अमेरिकामा १८ जनालाई पछि पार्दै पाँच वर्षीय बालकले जिते नेपाली भाषामा कथा वाचन प्रतियोगिता

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ प्रतिस्पर्धी १८ जनालाई पछि पार्दै अमेरिकामा एक पाँच वर्षिया बालकले नेपाली भाषामा कथा वाचन प्रतियोगिता जितेका छन्।
क्रियामान फाउन्डेशनद्वारा आयोजित प्रतियोगितामा ह्यारिसबर्ग निवासी पाँच वर्षका बालक प्रतीक खनालले आठ सय अमेरिकी डलर नगद पुरस्कार रहेको उपाधि जितेका हुन्।
प्रतियोगितामा पाँच देखि १९ वर्ष उमेर समूहका २२ जनाले नाम दर्ता गराएकोमा १९ जना कथा वाचन प्रतियोगितामा सहभागी भएका थिए। सहभागिलाई अन्यले लेखेको कथा वाचन गर्न लगाइएको थियो।
त्यसमा खनालले एक सय २८ पूर्णाङ्कमा एक सय १९ अंक ल्याउँदै प्रथम भए। त्यसो त आठ जनाको निर्णायक समूहले दिएको अङ्कमा रेश्मा ओडारीले पनि एक सय १९ अंक नै ल्याए पछि गोला प्रथाको आधारमा पहिलो र दोस्रो स्थानको छनौट गरिएको थियो।
निर्णायक मण्डलीमा गङ्गाराम लामिटारे, निशा लीला, द्रौपदी प्रधान, डेन्जोम साम्पाङ, डीपी शर्मा मैनाली, नवीन शर्मा भट्टराई, विष्णु लुइँटेल र धर्मेन्द्र तिम्सिना रहेका थिए।
खनालले ‘बाघ जुँगे काका’ शीर्षकको कथा वाचन गरेका थिए। निर्णायक मण्डलका सदस्य नवीन शर्मा भट्टराईका अनुसार प्रतिस्पर्धी छनौटमा चार मापदण्ड तोकिएको थियो।
‘भाषा नियन्त्रण, पाठन शैली, श्रोतासँगको संलग्नता, आत्मविश्वास र उद्यमलाई हामीले अंक दिने आधार मानेका थियौ।‘ भट्टराईले भने।
‘भाषा स्पष्ट सरस र सजिलै बुझ्न सकिन्छ भने उसलाई चार, सन्तोषजनक शीर्षकमा छ भाषा प्राय साना त्रुटिका साथ स्पष्ट र सन्तोषजनक छ भने उसलाई तीन र स्वीकार योग्य छ केही त्रुटिका साथ अस्पष्ट छ तर स्वीकारजन्य छ भने त्यसलाई दुई र भाषा अस्पष्ट र त्रुटिपूर्ण छ, र त्रुटि बारम्बार दोहोरिन्छ भने त्यसलाई एक, त्यसरी हामीहरूले चार वटा मापदण्ड राखेका थियौँ।‘ उनले प्रतिस्पर्धीलाई अंक दिने आधार पनि प्रस्टाएका थिए।
प्रतिस्पर्धामा कौस्तुभ रिजाल एक सय १८ अंक सहित तेस्रो भए। यस्तै एक सय १७ अंक ल्याएकी रोशनी ओडारी चौथो र एक सय १६ अंक सहित दिव्या घिमिरे पाँचौँ भइन्।
आयोजकले पाँचौँ स्थान सम्म हासिल गर्नेलाई नगद पुरस्कार र केही थान पुस्तक दिएका थिए।
कथा वाचन विजेता खनाल किन्नर गार्डेनमा अध्ययनरत विद्यार्थी हुन्। उनी अमेरिकामा औपचारिक रुपमा स्कुल जान थालेको दुई वर्ष मात्र भएको छ। अमेरिकी स्कूलमा नेपाली पढाइदैन।
‘उसले नेपाली घरमै सिकेका हुन्, मैले क ख क ख देखि सिकाएको हुँ।‘ खनालका पिता पदम खनालले भने, ‘सिक्दै सिक्दै अहिले उसले गीता पढ्न सुरु गर्यो। अहिले गीता पनि भन्छ। उसले दुई वर्षको हुँदा खेरि दुई अध्याय गीता चाहिँ नहेरी भन्थ्यो।‘
खनाल परिवार भुटानबाट नेपाल हुँदै सन् २००९ मा अमेरिका आएका हुन्। पदम खनाल सन् २०१३ मा फ्लोरिडाबाट ह्यारिसबर्ग बसाई सरेका हुन्। पदमका दुई छोरी र एक छोरा छन्। उनले आफ्ना बच्चाहरूले घरमा नेपाली बोल्न अप्ठेरो नमान्ने गरेको बताए।
‘यो चाहिँ के हुँदो रहेछ भने तपाईँको बाउआमामा धेरै फरक पर्दो रहेछ। घरमा हामीहरूले कसैले इंग्लिस बोल्छ भने त्यसलाई कम गरेर नेपाली शब्दहरू प्रयोग गरियो भने बच्चाहरूलाई सिकाउन सजिलो हुने रहेछ।‘ पिता पदम खनालले भने।
अमेरिकामा जन्मिएर पाँच वर्षको उमेरमै प्रष्ट नेपाली बोल्ने प्रतीक विजेता घोषित हुँदा हर्षित देखिएका थिए। उनले आफूले जितेको आठ सय डलर पिकीबैकमा जम्मा गर्ने प्रतिक्रिया दिए।
प्रतियोगिता आयोजक संस्था क्रियामान फाउन्डेशनका कार्यकारी निर्देशक भरत तिमिल्सिनाले समुदायमा मानसिक स्वास्थ्य बारेमा चेतना जगाउन आफूहरूले यस्तो कार्यक्रम आयोजना गरेको प्रतिक्रिया दिए।
यस्तै वरिष्ठ साहित्यका गण्डकी पुत्रले यस्ता कार्यक्रममा अमेरिकामा नेपाली भाषा जोगाउने प्रतिक्रिया दिए।
‘आज जुन किसिमको कार्यक्रम भयो म धेरै अगाडि देखि यस्तो कार्यक्रमको पक्षमा थिए।‘ गण्डकी पुत्रले भने, ‘आज बालबालिकाहरूले जसरी नेपालीमा कथा वाचन गरे त्यसले खुसी छु। अभिभाकले अलिकति मात्र ध्यान दिने हो भने हाम्रो भाषा जोगाउने रहेछन्।‘
प्रतियोगितामा प्रस्तोतामा पातलो अन्तरे र सह प्रस्तोतामा कमला घिमिरे रहेका थिए।