दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार स्वीकारोक्ति फाउन्डेसनलाई हस्तान्तरण
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार स्वीकारोक्ति फाउन्डेसनलाई शनिवार पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा हस्तान्तरण गरिएको छ।
विश्व भुटानी साहित्यिक संगठन (जीबीएलओ) द्वारा ह्यारिसबर्गको डेरी स्ट्रिटमा रहेको ग्लोबल तेक्वान्दो एकेडेमीमा आयोजित कार्यक्रममा पुरस्कार हस्तान्तर गरिएको हो।
जीबीएलओका अध्यक्ष पातलो अन्तरेका अनुसार युवा कवि लेखक साहित्यकार दिनेश चाम्लिङको स्मृतिमा गत जुन महिनामा नेदरल्याण्डमा भएको ग्रान्ड इन्टरनेसनल क्रिएटिभ सेरेमनीमा पुरस्कार घोषणा गरिएको थियो।
पुरस्कारको राशि पाँच हजार एक अमेरिकी डलर रहेको छ। चाम्लिङको स्मृतिमा उनका परिवारले प्रत्येक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएका छन्। यस अगाडि व्यक्तिलाई दिइँदै आइएको पुरस्कार पहिलो पटक संस्थालाई दिइएको हो।
दिनेश चाम्लिङका भाइ नरेश चाम्लिङले जीबीएलओका संस्थापक अध्यक्ष तथा स्वीकारोक्ति फाउन्डेसनका प्रतिनिधि एवं वरिष्ठ लेखक डेन्जोम साम्पाङलाई पाँच हजार एक अमेरिकी डलरको चेक हस्तान्तरण गरे।
‘दिनेश चाम्लिङ एक जना युवा लेखक स्रष्टा कवि गजलकार हुनुहुन्थ्यो।‘ कार्यक्रमको शुरुवात गर्दै जीबीएलओका वर्तमान अध्यक्ष पातलो अन्तरेले भने,’ लामो समय हामी सँगै काम गर्यौँ सँगै हिँड्यौँ एउटा कार्यक्रममा सँगै बसेर हातेमालो गरेर एउटै चियरमा बसेर सँगै सुतेर पनि कार्यक्रम गर्यौ तर आज हामी माझ हुनुहुन्छ तथापि उहाँको सम्झनामा उहाँको परिवारले सधैको उहाँको नाम विलीन रहोस् भन्ने हेतुले प्रत्येक तीन वर्षमा सर्जक अथवा कुनै पनि संस्थालाई उहाँको परिवार मार्फत यो पुरस्कार प्रदान गर्दै आउनुभएको छ।‘
अन्तरेका अनुसार स्वीकारोक्ति फाउन्डेसनको विषयमा र स्वीकारोक्ति सिद्धान्तको विषयमा अध्ययन गर्नका लागि सो पुरस्कार राशि रकम खर्च हुने छ।
पुरस्कार हस्तान्तरण पछि परिवारको तर्फबाट बोल्दै दिनेश चाम्लिङका भाइ नरेशले आफ्ना दाइका अधुरा सपना पुरा गर्नका लागि फाउन्डेशनलाई पुरस्कार प्रदान गरिएको बताए।
‘यहाँ धेरै साहित्य प्रेमीहरू हुनुहुन्छ धेरै संगीत प्रेमीहरू हुनुहुन्छ जो केही गर्नु भनेर अघि बढिरहनु पर्दछ तर विविध कारण हरुले उहाँहरूलाई भने जस्तो जोस जागार नभइरहेको अवस्थाहरू छ र हामी ती व्यक्तिहरूलाई प्रोत्साहन गर्न चाहन्छौँ प्रेरित गर्न चाहन्छौँ।‘ नरेशले भने।
द हेग युनिभर्सिटीका प्रोफेसर डीपी शर्मा, वरिष्ठ शिक्षक तथा समाजसेवी टीबी राई, वरिष्ठ लेखक लीला निशा , डेन्जोम साम्पाङ, भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बिसीएच) का पूर्व अध्यक्ष टिभी गुरुङ लगायतले स्वर्गीय दिनेश र उनको नाममा स्थापना भएको पुरस्कारको बारेमा धारणा राखेका थिए।
कार्यक्रममा सर्टिफाइड योगा इन्स्ट्रक्टर तथा साहित्यकार द्रौपदी प्रधान, अन्य साहित्यकारहरू एलबी प्रधान, गण्डकी पुत्र, त्रिविक्रम न्यौपाने, वसुधा रिजाल, निशा पाण्डे र ग्लोबल तेक्वान्दो एकेडेमीका संचालक तथा मुख्य प्रशिक्षक प्रकाश ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो।
पुरस्कार वितरण कार्यक्रमको पुरा भिडियो












