आफ्नो हकका लागि रोएर बस्ने होइन लडेर लिनुपर्छ : उपेन्द्र यादव
|
Getting your Trinity Audio player ready...
|
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो हक प्राप्तिका लागि रोएर बस्नु भन्दा लडाई लडेर लिनुपर्ने बताएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित समाजवादी दलित मुक्ति संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दलित समुदायको हकहितका लागि संघर्ष गर्न आह्वान गरेका छन् ।
उनले जसपा नेपाल पार्टी दलितको हकहितका लागि सङ्घर्षरत रहेको र अगाडि पनि संघर्ष जारी राख्ने बताए । उनले आफूहरूको लडाईमा दलित समुदायलाई साथ दिन आग्रह गरे । उनले अहिलेको परिस्थितिमा रोएर बसे भने अधिकार प्राप्त नहुने बताउँदै सबैले लडेर अधिकार प्राप्ति गर्नुपर्ने जनाए ।
अध्यक्ष यादवले लोकतन्त्रमा सबै जनाले समान अधिकार पाउने पर्नेमा देशमा अहिले पनि जाती र समुदायहरूका बीच विभेद कायम रहेको बताउँदै जनता समाजवादी पार्टीले यस परिस्थितिलाई चिरेर सबैलाई समान अधिकार दिलाउने जानकारी दिए ।
नेपालमा सबै भन्दा बढी जनसंख्या दलित समुदायको भए पनि अधिकारमा भने सबै भन्दा पिछडिएको दलित समुदाय नै रहेको उनले बताए ।
अध्यक्ष यादवले सबै दलितलाई संगठित भई जसपा नेपालको संघर्षमा साथ दिन आह्वान गरे । उनले मधेश र मधेशमा बसोबास गर्ने सबै जातजाति र समुदायले अधिकार प्राप्त नगरेसम्म आफूहरू लडिरहने बताए ।








