एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गर्दै

काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेश कुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई नगद र जिन्सी हस्तान्तरण गर्ने भएको छ। हस्तान्तरण कार्यक्रम शुक्रबार ललितपुर कुपन्डोलस्थित होटेल हिमालयमा आयोजना गरिएको छ।
“ एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन गराउँदा बचेको ८० लाख बढी रकम र अन्य जिन्सी सामग्री नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न लागेका छौँ,” उच्च स्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले भनिन्। उनले यो कार्यक्रमले एनआरएनएको एकता र पारदर्शितालाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गरिन्।
सर्वोच्च अदालतको २० चैत २०८० को फैसलाअनुसार एनआरएनएमा देखिएको लामो समयदेखिको विवाद समाधान गर्न संघका पूर्व अध्यक्ष शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको थियो। सर्वोच्चको निर्देशनअनुसार समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिइएको थियो। समितिको पहिलो बैठकले एकता महाधिवेशन काठमाडौँ आयोजना गर्ने निर्णय गरेको थियो ।
गत वैशाख २०-२१ (मे ३–४, २०२५) मा काठमाडौँको हायात होटेलमा आयोजित एकता महाधिवेशनले सन् २०२५-२०२७ कार्यकालका लागि महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो।
एकता महाधिवेशनको उद्घाटन सत्रमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सहभागिता जनाएकी थिइन्। उनले सम्मानित सर्वोच्च अदालत र नेपाल सरकारले एकता महाधिवेशनलाई मान्यता दिएको उल्लेख गर्दै भनेकी थिइन्, “हामी एक मात्र एनआरएनएलाई मान्यता दिन्छौँ। यो नै आधिकारिक हो, सबै एकजुट हुनुपर्छ।”
यसै गरी परराष्ट्र मन्त्रालयले गत मे २२, २०२५ मा विश्वभरका नेपाली कूटनीतिक नियोगहरूलाई पत्राचार गरी महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद् ) नै आधिकारिक भएको जानकारी गराएको थियो।