फिफा विश्व कपको टिकट बिक्री सेप्टेम्बर १० बाट, सस्तो टिकट ६० डलर, यस्तो छ टिकट किन्ने प्रक्रिया
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ विश्व फुटबल महासंघ (फिफा) ले अमेरिका सहित तीन देशमा हुने विश्वकपको सस्तो टिकट ६० अमेरिकी डलर तोकेको छ। फिफाले एक पटक खरिद गरिएको टिकट फेरि बिक्री गर्न सकिने पनि जनाएको छ।
अर्को वर्षको समरमा अमेरिका, क्यानडा र मेक्सिकोमा फिफा विश्व कप आयोजना हुँदै छ। फिफाले विश्वकप हेर्न आउने फ्यानका लागि भिसा प्रक्रिया सहज पारिने पनि जनाएको छ।
तीन देशमा हुने १०४ खेलका लागि ७० लाखभन्दा बढी फ्यान सहभागी हुने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबमसँग भेटपछि इन्फान्टिनोले फिफाले सह-आयोजक राष्ट्रहरूको सरकारसँग मिलेर सहज भिसा प्रक्रियाका लगि काम गरिरहेको बताएका हुन्।
उनले भने, ‘सबैलाई क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा स्वागत गरिनेछ। २०२५ को फिफा क्लब विश्वकपमा १६४ विभिन्न देशका फ्यानहरू कुनै समस्याबिना अमेरिका आएका थिए। भिसा र अन्य प्रक्रियाहरू सहज हुनेछन्।’
अमेरिकामा ११ आयोजक शहर रहेकाले धेरै विदेशी फ्यान अमेरिका आउनेछन्। इन्फान्टिनोले अमेरिकी अधिकारीसँग पनि अध्यागमन प्रक्रियालाई व्यवस्थित बनाउन समन्वय भइरहेको बताए।
विश्वकप २०२६ मा ३२ टोलीबाट बढाएर ४८ टोलीबिच प्रतिस्पर्धा हुँदैछ।
टिकट बिक्रीको पहिलो चरण अर्को सातादेखि
फिफा विश्वकप २०२६ को टिकट बिक्रीको पहिलो चरण अर्को सातादेखि भिसा प्रि-सेल ड्रमार्फत सुरु हुँदैछ। इच्छुक फ्यानहरूले यहाँ क्लिक गरि आफ्नो रुचि दर्ता गरी फिफा आइडी सिर्जना गर्न सक्नेछन्।
सेप्टेम्बर १०, २०२५, बिहान ११ बजे (अमेरिकी इस्टर्न समय) टिकट बिक्रीको प्रक्रिया खुल्नेछ र सेप्टेम्बर १९, २०२५, बिहान ११ बजे बन्द हुनेछ। सेप्टेम्बर २९ बाट सफल आवेदकलाई इमेलमार्फत सूचित गरिनेछ।
अक्टोबर १ बाट टिकट खरिदका लागि समय स्लटहरू उपलब्ध हुनेछन्। समूह चरणका खेलको टिकट ६० अमेरिकी डलरबाट सुरु हुनेछ। फाइनल खेलको सबैभन्दा महँगो सिट ६,७३० अमेरिकी डलरसम्म पुग्नेछ।
दोस्रो चरणमा अक्टोबर २७-३१ मा दर्ता र नोभेम्बर-डिसेम्बरमा खरिदका लागि समय स्लट उपलब्ध गराइने फिफाको भनाइ छ। तेस्रो चरणको टिकट बिक्री फाइनल ड्र पछि सुरु हुनेछ। प्रतियोगिता नजिकिँदै जाँदा बाँकी टिकटहरू पहिले किन्न आउनेलाई पहिले दिइनेछ।
फिफाले फ्यानलाई अनधिकृत बिक्रीबाट जोगाउन यहाँ क्लिक गरि एक सुरक्षित, आधिकारिक पुनर्विक्री प्लेटफर्म पनि सुरु गर्नेछ।
कसरी टिकट किन्ने ? हेर्नुहोस् तलको समाचार ।
अमेरिकामा हुने फिफा विश्वकप २०२६ को टिकट बिक्री खुल्दै, किन्ने प्रक्रिया यस्तो छ
वासिङटनमा हुने विश्वकप फुटबलको ड्र मा फ्यान समेत सहभागी हुन पाउने












