एनआरएनए अमेरिका : विकास उप्रेतीद्वारा एकताको आह्वान, बोलाए बृहत् राष्ट्रिय भेला

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा विकास उप्रेती अध्यक्ष रहेको समूहले एकताको आह्वान गर्दै बृहत् राष्ट्रिय भेला तथा कार्ययोजना सम्मेलन बोलाएको छ।
डा. अर्जुन बन्जाडे अध्यक्ष रहेको एनआरएनए अमेरिका फुटेर दुई वटा चुनाव भएको थियो। जुलाईमा भएको चुनावमा विकास उप्रेती अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। यस्तै अगस्तमा भएको चुनावमा सतेन्द्र साह अध्यक्षमा निर्वाचित भएका थिए।
सूर्य लम्साल अध्यक्ष रहेको अर्को एनआरएनए अमेरिका पनि अझैँ अस्थित्वमा छ। एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा महेश श्रेष्ठ समूह र डा. बद्री केसी समूहले आधिकारिताको दाबी गर्दै आएको छ। यी दुई समूहको आधिकारिताको मुद्दा नेपालको सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन छ।
बद्री समूहले विकास उप्रेती समूहलाई मान्यता दिएको छ। सोमबार मात्र सम्पन्न अर्को पक्षको निर्वाचनमा सतेन्द्र साह निर्वाचित भए पछि विकास उप्रेती समूहले बृहत् राष्ट्रिय भेला बोलाएको हो।
भेला सेप्टेम्बर १३ तारिख टेक्ससको डालसमा हुने बताइएको छ।
‘यो कार्यक्रम एक प्रकारले भन्नु पर्दा फिजिकल मिटिङ हो, अर्को कुरो हामी कार्यक्रम, योजनाहरू बनाएर त्यो सार्वजनिक गर्ने कुरा पनि हो। ‘अध्यक्ष उप्रेतीले समाज टाइम्स सँग भने।
‘यो कार्यक्रममा अमेरिका भएका सबै साथी एकै ठाउँमा भेट्ने वातावरण बनाएर अगाडि बढ्ने खालको एउटा माहौल क्रिएट गर्नु भन्ने हो । ‘विकासले भने, ‘फिजिकल रुपमा सबै साथीहरू एकै ठाउँमा बस्दा खेरि चाहिँ अलिकति वातावरण एक आपसमा मिल्न झन् सजिलो हुन्छ।‘
उनले सो भेलाले दुई वर्षका योजना र अर्को समूह सँग कार्यगत एकताका बारेमा पनि छलफल हुने बताए। उनले भेलामा सतेन्द्र समूहलाई पनि निम्ता दिए बताए।
‘त्यो कार्यक्रममा उहाँहरूलाई (सतेन्द्र समूह) पनि निम्ता गर्छौँ। अमेरिकामा भएका सबै साथी साथीहरूलाई बोलाउँछौँ, यहाँको चाहिँ भिन्न परिस्थिति छ। त्यही कारण हामीले भेला भनेका हौ।‘उप्रेतीले भने, ‘साथीहरूले धारणाहरू लिएर आउनुहुन्छ। कार्य प्रस्तावहरू लिएर आउनुहुन्छ र दुई वर्षमा कार्यसमितिले गर्ने कार्ययोजनाहरु योजनाहरूको बारेमा पनि छलफल हुन्छ।‘
उनले आफ्नो कार्यसमितिको पहिलो फिजिकल बैठक पनि हुने बताए।
‘हाम्रो पुरानो कार्यसमितिका साथीहरू नयाँ कार्यसमितिका साथीहरूको पनि एक ठाउँमा परिचय कार्यक्रम पनि हुने र हाम्रो नयाँ कार्यसमितिको पहिलो फिजिकल बैठक पनि हुने हो।‘
उनीले भेला सम्ममा धेरै कुरा विकास हुने र सतेन्द्र टिम पनि कार्यक्रममा आउने बताए।
‘अब सत्येन्द्र टिम बाट, उहाँहरू कसरी आउनुहुन्छ अब किनभने हामीलाई समय बाँकी छ। २५-२६ दिन बाँकी हुँदा खेरि चाहिँ अब त्यो बीचमा हाम्रो केही डेभलपमेन्ट होला। ‘उप्रेतीले भने, ‘अब उहाँहरूले आइसिसीको चुनावलाई कसरी हेर्नुहुन्छ अथवा अगाडि जाने केसरी त्यो केही पनि छलफल भा छैन। उहाँसँग कुरा पनि भा छैन। अब कुरा होला।‘
उनले संस्था मिलाउनका लागि पनि भेला सहयोगी हुने बताए।
‘हाम्रो आग्रह के रहन्छ भने उहाँहरूको पनि जुन मिल्नै पर्छ, मिलाउनु पर्छ भन्ने कुराहरू छ। सतेन्द्रजी जीको त्यो कुरा हामी सम्मान गर्दै कसरी मिल्न सकिन्छ कसरी मिलाएर लान सकिन्छ भन्ने कुरामा छलफल गरौँ आउनुस् बसेर छलफल गरौँ भन्ने कुरा हो।‘
अध्यक्ष उप्रेतीले आइसीसीको विवाद एनसीसीमा ल्याउन नहुने बताए।
‘सत्येन्द्रजीलाई एउटै मात्र आग्रह के छ भने मेरो हिजोको कार्यसमितिमा हामीले दुइटै आइसिसीको विवादलाई ल्याएनौ। हामीले दुवै पक्षका अध्यक्ष महासचिवलाई बोलाएनौ।‘ उप्रेतीले भने, ‘आइसिसीको दुइटै अध्यक्षहरूको बारेमा विवाद नगरौँ त्यहाँ महेशजीको महासचिव बीआर लामा र बद्रीजी महासचिव गौरी ज्यु हुनुहुन्छ दुवै जना महासचिवलाई उहाँहरूले कार्यक्रममा बोलाउने हिम्मत गर्नु पर्छ होइन भने दुवै जनालाई पूर्व पदको हिसाबले बोलाएर मात्र जानु पर्छ।‘
उप्रेतीले भोली आइसीसी मिल्दा यहाँ आफूहरूलाई मिल्न गाह्रो नहुने गरी वातावरण बनाउनु पर्ने बताए।
उप्रेतीले आफ्नो कार्यसमितिको इमर्जेन्सी बैठकबाट एकताको लागि आह्वान गर्ने समेत बताए।