जीवनका अनुभूतिहरूमा समाजको कथा

Getting your Trinity Audio player ready...
|
गण्डकीपुत्र
ह्यारिसबर्ग, पेन्सिलभेनिया / म आत्मकथा या आत्मवृत्तान्त पढेर थाक्दिन । एक प्रकार आनन्द भनौँ कि कौतुहल हुन्छ । मानिसको पचास वर्षको भोगाई एकदुई दिन मै नियाल्न पाइन्छ । उ कसरी खुसी या दुखी हुन्छ बुझ्न पाइन्छ । कति आत्मकथाका जस्तै घटना या परिवेशमा आफूमा पनि धटेको जस्तो पनि लाग्छ । त्यस्तो आत्मकथा पढ्दा आफूले धेरै कुरा देख्न पाएको जस्तो अनुभूति हुन्छ ।
मलाई लाग्छ आत्मवृत्तान्त एक यस्तो बयान हो । जस्मा लेखकका नितान्त निजी कुराहरू मात्र हुन्छन् । धेरै अघि साहित्यकार दाइ कृष्ण धराबासीको आधा बाटो पढे थेँ । सम्भवत त्यसपछि आत्मकथा पढ्न रमाइलो लाग्न थालेको हो । पेन्सिलभेनियाको ह्यारिसबर्ग शहरमा एक जना सहृदयी व्यक्ति आफ्नो व्यवसाय गरेर बसेका छन् । उनी हुन दिपकजङ्ग विश्वकर्मा ।
उनी केहिसमय अघि अमेरिकाबाटै मान सरोवरको यात्राको उद्देश्य बोकेर नेपाल गएका थिए । फर्केर आउँदा मेरो निम्ति भनेर लेखककै हस्ताक्षरमा मेरो नाममा एउटा पुस्तक उपहार लिएर आएका रहेछन् । जीवनका अनुभूतिहरू, बिना पोखरेल लेखिका ।
यत्रो प्रेमसाथ मलाई ल्याइदिएको पुस्तक दुई दिन सम्भवत ४/५ घण्टा समय दिएर पढी सिद्ध्याएँ। पढी सकेर किताब थन्क्याउँदै गर्दा सोचेँ । यी लेखिका म हुर्किएकै भौगोलिक परिबेसमा हुर्किएकी रहिछिन । त्यही महेन्द्र मोरङ कलेज , त्यही हिमालय हल त्यही आदर्श बालिका विद्यालय , त्यही विराटनगर ।
केही मेरा परिचितहरूको प्रसङ्ग पनि भेटेँ पुस्तकमा । पुरुषोत्तम अमात्य जो लामो समय झोराहाट सहकारीको प्रबन्धक पनि थिए । अर्का व्यक्ति श्याम पौडेल , पुण्यप्रसाद पौडेलका छोरा । पुण्यप्रसाद राधाकृष्ण मन्दिरका पुजारी थिए । उनको मेरो गाउँ झोराहाटमा खेती थियो । त्यसो भएकोले पनि श्याम पौडेल आधा झोराहाट निवासी नै थिए र अरू केही पात्रहरू । सोचेँ केही लेखौँ र यो पाठकिय अनुभूत तयार गरेँ ।
एउटा अनुशासित परिवारमा जन्मी हुर्की बढेकी यिनी विवाहपछि असाधारण परिबेसमा संघर्ष गर्नुपर्ने परिस्थितिमा पुग्छिन् । विवाह पछिको यिनको जीवनमा अचम्मका घटनाहरूले घेरिन्छ । विवाह अघिको यिनको जीवन विद्यालय र कलेजमा उडिरहेको पक्षीजस्तो निर्बाध र स्वतन्त्र हुन्छ। साथी सङ्गी , आमाको लाड प्यार , बाहुन्दीको माया सबै सबै पढ्दा आहा जस्तो अनुभूति हुन्छ।
बुवाको स्नेह र संघर्ष , रङ्गेलीको जागिर । तर पनि अत्यन्त आत्मीय र रमाइलो जीवन । विवाह अगाडीका प्रसङ्ग , पिकनिकको रमाइलो , साथीहरूको प्रेम र बिन्दास अनुभूति । तर विवाहका दिन देखी नै यिनी आडम्बर र देखासिकी गर्नेहरूको फन्दामा परेको प्रतीत हुन्छ । हरेक चुनौती र अप्ठ्यारालाई संयमित भएर सामना गर्ने यिनको विवेकले नै यिनलाई जीवनको गाडी अगाडि बढाउन बल पुर्याएको देखिन्छ ।
समस्याहरूसँग भागेर होइन भिडेर अगाडि बढ्नु यिनको जीवनभरिको मूल मन्त्र बनेको देखिन्छ। विवाहमा नक्कली गहनाबाट सुरु भएको नक्कली कुराले सम्बन्ध पनि नक्कली र देखावटी भएको कुरा घटना क्रमले प्रस्ट्याइ दिन्छ । नन्द, आमाजू , देवर , सासू र स्वयम् पति समेत देखावटीरुपमा आफ्ना र भित्र पराई जस्ता लागे उनलाई ।
उनले हरेक विश्वास गरेका आफ्नाबाट धोका खाएकी छन् । तर यिनी कतैपनि रुदै कराउँदै हिँडेकी छैनन् । जसरी हरेक चुनौतीको सामना एक्लै गरिन त्यस्तै उनी रुँदापनी एक्लै रोइन । कसैलाई आँसु देखाइनन । अरूका अगाडि हाँसेरै हिँडिन , रमाएरै हिँडिन । आध्यात्मिक भावना भएकी यिनको विश्वास ईश्वर प्रति बढी नै देखिन्छ । हरेक ठाउँमा यिनी श्रीमानको साथ चाहन्छिन् तर हरेक कुरामा यिनले एक्लै निर्णय गर्नुपर्ने अवस्था आउँछ ।
