एनआरएनए अमेरिका विकास उप्रेती समितिले तोक्यो प्रवक्ता र आइटी कोअडिनेटर

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ विकास उप्रेती अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले प्रवक्ता र आइटीकोअडिनेटरको मनोनयन गरेको छ।
उप्रेतीले बुधवार प्रवक्तामा द्रोण गौतम र आइटी कोअडिनेटरमा विजय थापालाई मनोनयन गरेका हुन्।
एनआरएनए अमेरिकामा यस पटक दुई पटक चुनाव भएका थिए। जुलाइमा भएको चुनावमा अध्यक्षमा विकास उप्रेती सहित कार्यसमिति नै निर्विरोध चयन भएको थियो। यस्तै अगस्तमा भएको निर्वाचनमा अध्यक्षमा सतेन्द्र साह निर्वाचित भएका थिए।
एनआरएनएमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा पनि महेश श्रेष्ठ र डा. बद्री केसीको अध्यक्षतामा दुई समिति वैधानिकताको लडाइमा छन् । दुई समितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा विचराधिन छ।
विकास उप्रेती समितिलाई आइसीसीमा बद्री केसी समूहले मान्यता दिएको छ। मंगलवार मात्र एकता भेलाको आह्वान गरेका अध्यक्ष उप्रेतीले बुधवार दुई पदाधिकारीको नियुक्ति गरेका हुन्।
प्रवक्तामा मनोनयन भएका गौतम नेपालमा गुल्मीका हुन । विगत २२ वर्ष देखि अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा बसोबास गर्दै आएका गौतम नेपाली एसोसिएसन अफ ह्युस्टनका पूर्व उपाध्यक्ष हुन्। हाल उनी सोही संस्था र गुल्मी समाज ह्युस्टनको सल्लाहकार छन्।
सन् २०१७-२०१९ मा एनआरएनए टेक्सस च्याप्टरका उपाध्याय रहेका गौतम, २०२३- २०२५ मा एनसीसी सचिवालय सदस्य, टेक्सस च्याप्टर सल्लाहकार र आइसीसी डेलिगेट हुन्।
गौतमले विधान अनुसार बनेको संस्था नै आधिकारिक हुने दाबी गरे।
‘जुन कमिटी विधान अनुसार बनेको हुन्छ त्यो नै आधिकारिक कमिटी हुन्छ ।‘ उनले भने, ‘यदि आइसिसीको अन्डर नहुने हो भने अमेरिकामा एनआरएनए चाहिँदैन। आइसिसी बिनाको संस्था अन्य स्थानीय संस्था जस्तै हो जुन संस्था अहिले अमेरिकाका हरेक शहरमा छन्।