वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको समस्या सम्बोधनका लागि एनआरएनए र आईएलओबीच सम्झौता

काठमाडौं / गैर आवासीय नेपाली संघ (एनआरएनए) डा. बद्री केसी समूह र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबिच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको समस्या सम्बोधनका लागि सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क’ परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।
संघको सचिवालयमा मंगलबार स्वीस विकास तथा सहयोग संस्था (एसडीसी) को सहयोगमा सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क परियोजना दोस्रो चरणको कार्यान्वयनका लागि दुई संस्थाबिच सम्झौता भएको हो ।
आईएलओ नेपालका निर्देशक नुमान ओजकान र एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार मुख्यतया मध्यपूर्व र मलेसिया लगायतका गन्तव्य मुलुकहरूमा एनआरएनएको संस्थागत क्षमता अभिवृद्धिका साथै नेपाल सरकारसँग नीतिगत वकालत एवं पैरवी, श्रमिकलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता, महिला र अलेखबद्ध (अवैधानिक) अवस्थामा रहेका श्रमिकहरूलाई कानुनी परामर्श, सचेतना अभिवृद्धि लगायतका विषयहरूलाई यस परियोजनाले प्राथमिकतामा राखेर काम गर्ने जनाइएको छ ।
यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।
उक्त अवसरमा आईएलओ नेपालका निर्देशक ओजकानले ‘एनआरएनलाई रणनैतिक साझेदार मित्रका रुपमा लिइएको र यस संस्थाको विश्वव्यापी सञ्जालका माध्यमबाट विदेशमा रहेका नेपाली श्रमिकहरूले भोग्नुपरेका समस्या समाधानका लागि यो परियोजनाले सहयोग पुर्याउने बताए।
उनले भने, “नेपाली श्रमिकहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड हुन्, तर विदेशमा उनीहरूले असुरक्षित कार्यस्थिति, कानुनी सुरक्षाको अभाव, र एक्लोपनको सामना गर्नुपरेको छ । एनआरएनए सँगको सहकार्यले संस्थागत सुदृढीकरण र मानसिक स्वास्थ्यमा टेवा पुर्याउनेछ । हाम्रो लक्ष्य प्रवासी श्रमिकहरूलाई सुरक्षित, मर्यादित र अधिकारसहितको रोजगारीका लागि प्रणाली निर्माण गर्ने नै हो ।”
एनआरएनए–आईसीसी अध्यक्ष डा. केसीले एनआरएनएले आप्रवासी नेपाली श्रमिकहरू तथा गैर आवासीय नेपालीहरूको हक हितका लागि एनआरएनएले सधैँ बहस तथा पैरवी गरिरहेको बताए।
“हामीले दुई दशक लामो इतिहासमा ९० भन्दा बढी देशमा समन्वय परिषद् (एनसीसी) स्थापना गरेका छौँ जसमा ८०,००० भन्दा बढी पञ्जीकृत सदस्यहरू छन् । सरकारको विश्वासिलो साझेदारको रूपमा, एनआरएनएले प्रवासी श्रमिकहरूको अधिकार र हितका लागि निरन्तर काम गर्दै आएको छ ।” डा. केसीले भने, “यो साझेदारी विदेशमा रहेका श्रमिकहरूको समस्या समाधानका लागि एक सुनौलो अवसर हो, जसलाई हामी पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्नेछौं।”
एनआरएनकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विदेशको श्रम बजारमा रहेका युवा, महिला तथा पछाडि पारिएका श्रमिकहरूका अवसर तथा जोखिमका विषयमा चर्चा गरेकी थिइन्।
कोभिड–१९ को महामारीका बेलामा समेत एउटा महत्त्वपूर्ण परियोजना मार्फत सफलतापूर्वक सहकार्य सम्पन्न भइसकेको र यसका कतिपय असल अभ्यास तथा सिकाइहरूबाट यो दोश्रो सहकार्य तथा साझेदारीता पनि सफलता पूर्वक सम्पन्न हुनेमा विश्वस्त रहेको डा केसीले उल्लेख गरे।
यो साझेदारी सेप्टेम्बर २०२५ देखि मे २०२६ सम्म ९ महिनाको अवधिमा सञ्चालन हुनेछ । कोभिड–१९ महामारीको समयमा दुवै संस्थाले हजारौँ नेपाली श्रमिकहरूलाई सहयोग पुर्याएको सफल सहकार्यलाई आधार बनाएर यो कार्यक्रम अगाडि बढाइएको जनाइएको छ।
यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा आईएलओ नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर, नुमन ओजकान, राष्ट्रिय कार्यक्रम संयोजक रोनी प्रधान धौभडेल तथा सञ्चार अधिकृत निष्ठा रायमाझी र एनआरएनएका तर्फबाट अध्यक्ष डा.बद्री केसीका साथै महिला उपाध्यक्ष रोजिना प्रधान राई, सल्लाहकारहरू अतुल कोइराला र हिराधन राई र एनआरएन अभियन्ता बाबा राजेश्वरी थापा र रोविन बज्राचार्यको पनि उपस्थिति रहको थियो ।
साथै उक्त कार्यक्रममा एनआरएन डेभलपमेन्ट फण्डका सिईओ अनलराज भट्टराई र संघको सचिवालयका सिईओ राजेन्द्र कुमार राउतका साथै अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सिईओ राजेन्द्र कुमार राउतले गरेका थिए ।