एभरेष्ट एण्ड साथी कप क्रिकेटको उपाधिमा ह्यारिसबर्ग गोर्खाको ह्याट्रिक

Getting your Trinity Audio player ready...
|
भर्जिनिया, अमेरिका / एभरेष्ट एण्ड साथी कप क्रिकेट प्रतियोगिताको उपाधिमा पेन्सिल्भेनियाको ह्यारिसबर्ग गोर्खाले ह्याट्रिक गरेको छ।
भर्जिनियामा सोमबार सम्पन्न पाँचौँ संस्करणको फाइनलमा न्यु योर्कको हिमालय किङ्गसलाई ६ विकेटले हराए सँगै ह्यारिसबर्ग गोर्खाले एभरेष्ट एण्ड साथी कपमा ह्याट्रिक गरेको हो।
साथी कप सन् २०२१ बाट शुरु भएको हो। पहिलो र दोस्रो संस्करणमा एभरेष्ट लायन्स क्रिकेट क्लब भर्जिनिया विजयी भएको थियो। सन् २०२२ को संस्करण रूप स्मृति कप भनेर खेलाइएको थियो।
यस पटक साथी बाल्टिमोर र एभरेष्ट लायन्स क्लब भर्जिनियाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन्।
ह्यारिसबर्ग गोर्खाले सन् २०२३ देखि यो प्रतियोगिता खेल्न थालेको हो । पहिलो सहभागितामा नै उपाधि जितेको ह्यारिसबर्ग गोर्खाले त्यस पछि पछाडि फर्कनु परेको छैन।
प्रतियोगितामा उपाधिको ह्याट्रिक गर्ने क्रममा भर्जिनियाको मैदानमा सोमबार ह्यारिसबर्ग गोर्खाले हिमालय किङ्गस न्यु योर्कको चुनौती ६ विकेटले पन्छायो। निर्धारित २० ओभरको खेलमा १६ ओभर पाँच बलमा हिमालयनले मात्र ७० रन जोडेको थियो।
हिमालयनका करण ठाकुर ब्राह्मण र थुप्टेन टीएल बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन्। ओपनर थुप्टेनले १६ रन जोडे भने करण सर्वाधिक २५ रनमा अविजित रहे।
हिमालयनलाई कम स्कोरमा रोक्ने क्रममा ह्यारिसबर्ग गोर्खाका सुबोध वाग्ले एक्लैले पाँच विकेट लिएका थिए। यस्तै सन्जोग बस्नेतले तीन तथा बासु ढुङ्गाना र भगवत् भण्डारीले एक एक विकेट लिएका थिए।
जवाफी व्याटिङ्गमा ह्यारिसबर्ग गोर्खाले ७१ रनको लक्ष्य ११ ओभर तीन बलमा मात्र चार विकट खर्चँदै पुरा गर्यो। ह्यारिसबर्ग गोर्खाका विकेट किपर खगेन धिमालले सर्वाधिक २५ रनको योगदान दिए। यस्तै ओपनर भगत भण्डारीले १८ तथा उदय आचार्यले १३ रन जोडेका थिए।
हिमालयनका थुप्टेन, सागर गुरुङ र भगवान पोखरेल एक एक विकेट लिएका थिए। फाइनल खेलमा म्यान अफ दि म्याच ह्यारिसबर्ग गोर्खाको सुबोध वाग्ले भए।
२२ टिमको सहभागितामा तीन सम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि सँगै ह्यारिसबर्ग गोर्खाले व्यक्तिगत तर्फ पनि कब्जा जमायो।
म्यान अफ दि सिरिज ह्यारिसबर्गका खगेन धिमाल घोषित भए । धिमाल उत्कृष्ट ब्याट्सम्यान पनि घोषित भए । उनले ६ खेलमा एक सय ९२ रन जोडेका थिए।
वेष्ट बलर ह्यारिसबर्गका तारा अधिकारी घोषित भए। उनले चार १३ विकेट लिएका थिए। चोटका कारण उनले सेमी र फाइनल खेल गुमाएका थिए।
वेष्ट फिल्डर भने हिमालयन किङ्गसका सुरज थापा घोषित भए।
उपाधि सँगे ह्यारिसबर्ग गोर्खाले आठ हजार अमेरिकी डलर नगद पुरस्कार सहित ट्रफी जित्यो।
ह्यारिसबर्ग गोर्खालाई यो वर्षको दोस्रो उपाधि हो। यस अगाडि बोस्टनमा सम्पन्न रूपक स्मृति कप क्रिकेटको उपाधि पनि ह्यारिसबर्ग गोर्खाले जितेको थियो।
सन् २०२४ मा साथी कपमा ह्यारिसबर्ग गोर्खाले एभरेष्ट लायन्स क्रिकेट क्लब हराउँदै उपाधि जितेको थियो। यस्तै सन् २०२३ मा बोस्टन अलस्टारलाई हराउँदै डेब्यु प्रतियोगितामा नै उपाधि उठाएको थियो।
’ सन् २०२३ देखि खेल्न थालेका हौ साथी कप अहिले सम्म हारेका छैनौ, म खुसी छु ।’ ह्यारिसबर्ग गोर्खाका कप्तान सुक थिङ्गले समाज टाइम्स सँग भने, ‘हाम्रो कडा मेहनतले यो सफलता मिलेको हो। ‘
उनले यो सफलताले भविष्यमा अझै खेल्नु पर्छ भन्ने सन्देश दिएको बताए।