सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता गरिदैनः गगन थापा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता नगर्ने बताएका छन् ।
बुधबार प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन तथा नन्दप्रसाद जानुका स्मृति सम्मान हस्तान्तरण कार्यक्रममा उनले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नभएको भन्दै नेपाली काङ्ग्रेसले सत्ताको लागि सम्झौता नगर्ने बताए ।
उनले भने, ‘काङ्ग्रेस पार्टीले चुनाव लड्छ, जित्न कोशिस गर्छ । सत्तामा जान्छ, शक्तिको अभ्यास गर्छ । त्यस कारण चुनाव महत्त्वपूर्ण छ र जित्ने आशा राख्ने कुरा स्वाभाविक हो । तर, त्यो सबै कुरा होइन । सत्ता र शक्तिमा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन । हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गर्नुपर्यो भने त्यसरी प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्योसँग सम्झौता गरेर सत्ता प्राप्त गर्ने वा सत्तामा टिकिराख्ने कुरा हाम्रो लागि कहिले पनि प्राथमिकताको विषय भएन् ।’
यस्तै, उनले प्रजातन्त्रमा संख्याको आधारमा गरिने निर्णय वैधानिक भए पनि संख्या छ भनेर जे पनि गर्न नपाइने भन्दै प्रजातन्त्र चल्नको लागि वैधानिक मात्र भएर हुँदैन वैद्य हुनुपर्ने बताए ।
उनले भने, ‘हामीले जहिले हिजोबाट सिक्ने हो । जन कल्याणको विषयलाई काङ्ग्रेसले मूल विषय बनाउनु पर्ने छ । हामी निर्वाचन लडेर सरकार बनाउँछौ त्यो संख्याको आधारमा हुन्छ । तर संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ र मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा निर्णय गरियो वैधानिक हुन्छ तर सबै पार्टीको सदस्यले स्वीकार गर्यो भने वैद्य हुन्छ । प्रजातन्त्र चल्नको लागि वैधानिक मात्र भएर हुदैँन् वैद्य हुनुपर्छ । ’
नेपाली समाजमा रहेको चरम असन्तुष्टि हटाउने कुरा आजको राष्ट्रिय मुद्दा भनेको भन्दै यसको लागि काङ्ग्रेसभित्र आत्मविश्वास र शुद्धता आवश्यक हुने पनि उनको भनाई छ ।
उनले भने, ‘आजको राष्ट्रिय मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नु पर्नेछ । कतिपय कुराहरू ठिक छैन, प्रायोजित छ यो सबै कुरालाई बुझ्नु पर्ने छ र त्यसलाई सम्बोधन गरेर अगाडि बढ्ने काङ्ग्रेसको जिम्मेवारी हो । यसको लागि काङ्ग्रेसभित्रै नै आत्मविश्वास र शुद्धता चाहिएको छ । यसको लागि काङ्ग्रेसले हामी कहाँबाट आएको हो भनेर फर्किएर हेर्नुपर्छ ।’
सोही क्रममा गृहमन्त्री एवं काङ्ग्रेसका नेता रमेश लेखकले पनि वर्तमान समयमा देखिएको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्थाको एउटा सुन्दर भवन नन्दप्रसाद जस्ता प्रजातन्त्रका सेनानीहरूले गर्दा सम्भव भएको भन्दै यो जगलाई सधैँ स्मरण गर्नुपर्ने बताए।
उनले भने, ‘हामी लोकतन्त्रको कुरा गर्छौ, राम्रो व्यवस्थाको कुरा गर्छौ । त्यो लोकतन्त्र र राम्रो व्यवस्था जुन आज मुलुकले प्राप्त गरेको छ । यो त्यति कै आएको होइन । तर यो व्यवस्था कसरी आयो त्यसको जग नै बिर्सिने हो भने त्यो व्यवस्था ढल्छ । त्यस कारण आज हामी जुन लोकतान्त्रिक व्यवस्थामा छौ, त्यो लोकतन्त्र प्राप्ति प्रजातन्त्रका सेनानीहरूले गर्दा भएको हो । आज हामी संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्थाको एउटा सुन्दर भवन देखि रहेका छौ यसमा नन्दप्रसादजी जस्ता प्रजातन्त्रका सेनानीहरू जगको रुपमा रहनु भएको हुनाले निर्माण सम्भव भएको हो । त्यस कारण यो जगलाई हामीले सधैँ स्मरण गर्नुपर्छ ।’












