क्यानडामा विद्वत् अनुसन्धान सम्मेलन सम्पन्न

Getting your Trinity Audio player ready...
|
अटवा – क्यानडा नेपाल फोरम फर रिसर्चद्वारा आयोजित चौथो अटवा रिसर्च कन्फरेन्स राजधानी अटवामा सम्पन्न भएको छ।
अटवा विश्वविद्यालयमा आयोजित बौद्धिक बहस र अनुसन्धान केन्द्रित उक्त सम्मेलनको उद्घाटन गर्दै क्यानडाका लागि नेपाली राजदूत भरत राज पौड्यालले क्यानडा नेपालको भरपर्दो मित्र भएको बताए ।
उनले नेपालले वर्षेनी क्यानडाबाट झन्डै रु ७ अर्ब बराबरको सरसामान आयात गरिरहेको र रु एक अर्ब बराबरको निर्यात गरिरहेको बताउँदै क्यानडामा नेपालबाट निर्यात वृद्धि गर्ने पर्याप्त सम्भावना रहेको जनाए। राजदूत पौड्यालले नेपालमा राजदूतावास स्थापना गर्न क्यानडा सरकारलाई अनुरोध गरिएको पनि बताए ।
सम्मेलनमा न्यु ब्रन्सविक विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक प्रा. बासु शर्माले “नेपालमा संघीयताका चुनौतीहरू” विषयमा कार्यपत्र प्रस्तुत गर्दै १३१ भाषा र १२३ जातीय समुदाय रहेको नेपालमा संघीयताको सफल कार्यान्वयन चुनौतीपूर्ण रहेता पनि एकता र विविधताबीच सन्तुलन ल्याउन नेपालले संघीय प्रणाली अपनाएको बताए ।
सम्मेलनमा क्यानडाको न्यु ब्रन्स्विक विश्वविद्यालयका एसोसियट प्रोफेसर डा दिनेश गजुरेल, युनिभर्सिटी अफ कार्लटनमा कार्यरत एसोसियट प्राध्यापक संजीना डांग सुवेदी, वेस्टर्न युनिभर्सिटीका सहायक प्राध्यापक डा अनुप बस्नेत, लाभल युनिभर्सिटीका डा शिवहरि गौतम, क्विन्स युनिभर्सिटीका डा होमनाथ घर्ती, वाटरलु युनिभर्सिटीका दीपक विश्वकर्मा, सोही युनिभर्सिटीकी उपासना आचार्य, युनिभर्सिटी अफ अटवाका डा भानुभक्त आचार्य, अर्थशास्त्री डा राम सी आचार्य, भूगर्भशास्त्री सन्तमान राइ, न्याचुरल रिसोर्सेज क्यानडामा कार्यरत वीरेन्द्र सापकोटा तथा पत्रकार भगीरथ योगीले विभिन्न विषयमा अनुसन्धानमूलक प्रस्तुति गरेका थिए। त्यस्तै सम्मेलनमा युनिभर्सिटी अफ अटवामा अध्ययनरत कुसुम शर्मा, इशिका त्रिपाठी, इदिका पौडेल, शेलिना पौडेल, आस्था साह, आभा रंजितकार, सुभेश कुमार श्रेष्ठ, युनिभर्सिटी अफ अटवाबाट पिएचडी गरिरहेका महनीश जङ्ग थापा, युनिभर्सिटी अफ कार्लटनमा अध्ययनरत ब्रिटिका पौडेल, मेमोरियल युनिभर्सिटी अफ न्यु फाउन्डल्याण्डमा अध्ययनरत साधना बन्जाडे, युनिभर्सिटी अफ लाभलमा अनुसन्धानरत बिबेक भण्डारी तथा बिबेक सुवेदी लगायतले प्रस्तुति गरेका थिए।
डा आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
दुई दिने सम्मेलनले अटवा विश्वविद्यालयमा प्राध्यापनरत डा भानुभक्त आचार्यको अध्यक्षतामा क्यानडा नेपाल फोरम फर रिसर्च (केनफर) को नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा दिनेश गजुरेल (न्यु बर्न्स्विक युनिभर्सिटी ) र बोर्ड अफ डाइरेक्टर्समा डा शिवहरि गौतम (लाभल युनिभर्सिटी ), डा अनुप बस्नेत (वेस्टर्न युनिभर्सिटी), डा होमनाथ घर्ती (क्विन्स युनिभर्सिटी ) र इ सुभाष पौड्याल निर्वाचित भएका छन्। त्यस्तै कुसुम शर्मा सचिव, अम्बिका पौडेल कोषाध्यक्ष र सौगात श्रेष्ठ प्रविधि अधिकृतमा निर्वाचित भएका छन्। यसै गरी दिपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन गरिएका छन्।
नवनिर्वाचित अध्यक्ष डा आचार्यले सम्मेलन सफल पार्न सघाउने नेपाली दूतावास, अटवा विश्वविद्यालय, स्थानीय सङ्घसंस्था लगायत सबै प्रायोजकहरूलाई धन्यवाद दिए । सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्य डायस्पोरामा रहेका अनुसन्धाताहरूको विज्ञता क्षेत्र पहिचान गर्ने, अनुसन्धानकर्ताहरूलाई दक्ष विषय विज्ञहरूसँग नेटवर्किङ गर्न सहज बनाउने तथा अनुसन्धानको गुणस्तर बढाउनुका साथै विद्यार्थीहरूलाई नवीनतम विषयमा अनुसन्धान गर्न उत्प्रेरित गर्ने रहेको उनले जनाए ।
अर्थ शास्त्री डा राम आचार्य, डा भानु आचार्य लगायतको पहलमा सन् २०१९ मा स्थापना गरिएको फोरमले अहिलेसम्म चार ओटा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरिसकेको छ। ‘आगामी वर्षहरूमा उत्तर अमेरिका तथा युरोपमा कार्यरत अनुसन्धान संस्था तथा विज्ञहरू सँग सहकार्य गरी क्यानडाकै अन्य प्रान्त तथा शहर हरूमा सम्मेलन गर्ने हाम्रो लक्ष छ,” नवनिर्वाचित अध्यक्ष डा भानु आचार्यले भने।
दुई दिने सम्मेलनमा जनस्वास्थ्य, विज्ञान प्रविधि, कृत्रिम बुद्धिमत्ता, वन, वातावरण, ऊर्जा,जलवायु परिवर्तन, व्यवस्थापन लगायत विभिन्न क्षेत्र सँग सम्बन्धित २७ ओटा अनुसन्धानमूलक प्रस्तुतिहरू गरिएका थिए भने नेपाल, युके, स्विजरल्याण्ड र क्यानडाका विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा पिएचडी स्कलरहरू समेत गरी १०० जना भन्दा बढीले भाग लिएका थिए।