भारत र चीनले नेपालको भूमिबारेको सम्झौताविरुद्ध उभिन गगन थापाको आव्हान
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरू एक भएर उभिनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आ–आफ्ना मत–मतान्तर भए पनि भारत र चीनले गरेको सहमतिप्रति घरेलु राजनीतिकको विषय नबनाई एकै ठाउँमा उभिन आग्रह गरेका हुन् ।
उनले भने, ‘विषयमा नेपालमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । हिजो पनि उभिएका थियौ आज पनि उभिनुपर्छ । म नेपाली कांग्रेस पार्टीको तर्फबाट आग्रह गर्न चाहन्छु,’ सांसद थापाले भने, ‘हाम्रा आफ्ना मतमतान्तर आफ्ना ठाउँमा छन् । प्रतिस्पर्धा आफ्ना ठाउँमा छन् । हामी कसैले पनि यस विषयलाई घरेलु राजनीतिकको विषय नबनाऔँ ।’
उनले दुई छिमेकीहरूले गरेको सम्झौताप्रति नेपाली कांग्रेस असहमत रहेको भन्दै त्यसप्रति आपत्तिजनक रहेको पनि बताए ।
‘हाम्रा दुई छिमेकीहरू भारत र चीनले भूमिको बारेमा हाम्रो अनुपस्थितिमा एउटा निर्णय गरेछ । सम्झौता गरेकामा पढ्यौ, सुन्यौ । कांग्रेस पार्टी दुई छिमेकीहरूको व्यवहारप्रति असहमति छ । यो आपत्तिजनक छ । अस्वीकार्य छ,’ उनले भने ।
थापाले नेपाल सरकारले यस सन्दर्भमा लिएको पहलकदमीले सबैलाई समेटेर अगाडि बढाउनुपर्ने पनि बताए ।
महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुनेमा थापाको जोड छ ।












