आईओएम प्रमुख हेलन फोर्स र एनआरएनए अध्यक्ष डा. बद्री केसी समूहबिच आपसी समन्वय र सहकार्यका विषयमा छलफल

Getting your Trinity Audio player ready...
|
काठमाडौं / अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन नेपालकी प्रमुख हेलन फोर्स र गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी समूह बीच शुक्रबार एक विशेष भेटवार्ता सम्पन्न भएको छ ।
भेटका क्रममा आप्रवासन, आपसी समन्वय, र भावी सहकार्यका विविध पक्षहरूमा गहन छलफल भएको केसीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दुवै पक्षले नेपाली आप्रवासीहरूको हितमा मिलेर कार्य गर्न सकिने सम्भावनाहरूको समीक्षा गरिएको जनाइएको छ । आईओएम नेपाल र एनआरएनएले लामो समयदेखि सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासन प्रवाहका लागि सहकार्य गर्दै आएको छ ।
भेटमा डा. केसीले आप्रवासनका साझा सरोकारमा काम गर्ने विषयमा सकारात्मक रहेको र एनआरएनए र आईओएमबीच भविष्यमा अझ सशक्त सहकार्य हुनसक्ने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
आईओएम प्रमुख फोर्सले पनि एनआरएनएले विश्वभरि रहेका नेपालीहरूको हितमा गरिरहेको कार्यको प्रशंसा गर्दै संस्थाबिचको
सहकार्यले दीर्घकालीन प्रभाव पार्न सक्ने बताएको जनाइएको छ।
उक्त अवसरमा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले संघका विविध कार्यक्रम लगायत समसामयिक विषयहरूमा थप प्रकाश पारेका थिए।
छलफलमा आइओएम नेपालको आप्रवास तथा विकास विभाग प्रमुख प्रज्वल शर्मा र एनआरएनएका तर्फबाट सहायक निर्देशक महेश श्रेष्ठ, वरिष्ठ अधिकृत कुनाल मिश्र, वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरेको उपस्थिति रहेको थियो ।