेभलप गरेर अनलाइनबाट पठाउन पनि सक्छन् । अहिलेसम्मको चलन फिजिकल्ली नै हो । फर्म नै भरेर पठाउने चलन छ । अनलाइन प्रणाली सुरु भइसकेको छैन । भविष्यमा सदस्यताका लागि सफ्टवेयर बनाएर अनलाइन प्रणालीमार्फत पनि सदस्यता लिने अवधारणा बनाइएको छ ।’
३७ देशमा जन सम्पर्क समिति भइसकेकाले अन्य देशमा पनि विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘तथ्याङ्कलाई हेर्दा २९ वटा देशमा २९,७०० क्रियाशील सदस्यहरू हुनुहुन्छ । ३७ देशमा जनसम्पर्क समिति छ र केही देशले गठन गर्नको लागि निवेदन दिनुभएको छ । अब छिट्टै नै अरू थप देशहरूमा पनि सम्पर्क समितिको विस्तार गर्छौँ। लगभग चार वटा देशको आइसकेको छ,’ उनले भने ।
१४ औँ महाधिवेशनमा सदस्यता लिएकाहरूलाई कार्ड बनाएर पठाइने उनले बताए । जनसम्पर्क समितिहरूले नियमित अधिवेशन सम्पन्न गर्दै आइरहेकाले १५ महाधिवेशनअघि सबै देशको अधिवेशन सम्पन्न हुने दाबी पनि गरे ।