यति इमान्दार भएर वा सम्पूर्ण कुरा वारपार हुने गरी महिलाहरू बोल्न डराउँछन् तर बिनाको कुरा नै दह्रो छ उनी लेख्छिन् , मेरा सय वटा राम्रा पक्षहरूलाई उहाँ (श्रीमान् ) नजरअन्दाज गर्नु हुन्थ्यो तर मेरो सानो गल्ती कतै देखियो भने त्यही विषयलाई तन्काएर आकाशमा पुर्याउनु हुन्थ्यो । उहाँ भित्र मप्रति नै एक प्रकारको ईर्ष्याको भाव प्रतीत हुन्थ्यो । स्पष्ट बिचार कुनै बनावटी र नक्कली कुरा छैनन् । आत्म अनुभूतिमा लेखिन तर मेरा पति यस्ता र उस्ता भन्दै हिडिनन । बरु आफ्नू निर्णयमा अघि बढ्नु यिनले सफलताको रहस्य हो झैं गरिन र त्यसै गरिन । यस्तै कथा भेटिन्छ , यो आत्मकथा पढ्दा ।
सधैँ दुखलाई पर्दा पछाडि लुकाउन सक्ने बिनालाई बहिनी चिनाको मृत्युले आहत बनाएको छ । दुखको कुरा त के भने चाडबाड खल्लो वा नरमाइलो हुन्छ भनेर उनलाई बहिनीको मृत्युको कुरा कसैले सुनाएन छन् । चाडबाड बर्सैपिच्छे आउँथे तर बहिनी त फर्केर नआउने गरी गएकी थिइन । काठमाण्डौबाट दशैं मनाउन घर विराटनगर आएकीले काठमाडौँ वीर हस्पिटल तत्काल जान सम्भव थिएन ।
दशैंको टिका लगाएर बहिनिलाई हस्पिटल नै गएर टीका लगाई दिने कुरा सोचेर बसेकी बिनाले एक जना आफन्त बहिनीको मृत्युको खबर सुनिन । जब यो खबर सुनिन तब बिना आहत भएकी छन् । बिनाको यो मर्मान्त पीडाले पुस्तक पढ्ने हर कोही पाठकलाई विचलित बनाउँछ ।
यिनी जति सङ्घर्षशील छन् त्यति नै दयालु र परोपकारी । सासूको मृत्यु र त्यस सङ्ग जोडिएर आएको ऋण । त्यो ऋणका कारण ससुराको अमेरिका यात्रामा आउन लागेको अवरोध र त्यसको निराकरण गर्न लिएको अठोट पढ्दा पाठकको मनपनि साहसी भएको महसुस हुन्छ । ससुरा के गरौँ भनेर अन्यमनस्क भएको बेला उनले सम्पूर्ण बोझ आफूले लिएर ससुरालाई अमेरिका पठाइन । त्यति बेलासम्म अरूका कुरा सुनेर बुहारीलाई नराम्रो सोच बनाएका उनको ससुरालाई यश घटनाले ठुलै झड्का दिएर ब्युँझाई दिएको र त्यसपछि ससुरा आफ्नो खुलेर प्रशंसा गर्न त थालेको बताउँछिन् । सत्यको बाटोमा हिँड्नेले कुनै न कुनै दिन न्याय पाउँछ भन्ने शिक्षा यो कुराले पुस्तकका पाठकलाई दिन्छ ।
परोपकारका लागि त उनले गरेको आर्थिक र मानसिक लगानी वृन्दावनमा बनाएको धर्मशालाले प्रस्ट्याऊ छ । उनी अप्ठ्यारोमा परेको बेला उनलाई उनका साथीहरूले जसरी सहयोग गरेका छन् त्यो भन्दा माथि उठेर उनले अरू अप्ठ्यारो र बिपदमा परेका लाई सहयोग गरेकी छन् । गीतामा एउटा श्लोक छ । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । यही वाणी यिनको मूल मन्त्र जस्तो लाग्छ । कुनै पनि पुस्तक पडेपछि त्यसबाट ज्ञान लिन सकिएन भने पुस्तक पढ्नुको सार्थकता रहँदैन । आत्म वृत्तान्त आफ्नो गनगन लेखेर पूरा गर्नु भन्दा त्यसबाट आफूले भोगेका जीवनका तमाम घटना र दिनले दिने शिक्षाको प्रकाश गर्नु अति उत्तम हुनेछ । बिनु पोख्रेलले यो पुस्तक प्रकाशन गरेर त्यो कर्तव्य यहाँ पनि पूरा गरेकी छिन ।
पुस्तकमा वर्णन गरिएका सबै कथा व्यथा यो लेखमा प्रस्ट्याउन सम्भव छैन ।जीवनमा आएका चुनैतीहरु सङ्ग जुझ्न , समाजका प्रति मानवको के दाइत्व हुन्छ हुन्छ र त्यसलाई पूरा गर्न के गर्नुपर्छ जान्न , परिवारमा कसरी सन्तुलित व्यवहार गर्नुपर्छ त्यसलाई आत्म बोधका साथ अगाडीको यात्रा तय गर्न यो पुस्तक जीवनका अनुभूतिहरू उपयोगी सिद्ध हुनेछ । तसर्थ पुस्तक प्रेमी हरेकले यो पुस्तक अध्ययन र संग्रह गर्नु उपयुक्त हुने छ । पुस्तकका लागि लेखिका बिना पोखरेललाई हार्दिक बधाई ।
र यो पनि …