पेन्सिल्भेनिया राजधानी ह्यारिसबर्ग डाउन टाउनको ‘तिज’

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ नेपाली महिलाहरूको विषेश पर्व ‘तिज’ ले अहिले के स्वदेश के विदेश सबै तिर छोएको छ।
राता सारिमा धपक्क सजिएर, गाउँ शहर, देश विदेश सबै तिर दर खादै गरेको, नाच्दै गरेको फोटा र भिडियो सामाजिक सञ्जालमा छ्याप छ्याप छन्।
यसले पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग वरपर बस्ने नेपालीहरूलाई पनि नछुने कुरै भएन। यस अगाडि सामान्य रेस्टुरेन्ट वा वेसमेन्टमा तिज मनाउँदै आएका उनीहरुले यस पटक भने ह्यारिसबर्गको डाउन टाउनमा रहेको स्ट्रबेरी स्क्वायरमा त्यो अवसर पाए।
नेपाली चेलीहरूलाई राता सारीमा क्यापिटल भवनको आडैमा उतार्ने काम माउन्ट एभरेष्ट रेष्ट्रुरेन्टले गरेको थियो। गत शनिवार साँझ बीस रुपैयाँको टिकट काटेरै एक सय ५० जना भन्दा धेरै महिला पुरुष तिज मनाउन स्ट्रबेरी स्क्वायर पुगेका थिए।
अर्गनाइजेशन फर हिन्दु रिलिजन एण्ड कल्चर (ओएचआरसी) का नेपाली शिक्षा कार्यक्रमको कार्यक्रम निर्देशक नवीन शर्मा भट्टराईले ह्यारिसबर्ग बसाईको २० वर्षमा पहिलो पटक फरक अनुभूति गरेको प्रतिक्रिया दिए।
‘तीजको कार्यक्रममा त मैले अहिले सम्म कुनै एटेन्ड गरेको थिएन। यो पहिलो चोटि हो मेरो। आज यसो हेर्दा खेरि रमाइलै हुन्छ जस्तो लाग्दै छ। र यो ठाउँ चाहिँ अब हामीहरूले यसो बेलाबेलामा विचार गर्दै गर्नु पर्छ जस्तो मलाई लागेको छ।‘ श्रीमती सहित तिज मनाउन आएका भट्टराईले भने।
यस्तै दुई दशक भन्दा बढी समय देखि ह्यारिसबर्ग आसपास बस्दै आएका चिकित्सक क्षेत्रमा कार्यरत रूपक ज्ञवालीले पनि डाउन टाउनमा तिज कार्यक्रम हुनु नेपालीका लागि गौरवको विषय भएको प्रतिक्रिया दिए।
‘स्ट्रबेरी स्क्वायर, पेन्सिल्भेनियाको राजधानी, डाउन टाउनको यस्तो इम्पोर्टेन्ट ठाउँमा हामीले पहिलो पटक नेपालीको तीज कार्यक्रम हुनु हामी सबै नेपालीको लागि गौरवको कुरा हो।‘ज्ञवालीले भने।
कार्यक्रममा सहभागीहरूले शुरुमा दर खाए। त्यसको व्यवस्था पनि माउन्ट एभरेष्ट रेष्ट्रुरेन्टले नै गरेको थियो। खानमा विषेश गरी सेल रोटीको प्रायसले प्रशंसा गरेका थिए।
कार्यक्रम आयोजक माउन्ट एभरेष्ट रेष्ट्ररेन्टकी सञ्चालिका सरिता लामाले डाउन टाउनमा पनि नेपालीहरूको कार्यक्रम होस भनेर आफूहरूले यस्तो कार्यक्रम आयोजना गरेको बताइन।
‘खासमा यो मेरो श्रीमानको अवधारणा हो, हाम्रो ह्यारिसबर्गमा थुप्रै नेपालीहरू छन् तर डाउन टाउनमा अहिलेसम्म ठुलो भेटघाट भएको थिएन, यो राजधानी हो, क्यापिटल हिलको सामुन्ने तीजको मौका छोपेर हामीले नेपाली समाजको कार्यक्रम गरेका हौ।‘उनले भनिन्।
लामाले आफूले सोचेको भन्दा राम्रो कार्यक्रम भएको दाबी गरिन्।
‘सबै जनाले साथ दिनुभयो। आफ्नो काममा छुट्टी हालेर भए पनि आउनुभएको छ।‘उनले भनिन्।
आफूहरूले अब हरेक तिजमा नियमित नै कार्यक्रम आयोजना गर्ने योजना बनाएको पनि लामाले बताइन्।
दर खाए पछि सहभागीहरूले स्ट्रबेरी स्वायरको ठूलो हलमा नाचगान गरेका थिए। स्थानीय बालिकाहरूको सुन्दर नृत्य पछि लोक गायिका निशा सुनुवारले गीत गाउँदै सहभागीलाई नचाएकी थिइन।
माउन्ट एभरेष्ट रेस्ट्रुरेन्टका संचालक श्री पुनले आफूले डाउन टाउनमा पनि हाम्रो समाजको कार्यक्रम गर्ने ठाउँ छ भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरेको बताए।
‘यहाँ अरू समुदायको पनि कार्यक्रम हुँदै आएको छ, हामीले हाम्रो समुदाय पनि डाउन टाउनमा आउन पर्छ, त्यसका लागि ठाउँ छ भन्नका लागि यो कार्यक्रम गरेका हौ।‘उनले भने।