वासिङटनमा हुने विश्वकप फुटबलको ड्र मा फ्यान समेत सहभागी हुन पाउने

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ को समूह चरणको ड्र यो वर्षको अन्त्यमा हुने भएको छ।
सन् २०२६ मा हुने विश्वकपका लागि सन् २०२५ को डिसेम्बर ५ मा ड्र हुने विश्व फुटबलको प्रशासनिक निकाय फिफाले जनाएको छ।
विश्वकप फुटबल २०२६ आगामी वर्ष उत्तर अमेरिकाका मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ। अर्को वर्ष हुने फिफा विश्वकपमा ४८ टोलीको सहभागिता हुनेछ। प्रतियोगिताका खेलहरू तीन देशका १६ वटा शहरमा हुनेछन्।
अमेरिकाको एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, कन्सास सिटी, लस एन्जलस, मायमी, न्यूजर्सी, फिलाडेल्फिया, सियाटल र सान फ्रान्सिस्को बे एरिया गरी ११ वटा शहरमा खेल हुनेछन्।
क्यानडाको टोरन्टो र भ्यान्कुवरमा खेल हुँदा मेक्सिकोको मेक्सिको सिटी, ग्वादलाखारा र मोन्टेर्रेमा विश्वकपमा खेल हुनेछन्।
डिसेम्बरमा अमेरिकाको राजधानी वासिङटन डीसीको प्रतिष्ठित ‘केनेडी सेन्टर’मा ड्र हुनेछ। त्यसपछि कुन टोलीले कोसँग कुन शहरमा खेल्नेछ भन्ने टुंगो लाग्नेछ।
ड्र कार्यक्रमा टोलीका अधिकारी, विभिन्न देशका राजदूत, आयोजक शहरका प्रतिनिधि र विश्वभरका सञ्चारकर्मीको उपस्थिति रहने फिफाको भनाइ छ।
इतिहासमा पहिलो पटक फिफाले आयोजक १६ सहरका (क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११) फुटबल फ्यानलाई कार्यक्रममा सहभागी हुने विशेष अवसर प्रदान गर्ने भएको छ। एक विशेष लोटरीमार्फत छानिएका भाग्यशाली विजेताहरूले भिआईपी अनुभवसहित कार्यक्रममा निःशुल्क प्रवेश पाउनेछन्।
ड्र स्थानीय समयअनुसार दिउँसो १२ बजे (नेपाली समयअनुसार राति १०:४५ बजे) सुरु हुनेछ। आयोजक राष्ट्रहरू मेक्सिको समूह ‘ए’ को पहिलो, क्यानडा समूह ‘बी’ को पहिलो र अमेरिका समूह ‘डी’ को पहिलो टोली हुने पक्का भइसकेको छ।
विश्वकप २०२६ मा कुल ४८ टोलीले प्रतिस्पर्धा गर्ने भए पनि ड्र हुँदासम्म ४२ टोलीको टुंगो लागिसकेको हुनेछ। आयोजक राष्ट्रसहित १० अन्य टोलीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। छनोट हुनेमा साविक विजेता अर्जेन्टिना, ब्राजिल, अस्ट्रेलिया, इरान, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड र इक्वेडर छन्। यसैगरी जोर्डन र उज्वेकिस्तान पहिलो पटक विश्वकपमा डेब्यू गर्दैछन्।
४२ टोली बाहेक बाँकी ६ टोलीको टुंगो भने २०२६ को मार्चमा हुने प्ले-अफ खेलबाट लाग्नेछ। विश्वकप २०२६ उद्घाटन खेल ११ जुन २०२६ मा मेक्सिको सिटीमा र फाइनल खेल १९ जुलाईमा न्युयोर्क न्यु जर्सीमा हुनेछ।
र यो पनि …